खेल


विश्वकप फाइनल: अस्ट्रेलियाका यी खेलाडी, जसले बिगार्न सक्छन् भारतको खेल

विश्वकप फाइनल: अस्ट्रेलियाका यी खेलाडी, जसले बिगार्न सक्छन् भारतको खेल

नेपालखबर
मंसिर ३, २०८० आइतबार १३:२, काठमाडौँ

एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदै छ। भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनलमा भारत र अस्ट्रेलिया भिड्दै छन्। खेल अहिले दिउँसो २ बजे सुरु हुने तालिका छ। 

विश्वकप क्रिकेटको उपाधिका लागि आज हुने प्रतिस्पर्धा निकै रोमाञ्चक हुने देखिएको छ। किनभने एकातिर यो विश्वकपमा अहिलेसम्म एक खेल पनि नहारेको भारतीय टोली छ भने अर्कातिर पाँचपटक विश्वकप जितिसकेको अस्ट्रेलिया। 

खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण अहिलेसम्म अपराजित टिम इन्डियाको आत्मविश्वास चरम उत्कर्षमा पुगेको देखिन्छ भने लिग खेल र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको अस्ट्रेलियाली टोली पनि बलियो लयमा देखिएको छ।

भारत १२ वर्षपछि चौथोपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलिया आठौँपटक उपाधि नजिक पुगेको हो। तर भारतको प्रदर्शन र फर्मलाई हेर्दा क्रिकेट फ्यानहरूले टिम इन्डियालाई ‘क्लियर कट विनर’ मान्न थालेका छन्।

तर पछिल्लो केही खेलमा अस्ट्रेलियाली टोलीका केही खेलाडीले देखाएको असाधारण प्रदर्शनका कारण तिनले फाइनलमा भारतको खेल बिगार्नसक्ने चर्चा पनि भइरहेको छ। 

यस्तो अवस्थामा भारतीय टोलीले अस्ट्रेलिायका ब्याट्सम्यानसँग बढी सजग रहनुपर्नेछ। अस्ट्रेलियाको ब्याटिङ लाइनअपले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेको छ।

चरम दबाबमा पनि अभूतपूर्व प्रदर्शन गर्दै अफगानिस्तानविरुद्ध आफ्नो टोलीलाई जित दिलाउन सफल ग्लेन म्याक्सवेल होस् वा डेभिड वार्नर, जसले सुरुवाती ब्याटिङले विपक्षी टोलीको मनोबल चकनाचुर पारेका छन्। 

यी ब्याट्सम्यानले दिन सक्छन् चुनाैती
अस्ट्रेलियाका ब्याट्सम्यानले ठूलो स्कोर बनाउनेदेखि रन चेसको दबाब सामना गर्नेसम्म आफ्नो क्षमता राम्रोसँग देखाएका छन्। विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कुरा गर्ने हो भने प्रदर्शनका आधारमा अस्ट्रेलियाका तीन ब्याट्सम्यान शीर्ष १२ मा परेका छन्।

अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले विश्वकपका १० खेलमा ५२.८० को औसतमा ५२८ रन बनाएका छन्। जसमा दुई शतक र दुई अर्धशतक छन्। 

आक्रामक ब्याटिङका ​​लागि चर्चित वार्नर विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा छैटौं स्थानमा छन्।

उनका साथै ब्याटिङमा मिचेल मार्सको प्रदर्शन पनि उत्कृष्ट छ। उनले ९ खेलेका खेलमा ५३.२५ को औसतमा ४२६ रन बनाएका छन्। उनी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा नवौँ स्थानमा छन्। उनले यो विश्वकपमा अहिलेसम्म दुई शतक प्रहार गरिसकेका छन्। साथै ग्लेन म्याक्सवेल पनि यो सूचीमा १२औँ स्थानमा छन्।

के होला भारतको रणनीति?
विश्वकपमा अस्ट्रेलियाको लिग चरणको अन्तिम खेलमा म्याक्सवेलले अफगानिस्तानविरुद्ध जुन अवस्थामा दोहोरो शतक प्रहार गर्दै टोलीलाई जित दिलाए, त्यसलाई एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट इनिङ्स मानिन्छ।

यो अविस्मरणीय पारी खेलेका म्याक्सवेलले अहिलेसम्म प्रतियोगितामा ६६ को औसतमा ३९८ रन बनाएका छन्। उनले आफ्नो आक्रामक ब्याटिङबाट जुनसुकै बेला खेलको ढाँचा बदल्न सक्ने क्षमता रहेको प्रमाणित गरेका छन्।

यस्तो अवस्थामा भारतीय टोलीले म्याक्सवेलसँगै वार्नर र मार्सलाई पनि मैदानमा धेरै समय बिताउन नदिने प्रयास गर्नेछ। यी सबैले कुनै पनि बलिङ आक्रमणलाई ध्वस्त पार्न सक्छन् भन्ने कुरामा कुनै शंका छैन।

यी ब्याट्सम्यान बाहेक अस्ट्रेलियाका उत्कृष्ट बलरको कुरा गर्ने हो भने विश्वकपमा एडम जाम्पाले धेरै उत्कृष्ट ब्याट्सम्यानलाई आफ्नो स्पिन जालमा फसाएर पेवेलियन पठाए।

उनले १० खेलमा २२ विकेट लिए र विश्वकपमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। फाइनलमा जाम्पाको जादुले काम गर्‍यो भने भारतीय ब्याटिङ लाइनअपलाई समस्या पर्नसक्छ। 

जसरी अस्ट्रलियाको टोलीमा भारतको खेल बिगार्ने खेलाडी छन्, त्यसरी नै भारतीय टोलीमा पनि तीभन्दा कमका खेलाडी छैनन्। जुन कुरा यो विश्वकपमा भारतीय खेलाडीले आफ्नो बलियो प्रदर्शनबाट प्रमाणित गरेका छन्।

ब्याटिङ र बलिङमा भारतीय क्रिकेटर शीर्ष स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .