महिला एसिया कप २०२४ मा नेपालले आज बेलुका भारतको सामना गर्दैछ। अन्तिम खेल अघि नै समूह चरणबाटै बाहिरिने करिव तय भइसकेको नेपाल र अघिल्लो चरण प्रवेश गरिसकेको भारत बेलुका सवा ७ बजे आमनेसामने हुनेछन्।
भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ।
भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ।
पहिलो खेलमा युएईमाथि जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
नेपाल भने पाकिस्तानसँगको फराकिलो पराजयपछि समूह चरणबाटै बाहिरिने संघारमा छ।

पाकिस्तानले त्यसअघि यूएईको सामना गर्दैछ। पाकिस्तानले यो खेल जिते र नेपालले भारतलाई पराजित गरे पनि नेपाल नेटरनरेटमा निक्कै पछाडी छ।
पाकिस्तान युएईविरुद्ध सहज जित नजिक छ। पाकिस्तान बाहिरिन नेपालले भारतलाई ठूलो अन्तरले हराउनुपर्छ तर त्यो सम्भावना निकै कम देखिन्छ।
प्लेअर्स टू वाच
नेपालविरुद्ध ब्याटिङ तर्फ भारतका उपकप्तान स्मृति मन्धाना र शेफाली वर्मा मुख्य चुनौती हुनेछन्।
स्मृतिले पछिल्ला १० खेलमा ३९.१४ को औसतमा ब्याटिङ गर्दै २७४ रन बनाएकी छन्। शफालीले १० खेलमा २२० रन बनाएकी छन्। उनको औषत रन २७.५ छ। बलिङतर्फ राधा यादव र पूजा वस्त्रकारको लय राम्रो छ। राधाले १० खेलमा १७ विकेट लिँदा प्रतिओभर ६.१६ रन खर्चिएकी छन्।

पूजाले समान खेलमा १६ विकेट हात पारेकी छन्। उनले प्रतिओभर ६.१६ रन खर्चिएकी छन्।
नेपालका भने रुबिना क्षेत्री र सीता राना मगरको पछिल्लो लय राम्रो छ। रुबिनाले १० खेलमा २५७ र सीताले १० खेलमा १६२ रन बनाएकी छन्।
तर यूएईविरुद्ध राम्रो प्रदर्शन गरेकी सम्झना खड्कामा पनि नेपाली ब्याटिङ भर पर्नेछ। सम्झनाले युएईविरुद्ध ४५ बलमा नटआउट ७२ रन बनाएकी थिइन्। तर पाकिस्तानविरुद्ध भने उनी चल्न सकिनन्। मात्रै ४ रन बनाएर आउट भइन्।
बलिङ तर्फ पनि नेपालका रुबिना र सीताकै लय राम्रो देखिएको छ। १० खेलमा रुबिनाले ८ विकेट लिँदा ३.५८ को रन खर्चिएकी छन्। सीताले ७ खेलमा ८ विकेट लिएकी छन्। उनले औषतमा प्रतिओभर ४.६५ रन खर्चिएकी छन्।
सम्भावित टोली
नेपाल : इन्दु बर्मा (कप्तान), काजोल श्रेष्ठ (विकेटकिपर), रुविना क्षेत्री, सबनम राई, सीता राना मगर, राजमती ऐरी, पूजा महतो, विन्दु रावल, रोमा थापा (विकेटकिपर), ममता चौधरी, कविता जोशी, कविता कुँवर, डल्ली भट्ट, कृतिका मरासिनी र सम्झना खड्का ।
भारत : हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना, शफाली वर्मा, जेमिमाह रोड्रिग्ज, ऋचा घोष (विकेटकिपर), उमा छेत्री (विकेटकिपर), पूजा वस्त्रकार, दीप्ती शर्मा, अरुंधती रेड्डी, रेणुका सिंह, डी हेमलता, आशा शोभना, राधा यादव, तनुजा कंवर, सजना सजीवन।
Shares

प्रतिक्रिया