ad ad

खेल


घट्दै नेपाली फुटबलका दर्शक, रित्तो स्टेडियममा हुन्छन् खेल (भिडिओ)


लक्ष्मी जि.सी
बैशाख २८ , काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगका १६ औँ चरणका खेल सकिएका छन्। 

तर दुईतिहाइ खेल सकिँदा पनि मैदानमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको काठमाडौं र ललितपुरका रंगशालासम्म दर्शक नपुग्दा खेलाडीहरु खाली स्टेडियमसामु खेलिरहेका छन्। 

लिगका सबै खेलको प्रत्यक्ष प्रसारण नहुँदा पनि एन्फाले दर्शकलाई मैदानसम्म तान्न सकेन। झिनो संख्यामा स्टेडियम पुग्ने दर्शकको आफ्नै अनुभव छ। खेल हेर्न मैदान पुग्ने दर्शकको संख्या कम हुनुमा आफ्नै खाले बुझाई छन्। 

ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबका समर्थक हुन् कलंकीका जुम्ल्याहा दाजुभाइ। तर उनीहरु टोलीको पनि खेल हेर्न मैदान पुग्ने गर्छन्। 

दर्शक कम हुनुमा महँगो टिकट र फोहोर रंगशालालाई कारक ठान्छन् उनी। विदेशी क्लबको खेलमा जुन रोमाञ्चकता हुन्छ, तर त्यस्तो रोमाञ्चकता नेपाली फुटबलमा नहुने उनीहरु बताउँछन्। 

नेपाली फुटबलको मेरुदण्डका रुपमा लिइने ए डिभिजन लिगमा गरेको प्रर्दशनका आधारमा खेलाडीले राष्ट्रिय टोलीसम्म यात्रा तय गर्छन्। तर, लिगमै खेलाडी घाइते भए राष्ट्रिय टोलीसम्मको यात्रा कस्तो होला?

खेलाडीहरु त जसोतसो खेलिरहेका छन्। तर समर्थक क्लबको प्रर्दशनबाट सन्तुष्ट छैनन्। त्यति मात्र होइन, विभागीय टोलीले विदेशी खेलाडी अनुबन्ध गरेको पनि कति समर्थकलाई चित्त बुझेको छैन। 

नेपाल एपीएफ क्लबले गत सिजनबाट विदेशी खेलाडी अनुबन्ध गर्न थाल्यो। गत सिजन लगातार खराब प्रर्दशन गरेपछि एपीएफले विदेशी खेलाडी टोलीमा ल्यायो। 

केही वर्ष अघिसम्म विभागीय खेलाडीकै भरमा लिग खेल्दै आएका टोलीले अहिले विदेशी खेलाडी अनुबन्ध गर्न थालेका छन्। 

त्यसो त लिगमा विदेशी खेलाडीकै दबदबा छ। सर्वाधिक गोलकर्ताको दौडमा पनि विदेशी खेलाडी नै छन्। कतिपय दर्शकले विभागीय टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्नुलाई राम्रो मानेका छैनन्। 

यो पटक नेपाल पुलिस क्लबले पनि विदेशी खेलाडी अनुबन्ध गर्यो। यसबाट पुलिस क्लबकै समर्थक खुसी छैनन्। 

समर्थक झलक तामाङ भन्छन्, ‘क्लबले आफ्नै खेलाडीबाट राम्रो खेल्न सक्नुपर्थ्यो।’ विदेशी खेलाडी टोलीमा राखे पनि राम्रो नतिजा ल्याउन नसकेकोमा उनी असन्तुष्ट छन्। 

एक समय हरि खड्का, जुमानु राई लगायत खेलाडी हुँदा बलियो देखिने पुलिस विदेशी खेलाडी राख्दा पनि कमजोर देखिएको उनी सुनाउँछन्। यस्तै अवस्था रहे पुलिस क्लब रेलिगेशनमा जाने उनको आशंका छ। 

केही वर्ष अघिसम्म क्लबका आफ्नै छुट्टै समर्थक थिए, खेलमा रोमाञ्चकता थियो। उनीहरु आफ्नो खेल हुँदा क्लबको ब्यानर र बाजासहित रंगशाला पुगिरहेका हुन्थे। तर पछिल्लो समय त्यस्तो दृश्य देख्न पाइँदैन।  

यद्यपि संकटा क्लबका हरेक खेलामा समर्थकहरु बाजागाजासहित रगंशाला पुगिरहेका हुन्छन्। यसमा क्लबलाई नै मुख्य कारण मान्छन् एन्फा लिग निर्देशक सञ्जीव मिश्र।

‘यसमा क्लबले नै काम गर्नुपर्ने हुन्छ। पछिल्लो समय एकै ठाउँमा थुप्रै क्लब बन्दा त्यसको असर पुराना क्लबमा देखिएको छ’, उनले भने। 
नजिकै धेरै क्लब बन्दा समर्थक पनि बाँडिएको उनको अनुभव छ।  

‘अहिले एकै ठाउँ धेरै क्लब बने। ललितपुरमा यस्तै अवस्था छ’, उनले भने, ‘जसले गर्दा समर्थकहरु बाँडिए। खेलाडी विदेश पलायनका कारण पनि दर्शकको संख्यामा घटेको कुरामा मेरो पनि सहमति छ।’

दर्शक मात्रै होइन, एन्फा आफैँ आन्तरिक किचलोमा फस्दा यो पटक लिगले मुख्य प्रायोजकसमेत पाउन सकेन। 

यसअघि एन्फाले दर्शकलाई मैदानसम्म तान्न विभिन्न प्याकेज र अफरहरु ल्याउने गरेको थियो। तर यो पटक एन्फाले दर्शकका लागि केही योजना ल्याएन। 

एन्फाले किन दर्शकलाई मैदानसम्म ल्याउन योजना नबनाएको भन्ने प्रश्नमा मिश्रले एन्फाको बचाउ गरे। 

‘यो पटक हामीले टिकेटिङको जिम्मा अन्य कम्पनीलाई दिएका कारण एन्फाले केही गरेन’, उनले भने, ‘एन्फा आफैँले गरेको भए दर्शकका लागि केही योजना ल्याउँथ्यो। तर, अर्को कम्पनीलाई जिम्मा दिएपछि उसले गर्नुपर्ने हो।’ 

पछिल्लो समय ए र बी डिभिजनका झण्डै १ सय हाराहारी खेलाडी विदेशीए। लिग चलिरहँदा सुजल श्रेष्ठ, रजिन धिमाल, सरोज दाहाललगायत थुप्रै खेलाडी बाहिरिँदा त्यसको असर मैदानमा पनि देखिएको छ। 

खेलाडी पलायनका कारण लिग हेर्ने दर्शकको संख्यामा कमी आएको पनि दर्शक मान्छन्। आफूलाई मनपर्ने खेलाडी र तिनको गोल हेर्न नै दर्शकहरु रंगशालासम्म पुग्ने गरेका छन्। दर्शक अर्जुन कार्की भन्छन्, ‘नाम चलेका खेलाडी विदेशिएका छन्, हामी उनीहरुलाई नै हेर्न आउँथ्यौँ।’

नेपालमा खेलेर बाँच्न सक्ने अवस्था नभएपछि विदेशिनु खेलाडीको पनि बाध्यता पनि हो। एन्फाले खेलाडीको भविष्यबारे नसोच्दा खेलाडी बाहिरिएका छन्। जसकारण नेपाली लिगमा  विदेशी खेलाडी हाबी भएका छन्। 

यस्तोमा लिगमा क्लबका मात्रै होइन, खेलाडीका पनि आफ्नै समर्थक छन्। जसको खेल हेर्न उनीहरु रगंशाला पुगिरहेका हुन्छन्। 

मनपर्ने खेलाडी विदेशिँदा दर्शकमा पनि नैराश्यता देखिएको छ। खेलाडी विदेशिँदा मैदानमा दर्शकको संख्यामा पनि घटेको छ।

समर्थकहरुकै क्लब भनेर चिनिने थ्रीस्टारले पहिलाको जस्तो खेल कौशल देखाउन नसके पनि प्रिय खेलाडीलाई हेर्न दर्शक पुग्ने गरेका छन्। 

समर्थक मनीष चौधरीलाई क्लबमा थ्रीस्टार र खेलाडीमा विक्रम लामा मनपर्छ। उनी थ्रीस्टारको खेल हेर्न पुगिरहेका हुन्छन्। विक्रमको बल होल्ड गर्न सक्ने र बल मिलाउने क्षमताका उनी ठूलो फ्यान हुन्। 

मैदानमा दर्शक कम आउँदा खेलाडी र प्रशिक्षकमा पनि उत्साह कम हुने  गर्छ। यसमा प्रशिक्षकका आफ्नै अनुभव छन्। थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी दर्शकको उपस्थिति र हुटिङका कारण मैदानमा खेलाडीको जोश फरक हुने अनुभव सुनाउँछन्। 

‘सुरुमा धेरै समर्थकसामु नयाँ खेलाडीले खेल्नै सक्दैनन्। तर बानी परेपछि उनीहरुले त्यही दर्शकअगाडि उत्कृष्ट प्रर्दशन गरिरहेका हुन्छन्’, प्रशिक्षक केसी भन्छन्, ‘एउटा फरवार्डले डिफेन्डरलाई छलाउँदै लगेको बलले पोष्टको जाली चुम्दा खेलाडीले मैदानभर घुमरे खुसी साट्छ, त्यो दर्शकको कारण नै हो। 

समर्थक मात्र होइन, प्रशिक्षक पनि लिगमा दर्शक कम आउन थालेकोमा दुखी छन्। एनआरटीका प्रशिक्षक जीवन सिन्केमान पनि आफ्नो समय जस्तो दर्शकको उपस्थिति कम हुँदै गएको अनुभव सुनाउँछन्। 

‘हाम्रो समयमा जस्तो दर्शक आउनै छाडे। पहिला स्टेडियम भरिभराउ हुन्थ्यो, अहिले त्यस्तो देख्न पाइन्न। म दर्शकलाई खेल हेर्न आउन अनुरोध पनि गर्छु’, उनले भने। 

पछिल्लो समय फुटबलका दर्शक घट्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय फुटबल हुँदा दर्शकले भरिभराउ हुने रगंशाला लिगमा भने लगभग खाली जस्तै छन्। 

घरेलु फुटबलको सबैभन्दा ठूलो ए डिभिजन लिगकै समयमा दर्शकको सख्यांमा कमी आउँदा यसको रौनकतामा पनि कमी भइरहेको छ।

तस्बिर/भिडिओ : सरोज नेपाल

बैशाख २८, २०८० बिहिबार १६:१६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .