कास्कीको माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ।
व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्न थालेका छन्। गाउँपालिकाको ३ नम्बर वडाको घाचोक र ४ को लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुन्छ। लाहाचोकबाट मात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजार पुग्ने गरेको छ।
लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए।
दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ। विगतमा एक÷दुई वटा पशुपालन गरेर घरायसी उपभोग गर्दै आएका कृषकले समेत व्यावसायिक पशुपालन शुरु गरेका छन्।
गाउँपालिका दूधको ‘हब’ बन्दै गएको छ । विशेषगरी यहाँको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका शाखा प्रमुख पौडेलले बताए।
उत्पादित दूध वडामा रहेका दुग्ध सहकारीले सङ्कलन गरेर बजार पु¥याउँछन् भने कही फार्म तथा कृषकले आफ्नै साधनबाट बजार लैजाने गरेका छन्।
सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेको हो। जति पनि उत्पादित दूध सहजै नजिकको पोखरा बजारमा खपत हुने भएकाले समेत कृषक पशुपालनमा आकर्षित बनेको देखिन्छ।
शुरुमा लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैँसीफार्म शुरु गर्नुभएपछि अन्य स्थानीयवासीसमेत उहाँको सिको गर्दै पशुपालनमा आकर्षित भएको वडा नं ४ का वडाध्यक्ष पूर्णबहादुर शाहीले बताए। गुरुङको फार्ममा अहिले ३०० भैँसी छन्। विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए।
वडा नं ३ को घाचोकबाटसमेत दैनिक तीन हजार ५०० लिटर दूध बजारमा बिक्री हुने गरेको छ। यहाँ वडामा रहेका दुई दुग्ध उत्पादक सहकारीका माध्यमबाट कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउँदै आएका छन्।
गाउँपालिकाभरबाट समग्रमा दैनिक १० हजार ५ सय लिटर दूध बजारसम्म जाने गरेको पशु सेवा शाखाको तथ्याङ्क छ । नौ वडा रहेको गाउँपालिकाको वडा नं ६ धितालबाट दैनिक एक हजार लिटर बिक्री हुने गरेको छ।
त्यसैगरी रिभान, माछापुच्छ्रे र सार्दीखोलबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्याङ्क छ। त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको छ। समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख हाराहारीमा आम्दानी गर्ने गरेका छन्।
गाईको दूध प्रतिलिटर ५५ तथा भैँसीको ८५ मा बिक्री भए पनि औसतमा प्रतिलिटर ७० रुपैयाँ मूल्य पर्ने गरेको छ।
दुग्ध उत्पादक कृषक गोपाल पोखरेलले पशु आहारामा बर्सेनि मूल्यवृद्धि हुँदासमेत दूधको मूल्य लामो समयदेखि नबढ्दा कृषक मर्कामा परेको बताए। ‘दाना, घाँस तथा परालको बर्सेनि मूल्यवृद्धि हुँदासमेत कृषकले उत्पादन गरेको दूधको मूल्य लामो समयदेखि बढ्न सकेको छैन । यसबाट हामी पीडित छौँ,’ उनले भने।
गाउँपालिकाले कृषि विकासलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्ण गुरुङ बताउँछन्। चालू आर्थिक वर्षमा कृषकको मनोबल उच्च राख्दै कृषिको व्यावसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि ६२ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ।
गाउँपालिकामा स्थानीय गाई, भैँसी, उन्नत भैँसी, गाई, बाख्रा, भेडा, चौँरी तथा घोडा गरी २५ हजार ३६७ सङ्ख्यामा पशु छन्।

प्रतिक्रिया