गत बिहीबार स्पेनिस सुपरकोपाको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग हारेपछि बार्सिलोना प्रशिक्षक अर्नेस्टो भालभेर्डेको दिनगन्ती सुरु भइसकेको छ।
उनको विकल्पमा बार्सिलोनाले पूर्वखेलाडी जाभी हर्नान्डेजलाई ल्याउने प्रयास गरिरहेको छ। जाभी बार्सिलोनाको अर्को प्रशिक्षक बन्ने विभिन्न स्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले यही महिना वा सिजनको अन्त्यबाट बार्सिलोनाको बागडोर सम्हाल्ने सम्भावना उच्च छ।
गतसाता मात्रै बार्सिलोनामा महानिर्देशक ओस्कार ग्राउ र टेक्निकल सेक्रेटरी एरिक अबिदालले उनीसँग यसबारे वार्ता गरेका थिए।
जाभी हाल कतारको अल साड क्लबका प्रशिक्षक छन्। कतार कपको फाइनल जनवरी १७ मा खेलिनेछ। त्यसपछि यसबारे सार्वजनिक घोषणा हुने अपेक्षा गरिएको छ।
भालभेर्डेको भविष्यबारे सोमबारको बोर्ड बैठकमा बार्सिलोनाले निर्णय लिने बताइएको छ। उनी बर्खास्त भए जाभी पनि बार्सिलोना प्रशिक्षकको जिम्मेवारी लिन इच्छुक छन्।
शनिबार जाभीलाई यसबारे प्रश्न सोधिएको थियो।
‘म यो कुरा लुकाउन सक्दिनँ किनभने त्यो मेरो सपना हो,’ उनले जवाफ दिएका थिए। एजेन्सी

प्रतिक्रिया