राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले चार वर्षको प्रेम सम्बन्धलाई विवाहमा बदलेका छन्।
सोमपालले बिहीबार प्रेमिका प्रतिभा घिमिरेसँग लगनगाँठो कस्दै प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्धमा बदलेका हुन्।
गुल्मीका स्थायी बासिन्दा सोमपाल हाल काठमाडौँमा बस्दै आएका छन् भने प्रतिभाको घर कैलालीको धनगढी हो। धनगढीलाई क्रिकेटको सहर पनि भनिन्छ। उनीहरु दुवैले परिवारको स्वीकृतिमा विवाह गरेको बताएका छन्।
पाँच वर्षअगाडि धनगढीस्थित प्रतिभाकै घरमा उनीहरुको पहिलो भेट भएको थियो। भेटको एक वर्षपछि प्रतिभालाई सोमपालले प्रेम प्रस्ताव राखेका थिए। प्रतिभाले पनि त्यसलाई स्वीकारेपछि उनीहरु सम्बन्धमा रहेका हुन्।
राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले सोमपाल र प्रतिभालाई बधाई तथा शुभकामना दिँदै विवाहको फोटो सार्वजनिक गरेका छन्।
मध्यम ब्याट्सम्यान सोमपालले सन् २०१४ मा हङकङसँगको खेलबाट ट्वान्टी–२० मा डेब्यु गरेका थिए। नेदरल्याण्डस्सँग सन् २०१८ मा एक दिवसीय खेलबाट एक दिवसीय खेलमा डेब्यु गरेका थिए।
Shares

प्रतिक्रिया