फिफा महिला विश्वकपको समूह चरणको अन्तिम खेलमा साविक विजेता अमेरिकासँग बराबरी खेल्दै अंक बाँडेपछि विश्वकपमा डेब्यू गरेको पोर्चुगल समूह चरणबाटै बाहिरिएको छ।
इडेनपार्कमा मंगलबार भएको खेलमा अमेरिकासँग गोलरहित बराबरी गरेपछि पोर्चुगल समूह चरणबाटै बाहिरिँदा अमेरिका भने अन्तिम १६ मा पुगेको छ।
समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई स्पष्ट जित आवश्यक रहेको समयमा अमेरिकालाई भने बराबरी नै पर्याप्त थियो। एक खेलमा जित र दुई खेलमा बराबरी गरेको अमेरिका ५ अंकमा समुह इ को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो।
यता एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार भोगेको पोर्चुगल भने तेस्रो स्थानमा रहेर विश्वकप सकाएको छ। समूह चरणको तिनै खेलमा हार भोगेको भियतनाम भने पुछारमा रहेर अंकविहीन रुपमा विश्वकप सकायो।
यो समूहमा दुई खेलमा जित र एक खेलमा बराबरी गरेको डच टोली नेदरल्यान्डस् भने ७ अंकमा शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुगेको हो।
समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डले भियतनामलाई ७-० को फराकिलो अन्तरले पाखा लगायो।
नेदरल्यान्डस्को सानदार जितमा जिल रुर्ड र इस्बु ब्रुग्टसले समान दुई गोल गरे। डेनियल भ्यान डे डङ्क र लाइक मार्टेन्ज र काट्जाले एक एक गोल आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया