खेल


नेपाली टोली घोषणा: किन परेनन् सोमपाल र बसन्त?

नेपाली टोली घोषणा: किन परेनन् सोमपाल र बसन्त?

नेपालखबर
माघ १०, २०७६ शुक्रबार ६:५३,

 आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुर मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।

अन्तिम १४ सदस्यीय टोलीमा तीब्र गतिका बलर कमलसिंह ऐरीले पहिलो पटक स्थान बनाएका छन्।

बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्य टोली घोषणा भएको हो। घोषित टोलीमा सोमपाल कामी र बसन्त रेग्मी छैनन्।

सोमपाल ढाडको समस्याका कारण टोलीमा नरहेका हुन्। यसअघि चोटकै सोमपालले पोखरा प्रिमियर लिग (पीपीएल)को पनि सबै खेल खेलेका थिएनन्।

नेपाली टोलीका व्यवस्थापक ऋषि गौतमका अनुसार सोमपाल पूर्ण रुपमा फिट नभएपछि उनलाई आराम दिइएको हो। 'हामीले सोमपालको स्थितिबारे फिजियोलाई जानकारी मागेका थियौं। फिजियोले पूर्ण रुपमा फिट भइनसकेको जनाएपछि हामीले रिस्क लिन चाहेनौं,' व्यवस्थापक गौतमले भने। 

भिटामिन डी–३ कमीको कारण उनलाई ढाडमा अझै दुखाइ छ। उनको रिह्याब पनि काठमाडौंमै भइरहेकोले अझै पूर्ण रुपमा फिट भइनसकेकाले टिममा नपरेका हुन्। सोमपाल बन्द प्रशिक्षणमा समेत सामेल थिएनन्। कमलले सोमपालको स्थान लिएका हुन्।

भेट्रान स्पिनर वसन्त रेग्मीलाई पुत्रीलाभ भएका कारण नेपालगञ्जमै छन्। उनले समेत पोखरामा भएको बन्द प्रशिक्षण गुमाएका थिए। बसन्तले केहीदिन परिवारसँगै बिताउँने जनाएपछि उनलाई समेत आराम दिइएको टोलीका व्यवस्थापक गौतमले जनाए। 

गत सेप्टेम्बरमा सिंगापुर जिम्बावे त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाली टोलीमा डेब्यू गरेका कुशल मल्लले पनि घरेलु मैदानमा हुने ओडीआई त्रिकोणात्मक शृंखलामा स्थान बनाएका छन्।

तीब्र गतिका बलर अभिनास बोहरा र स्पिनर सुशन भारीले पनि पहिलो पटक ओडीआई मान्यता खेलमा पहिलो पटक परेका हुन्।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज माघ २२ देखी २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुँदैछ। ओमान र अमेरिकाले पनि आफ्नो अन्तिम टोली घोषणा गरि सकेका छन्।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने छन्।

बैकल्पिक खेलाडीमा पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो छन्। तीबाहेक बन्द प्रशिक्षणबाट कुशल भुर्तेल, सुनिल धमला, वसन्त रेग्मी, लोकेश बम र सुमित महर्जन बाहिरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad