ad ad

खेल


विश्वकप यात्रा : लाओससँग भिड्दै नेपाली फुटबल टोली

कप्तान भन्छन्– रंगशालामा  ९० मिनेटनै ‘रातो र चन्द सूर्य’ गुञ्जियोस्
विश्वकप यात्रा : लाओससँग भिड्दै नेपाली फुटबल टोली

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
असोज २४, २०८० बुधबार १६:१७, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार घरेलु मैदानमा लाओससँग खेल्दै फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटको यात्रा सुरु गर्दैछ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बिहिबार साँझ साढे ५ बजे सुरु हुनेछ।

खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले आफूहरू तयार रहेको बताएका छन्। 

फिफा वरियतामा नेपाल १ सय ७५औं स्थानमा छ। उता लाओस भने १ सय ८६औं स्थानमा छ। 

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले तयारी राम्रो रहेको बताए। उनले भने, ‘छनोटअघि हामीले दुई मैत्रीपुर्ण र लोकल म्याचहरूले सहयोग गरेको छ। हामी त्रिकोणात्मक सिरिजभन्दा राम्रो खेल प्रस्तुत गर्नेछौँ।’ 

प्रशिक्षक एनेसेले पनि विश्वकप छनोट आफ्नो लागि पनि पहिलो भएकाले यसलाई अवसरको रुपमा लिएको सुनाएका छन्। बिहीबारको खेलका लागि उत्साहित रहेको पनि उनले सुनाए। 

उनले थपे, ‘त्रिकोणात्मक सिरिज खेलेको भन्दा फरक टोली रहेका कारण सबै पक्षबाट यो पटक आफूहरू फरक रहेकाले राम्रो खेल्ने तयारीमा छौँ। टोलीमा केही अनुभवी र युवा खेलाडी रहेका छन्। उनीहरूको प्रदर्शनले हामी अर्को स्टेपमा जानेछौँ।’

प्रशिक्षक एनेसेले आफू धेरै बोल्नुभन्दा पनि बिहीबार खेलमा नै देखाउने बताए। 

यसअघि व्यावसायिक लिगका लागि भारतमा व्यस्त किरण कुमार लिम्बू पनि केहीदिन अघि स्वदेश फर्किसकेका छन्। किरणसँगै इन्डोनेसियामा रहेका डिफेन्डर रोहित चन्द र फरवार्ड मनिष डाँगी पनि स्वदेश फर्केर टिममा सामेल भइसकेका छन्। 

टोलीका कप्तान तथा गोलरक्षक लिम्बूले विश्वकप अन्तर्गत पहिलो चरणको छनोटका लागि अहिलेसम्मकै लामो तयारी भएकाले टोली उच्च मनोबलमा रहेको सुनाए। 

‘देशका लागि विश्वकप छनोट खेल्न पाउनु हामी सबैका लागि गर्वको क्षण हो।’ 

प्रशिक्षक एनेसेको भनाइमा सहमति जनाउँदै कप्तान लिम्बूले थ्री नेसन्सभन्दा बिहीबारको खेल फरक हुने बताए। यो विश्वकप छनोटको खेल हो त्यसैले थ्री नेसन्समा खेलेको भन्दा फरक हुनेछ। 

कप्तान लिम्बूले आफ्नो व्यक्तिगत रुपमा पनि दशरथ रंगशालामा खेल्न पाउनु ठूलो कुरा भएको सुनाउँदै भने, ‘व्यावसायिक लिगका लागि र देशकै लागि पनि बाहिर जहाँ खेलेपनि दशरथ रंगशालामा खेले जस्तो हुँदैन।’ 

कप्तान लिम्बूले बिहीबारको खेलमा ठूलो संख्यामा दर्शकको उपस्थितिको अपेक्षा गरेका छन्। ‘घरेलु मैदानमा घरेलु समर्थकको अगाडि खेल्दा छुट्टै अनुभव हुन्छ, समर्थकको साथका कारण पनि विपक्षी टोली दबाबमा आउँछन्,’ लिम्बूले सुनाए।

दर्शकहरूमा नयाँ संस्कृति देख्न नपाएको भन्दै उनले त्यो हेर्नका लागि आफू लालायित रहेको सुनाए। ‘अहिलेसम्मकै ठूलो झण्डा र नेपालको जर्सीमा दर्शकहरूलाई रंगशालामा देख्न उत्साहित छु,’

‘हामी सबै राष्ट्रिय गान ठूलो आवाजमा गाउँ, खेलको ९० मिनटभरिनै रातो र चन्द्र सुर्य रंगशलामा गुञ्जिरहोस् जसले गर्दा विपक्षी टोलीलाई नै दबाब महसुस होस्,’ उनले भने। 

आफूहरू अर्को चरणमा जान आतुर रहेको सुनाउँदै उनले उक्त इच्छा घरेलु मैदानमा समर्थकबिना सम्भव नभएको बताए।

नेपालले पहिले पनि विश्वकप छनोट अन्तर्गतका होम गेमहरू पनि बाहिर खेल्नु परेको थियो।

‘घरेलु मैदानमा समर्थकको जस्तो साथ कहीँ हुँदैन। म त चाहान्छु हामीले सबै खेल घरेलु मैदानमा नै खेल्न पाउँ तर त्यो सम्भव छैन थाहा छ,’ उनले सुनाए। 

यसअघि लाओससँग खेलिसकेको भएपनि उनीहरू राम्रो तयारी गरेर आएका कारण बिहीबार राम्रो खेल देख्न पाइने उनी बताउँछन्।

उता लाओसका मुख्य प्रशिक्षक कालाया सिसोम्वाङले नेपाल र लाओस दुवै टोली राम्रो रहेको बताउँछन्।

‘यद्यपी फिफा वरियतामा नेपाल माथि छ त्यसैले खेलमा जे पनि हुनसक्छ,’ उनले भने,’ उनले भने, ‘हामी राम्रो खेल्ने विश्वासमा छौँ, टोलीमा सिनियर र जुनियर टोलीको मिक्सअप छ। पहिला र अहिलेको खेलमा धेरै फरक हुनेछ।’ 

पहिलाको खेल मैत्रीपूर्ण रहेको र यो विश्वकप छनोट भएकाले आफूहरूले फरक खेल प्रस्तुत गर्ने उनले बताए। 

लाओसको टोली तीन साताको प्रशिक्षणमा नेपाल आएको हो। टोलीका कप्तान फुट्दावी होम्मासानले आफूहरू नेपालविरुद्ध राम्रो खेल प्रस्तुत गर्नका लागि उत्साहित रहेको सुनाए। 

नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो।

नेपालले लाओसलाई समूह चरणमा २–० ले तथा फाइनलमा २–१ को नतिजा हात पारेको थियो। 

एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो। घरेलु मैदानको खेलपछि नेपाली टोली अर्को खेलका लागि लाओस प्रस्थान गर्नेछ।

दोस्रो लिग ३० गते मंगलबार लाओसको घरेलु मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .