नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा पुगेको छ।
अन्तर्रा्ष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) ले यो वर्षको लागि सार्वजनिक गरेको वरियतामा नेपाल ८७ औं पर्न सफल भएको हो।
यो नेपाली भलिबल इतिहासकै अहिलेसम्मकै उच्च वरियता हो। वर्ष भरको प्रदर्शका आधारमा वरियता निर्धारण गरिएको एफआइभिबीको बेभसाइटमा उल्लेख छ। अघिल्लो वर्ष नेपाल १ सय २१ औं स्थानमा थियो। वरियता क्रममा नेपालको ५७ अंक छ।
भारत ९७ अंकसहित ५४औं स्थानमा छ। बंगलादेश, भुटान पाकिस्तान, किर्गिस्थान, मंगोलिया, फिलिपिन्स उज्वेकिस्तान र तुर्के्मिनिस्तानको समान ५० अंक छ। ३ सय ९१ अंक रहेको चीन विश्व वरियताको शीर्ष स्थानमा छ।
३ सय २ अंकसहित अमेरिका दोस्रो स्थानमा, ३ सय २ अंक जोड्दै ब्राजिल तेस्रो स्थानमा छ। इटाली, टर्की, सर्विया, जापान, रसिया, डोमिनिक गणतन्त्र र दक्षिण कोरिया क्रमशः शीर्ष दशमा छन्।
नेपाली महिला भलिबल टोलीले पछिल्लो समयमा लगातार उच्च प्रदर्शन गरिरहेको छ। कात्तिकमा बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको थियो।
मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पटक रजत पदक जितेको थियो। नेपाली टोली फाइनलमा भारतसँग पराजित भएको थियो।
यसअघि तीन पटक कास्य पदक जितेको नेपालले सागमा पहिलो पटक रजत पदक जितेको थियो।
पुरुषतर्फ ५० अंक रहेको नेपाल १ सय ३८औं स्थानमा छ। पुरुषतर्फ ब्राजिल ४ सय २७ अंकसहीत शीर्षस्थानमा छ।

प्रतिक्रिया