खेल


एसोसिएट स्टार मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्ध

एसोसिएट स्टार मुस्तफा सुदूरपश्चिम रोयल्समा अनुबन्ध

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ११:३१, काठमाडौँ

एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका रोहनले यसअघि पनि नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ प्रिय भइसकेका छन्। 

नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने हुँदा पनि उनले राम्रो प्रदर्शन गरेका थिए। 

यूएईको कप्तानीसमेत गरेका ३६ वर्षीय रोहनले ओडीआई र टी-२० आईमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका छन्। 

बायाँहाते ब्याटर उनले ५८ टी-२०आई मा १ हजार माथि रन जोड्नुका साथै २१ को औसतमा ६१ विकेट पनि लिएका छन्। अफ स्पिनर उनको ७ रन प्रतिओभर भन्दा कमको इकोनोमी छ।

एकै ओडीआईमा शतक प्रहार गरेका उनले ५ विकेट लिने दुर्लभ कीर्तिमान पनि कायम गरेका छन्। 

आईसीसीबाट टी-२० मान्यता पाएको यूएईको स्थानीय आईएल टी-२० लिगमा डेजर्ट भाइपर्सबाट खेलिरहेका रोहनले आबुधाबी टी-१० मा बांग्ला टाइगर्सको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए।

रोयल्सले यसअघि विदेशी खेलाडीका रूपमा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट कुगेलेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ।

त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन्। दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। 

रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दै छ। रोयल्सले कार्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ। छनोट कार्यक्रम धनगढीमा हुनेछ।

आइकोनिक खेलाडी रोयल्सको एनपीएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नेछन्।

छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ मा सुरु हुने एनपीएलमा ८ टोली सहभागी हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad