यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिडले घरेलु मैदानमै अर्को हार भोगेको छ। बर्नाबेउमा एसी मिलानसँगको हारपछि प्रशिक्षक कार्लो एन्सेलोटीले अब आफ्नो पक्ष चिन्तित हुनुपर्ने बताएका छन्।
लिगका चारखेल मध्ये रियलको यो दोस्रो पराजय हो। खेलको सुरुमै पछि परेको रियलले ब्राजिलियन स्टार भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै बराबरीमा फर्काएका थिए। एसी मिलानले मलिक थियाउको गोलमा १२औँ मिनेटमा अग्रता बनाएको थियो। तर भिनिसियसले २३औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरे।
तर रियल त्यसपछि आफ्नै पूर्वस्ट्राइकर अल्भारो मोराटाको गोलमा पछि पर्यो। मोराटाले मिलानलाई ३९औँ मिनेटमा अग्रता दिलाए। तिज्जानी रेइन्डर्सले ७३औँ मिनेटमा ३–१ को जित सुनिश्चित गराए।
यसअघि एल क्लासिकोमा प्रतिद्वन्द्वी बार्सिलोनासँग ४–० ले पराजित भएपछि मड्रिडले मिलानलाई घरेलु मैदानमा निम्त्याएको थियो। तर आफ्नै मैदानमा लगातार दोस्रो खराब नतिजा भोग्यो।
ला लिगामा रियल ९ अंकले पछि परेको छ। अक्टोबरमा लिलेमा पराजित भएपछि रियलले चार खेलमा मात्रै ६ अंक जोडेको छ।
‘हामी चिन्तित हुनुपर्छ। टोलीले राम्रो नतिजा दिइरहेको छैन’, एन्सेलोटीले भने, ‘हामी अझै मजबुत र थप संगठित हुनुपर्छ। हामीले धेरै लक्ष्यहरू लिएका छौँ। तर मैदानमा व्यवस्थित देखिएका छैनौँ र त्यससमा काम गर्नुपर्छ।’
एसी मिलानको पनि यो सिजन सुखद भने छैन। उसले तीन खेल खेल्दा केवल पहिलो जित हात पारेको छ। सिरी ए मा सातौँ स्थानमा छ। शीर्ष स्थानको नेपोलीभन्दा ८ अंकले पछि छ।
तर गएरातिको प्रभावशाली प्रदर्शनको मिलानका प्रशिक्षक पाउलो फोन्सेकाले प्रशंसा गरे।
‘खेलाडीहरू साहसका साथ यहाँ आएका थिए। उनीहरूलाई कुनै डर थिएन,’ पोर्चुगिज प्रशिक्षकले भने, ‘पहिलो हाफमा हामीले प्रचुर मात्रामा अवसर सिर्जना गर्यौँ र दोस्रो हाफमा पनि हामीले दबाब झेल्दै लड्यौँ। हामी पक्ककै जित्न योग्य थियौँ।’
खेलको १२औँ मिनेटमा कर्नरबाट प्रहार गरेको बेलमा मिलानले अग्रता बनाएको थियो। तर भिनिसियसले ९ मिनेटपछि खेल बराबरीमा लगे। भिनिसियस र रियल मड्रिडले आफूहरूलाई सम्मान गरेको भन्दै बालोन डी ओर समारोह बहिष्कार गरेका थिए।
त्यसपछि रियल मड्रिडले कुनै गोल थप्न नसक्दा आफ्ना समर्थकका लागि निराशाजनक रात बन्यो। रियलले लामो पर्खाइपछि पीएसजीबाटट भित्र्याएका केलियन एमबाप्पेले ६ खेलमा मात्रै एक गोल गरेका छन्।
२५ वर्षीय एमबाप्पे बायाँ भागबाट खेल्न रुचाउँछन्। तर एन्सेलोटीले त्यो स्थानबाट भिनिसियसलाई खेलाएर मध्यभागबाट खेल्न एबाप्पेलाई बाध्य पारेका छन्। नयाँ क्लबमा उनी गोलका लागि संघर्ष गरिरहेका छन्।
च्याम्पियन्स लिगमा रियल १७औँ स्थानमा छ। चौथो चरणका खेल सकिँदा ऊ अझै पछि धकेलिने निश्चित छ। अघिल्लो चरणको प्लेअफका लागि २४औँ स्थानमा अटाउनु पर्नेहुन्छ। तर रियलका लागि यो पनि चुनौतीपूर्ण बन्दै गएको छ।
Shares

प्रतिक्रिया