ad ad

खेल


एसिया कप पाकिस्तानबाट अन्त सारिए बहिष्कार गर्ने चेतावनी

एसिया कप पाकिस्तानबाट अन्त सारिए बहिष्कार गर्ने चेतावनी

नेपालखबर
जेठ १, २०८० सोमबार १८:३३, काठमाडौँ

पाकिस्तान क्रिकेट बोर्ड व्यवस्थापन समितिका प्रमुख नजम सेठीले एसिया कप आयोजनाको अधिकार पाकिस्तानबाट खोसेको खण्डमा विश्वकप बहिष्कार हुने ‘उच्च सम्भावना’ रहेको बताएका छन्। 

दुवै देशमा क्रिकेट निकै लोकप्रिय छ तर तनावका कारण भारत र पाकिस्तानले लामो समयदेखि एकअर्काको भूमिमा खेल खेलेका छैनन्। यी दुई देशबीच अन्य देशमा मात्रै खेल भएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले सन् २०२३ मा हुने एसिया कप पाकिस्तानको सट्टा तटस्थ स्थानमा हुने बताएका छन्। अर्थात्, यो तेस्रो मुलुकमा हुनेछ। 

असुरक्षाको कारण देखाउँदै भारतले त्यहाँ जान अस्वीकार गरेको थियो। त्यसपछि पीसीबीले ‘हाइब्रिड मोडल’अन्तर्गत यूएईमा खेल्न पाउने प्रस्ताव गरेको थियो। 

यसबारे बीसीसीआईको प्रतिक्रिया आएको छैन। सेठीले भने कि भारत सम्पूर्ण खेल पाकिस्तानबाहिर गराउन चाहन्छ। यसले यस वर्ष भारतमा हुने विश्वकप र पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा गम्भीर असर पार्नसक्ने उनले बताए।

यसैबीच श्रीलंका र बंगलादेशले गर्मी र अन्य कारण यूएईमा खेल्न अस्वीकार गरेका छन्। 

जसका कारण एसियाली क्रिकेट काउन्सिलले सम्पूर्ण प्रतियोगिता पाकिस्तानबाट बाहिर सार्ने विचार गर्न सक्छ। यसबारे सेठीले यो स्वीकार्य नहुने र त्यसो भए पाकिस्तानले विश्वकप बहिष्कार गर्ने बताएका छन्।

भारतले हाइब्रिड मोडेलमा सहमत हुनुपर्छ? यस प्रश्नमा सेठीले अक्टोबर–नोभेम्बरमा हुने विश्वकपका लागि पाकिस्तानले पनि पारस्परिक सर्त राख्ने बताए। उनले भने, ‘भारतमा खेल खेल्न हामीलाई पनि सुरक्षाको चिन्ता छ। त्यसैले पाकिस्तानलाई ढाका, मिरपुर वा संयुक्त अरब इमिरेट्स वा श्रीलंकामा खेल्न दिनुहोस्।’

पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले पनि भारतीय टोली पाकिस्तान नआए पाकिस्तानले भारतमा हुने विश्वकपमा सहभागी नहुने बताएका छन्।

गत वर्ष १९ अक्टोबरमा पीसीबीले विज्ञप्ति जारी गर्दै सन् २०२३ मा हुने एसिया कप भारतले अस्वीकार गरेकै कारण पाकिस्तानबाट बाहिर सारिनेछ, त्यसैले पाकिस्तानले पनि उचित जवाफ दिने बताएको थियो। 

२०१८ मा एसिया कप भारतमा हुनुपर्ने थियो, तर यसलाई यूएईमा सारिएको थियो। त्यसपछि भारत र पाकिस्तानबीच निकै तनाव भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .