खेल


मेस्सीले बनाउलान् त विश्वकप र गोल्डेन बुट जित्ने कीर्तिमान?

मेस्सीले बनाउलान् त विश्वकप र गोल्डेन बुट जित्ने कीर्तिमान?

नेपालखबर
असार ३२, २०८३ बिहिबार १६:१, काठमाडौँ

विश्व फुटबलका दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनलले नयाँ इतिहास रच्ने सम्भावना छ। नेपाली समयअनुसार, आइतबार राति १२:४५ बजे अमेरिकाको न्यूयोर्क-न्युजर्सी स्टेडियम (इस्ट रदरफोर्ड) मा युरोपियन च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदै छन्।

यस फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर पनि छ। यदि अर्जेन्टिनाले उपाधि जित्यो र मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) बन्न सफल भए, उनी विश्वकप र गोल्डेन बुट एउटै संस्करणमा जित्ने २४ वर्षयताकै पहिलो खेलाडी बन्नेछन्। प्रतियोगिताको दुई खेल (फाइनल र प्लेअफ) बाँकी रहँदा मेस्सी आठ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा छन्। 

उनलाई पछ्याइरहेका फ्रान्सका किलियन एम्बापेको पनि समान आठ गोल नै छ। दुवैले समान गोल गरे पनि असिस्टका आधारमा मेस्सी सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्। मेस्सीले चार असिस्ट गर्दा एम्बापेले तीन असिस्ट गरेका छन्। 

यस्तोमा दुवै टोलीका कप्तानसँग एक-एक खेल बाँकी छ। अन्तिम खेलमा आफ्नो टोलीका लागि गर्ने गोल र साथी खेलाडीलाई गोल गर्न मद्दत गर्ने आधारमा नै गोल्डेन बुट कसले जित्छ भन्ने छिनोफानो हुनेछ। 

विश्वकप इतिहासमा पछिल्ला पाँच संस्करणमा गोल्डेन बुट जित्ने खेलाडीको टोलीले उपाधि जित्न सकेको छैन। अन्तिम पटक सन् २००२ मा ब्राजिल विश्व च्याम्पियन बन्दा स्टार फरवार्ड रोनाल्डो नाजारियोले आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए। त्यसयता भने सर्वाधिक गोलकर्ता खेलाडीको टोली उपाधिबाट बञ्चित हुँदै आएको छ।

सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिना विश्वविजेता बने पनि फ्रान्सका किलियन एम्बापे आठ गोलसहित गोल्डेन बुट विजेता बनेका थिए। रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेट २-२ र अतिरिक्त समय ३-३ को बराबरीपछि अर्जेन्टिनाले टाइब्रेकरमा फ्रान्सलाई ४-२ गोल अन्तरले हराएर तेस्रो विश्वकप उपाधि जितेको थियो। फाइनलमा ह्याट्रिक गरेका एम्बापेले सात गोल गरेका मेस्सीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान हात पारेका थिए।

त्यसअघि सन् २०१८ मा फ्रान्स विश्व च्याम्पियन बन्दा इंग्ल्यान्डका हेरी केनले ६ गोलसहित गोल्डेन बुट जितेका थिए। सन् २०१४ मा जर्मनीले उपाधि जित्दा कोलम्बियाका जेम्स रोड्रिगेजले ६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने। 

सन् २०१० मा स्पेन विश्वविजेता बन्दा जर्मनीका थोमस मुलर पाँच गोलसहित गोल्डेन बुट विजेता बनेका थिए। त्यस्तै, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले पाँच गोल गर्दै गोल्डेन बुट जिते पनि उपाधि भने इटालीले उचालेको थियो।

यसपटक भने मेस्सीसँग दुई दशकभन्दा लामो यो संयोग तोड्ने अवसर छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्न सफल भयो र मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने भने उनले सन् २००२ पछि पहिलो पटक विश्वकप र गोल्डेन बुट दुवै जित्ने खेलाडीको रूपमा नयाँ इतिहास बनाउने अवसर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad