रियल मड्रिडका कप्तान लुका मोड्रिचलाई यूईएफए नेसन्स लिगका लागि क्रोएसियाको २४ सदस्यीय टोलीमा समावेश गरिएको छ।
यूरो २०२४ को समूह चरणबाटै क्रोएसिया बाहिरिएपछि मोड्रिचले राष्ट्रिय टोलीबाट खेल्ने नखेल्ने अनिश्चित थियो। उनले युरोमा क्रोएसियाका तीनवटै खेलमा सुरुवात गरेका थिए।
तर टोलीका डोमागोज भिडा र मार्सेलो ब्रोजोभिक दुबैले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए। टोलीका मुख्य प्रशिक्षक ज्लात्को डालिकले भने, ‘हाम्रो कप्तान टोलीमा रहँदा खुसी लागेको छ। मैदान बाहिर र भित्र उनी हाम्रो लागि ठूलो शक्ती हुन्।’
३९ वर्षीय मोड्रिचले सन् २००६ मा २० वर्षको उमेरमा डेब्यु गरेका थिए। उनले क्रोएसियाका लागि १ सय ७८ खेल खेलेका छन्।
मड्रिचले जुलाइमा स्पेनिस च्याम्पियन रियलमा एक वर्षका लागि सम्झौता गरेका थिए।
Shares

प्रतिक्रिया