समाज


पूर्वमुख्यसचिव अर्यालले प्रधानमन्त्री कार्यालयबाट बुझे रमाना

पूर्वमुख्यसचिव अर्यालले प्रधानमन्त्री कार्यालयबाट बुझे रमाना

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १२:५१, काठमाडौँ

भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालले विशेष अदालतबाट सफाइ पाएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेका छन्।

अब उनी राष्ट्रिय योजना आयोगमा हाजिर हुनेछन्। आयोगमा उनका लागि ‘विशेष अधिकृत’को दरबन्दी सिर्जना गरिएको छ।

‘उहाँ (अर्याल) ले हिजै रमाना बुझिसक्नुभएको छ,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले नेपालखबरसँग भने।

गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा ३८ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि अर्याल मुख्यसचिवको पदबाट स्वतः निलम्बनमा परेका थिए।

उनी निलम्बनमा परेपछि मुख्यसचिवसरहकै विशेष अधिकृतको दरबन्दी सिर्जना गरी उनलाई सरकारले राष्ट्रिय योजना आयोगमा सरूवा गर्दै लीलादेवी गड्तौलालाई कायम मुकायम मुकरर गरेको थियो।

गड्तौलालाई नै अवकाशको मुखमा मुख्यसचिवमा बढुवासमेत गरिएको थियो। गड्तौलाले अवकाश पाएपछि त्यस पदमा एकनारायण अर्याललाई बढुवा गरिसकिएको छ। गत भदौ १३ गते मुख्यसचिवमा बढुवा भएका उनले जिम्मेवारी सम्हालेको दुई महिनाभन्दा बढी भइसकेको छ।

वैकुण्ठ अर्याल २०८० जेठ ३२ गते मुख्यसचिवमा नियुक्त भएका थिए। उनलाई मुख्यसचिव बनाउनकै लागि तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई पदावधि छँदै राजीनामा गर्न लगाएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको थियो।

वैकुण्ठ अर्यालले सुरू अदालतबाट सफाइ पाए पनि मुद्दा अन्तिम किनारा भने लागिसकेको छैन। विशेष अदालतको फैसलाको पूर्ण पाठ प्राप्त गरेपछि अख्तियारले सर्वोच्च जाने जनाएको छ।

विशेष अदालतले कात्तिक १४ गते अन्तःशुल्क स्टिकर घोटाला प्रकरणका ११ जना अभियुक्तमध्ये सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ गरी दुई जनालाई मात्र दोषी ठहर गरी बाँकी सबैलाई सफाइ दिएको छ।

वैकुण्ठ अर्यालविरूद्ध मुद्दा चलाउने गरी अख्तियारले केही थप प्रकरणमा पनि विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad