ad ad

खेल


लोभलाग्दो क्रिकेट क्रेज : कोही हिलोमा चिप्लिँदै पुगे, कोही पानीमा रुझिरहे

लोभलाग्दो क्रिकेट क्रेज : कोही हिलोमा चिप्लिँदै पुगे, कोही पानीमा रुझिरहे

लक्ष्मी जि.सी
बैशाख १९, २०८० मंगलबार १५:३६, काठमाडौँ

दुई दिन चलेको एसिसी प्रिमियर कपको फाइनल खेलमा मंगलबार पनि बिहानैदेखि दर्शकको उपस्थिति लोभलाग्दो थियो। 

सोमबार भएको फाइनलमा वर्षा बाधक बनेपछि बाँकी खेल आज भएको थियो। प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल दोस्रोपटक एसिया कपमा पुगेको छ। 

यसअघि सन् २००२ मा नेपाल एसिया कपमा पुगेपनि भारत र पाकिस्तानको विवादका कारण प्रतियोगिता हुन सकेको थिएन। यो पटक पनि प्रतियोगिता हुने नहुने अन्यौल छ।

तर, नेपालले दुई पटक नै यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको हो।

लगातारको वर्षाका बावजुत दर्शकहरू बिहानैदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलाडीको हौसला बढाउन पुगिसकेका थिए।

पानीका कारण हिलाम्य बाटोले दर्शकको क्रिकेटमोहलाई रोक्न सकेन। सोमबार खेल पुनः सुरू हुने आशामा हजारौँ समर्थक घण्टौंसम्म छाता ओढेर बसेका थिए। कतिपय रुझ्दै खेल हुने प्रतिक्षामा बसे।

दर्शकको क्रिकेट क्रेज देखेर नेपाली मात्र हैन विदेशी खेलाडी पनि लोभिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपाली दर्शकको क्रिकेटमोहको चर्चा गरिरहेका हुन्छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले हरेक खेलपछि दर्शकको प्रशंसा गर्न बिर्सिंदैनन्। मंगलबार यूएईलाई हराउँदै एसिया कपमा पुगेपछि देसाईंले क्रिकेट समर्थकको प्रशंसा गरे।

उनले भने, ‘केही मिनेट हैन, खेल सुरु हुने आशामा घण्टौं छाता ओढेर पर्खिरहेका दर्शकको कसरी प्रशसा गरौं। खेलमा एकपछि अर्को उत्कृष्ट प्रर्दशन गर्न पनि दर्शकको उत्तिकै हात छ। हरेक दिन दर्शकको संख्या बढिरहेको हुन्छ। जसले राम्रो गर्न मोटिभेट गरिरहेको छ।’

टोलीका कप्तान रोहित पौडेलले पनि दर्शकको प्रसंसा गर्न बिर्सेनन्। उनले भने, ‘हरेक दिन घाम पानी नभनि उहाँहरू मैदानमा आउनुहुन्छ। जसले हामीलाई राम्रो गर्न हौसला मिलेको छ। हिजो र आज पानी परिहँदा पनि उहाँहरूको साथ उत्तिकै रह्यो।’

टोलीका स्पिनर सन्दीप लामिछानेले दर्शकलाई भगवानको रुपमा व्याख्या गरे। उनले भने, ‘भगवान हरेक ठाउँमा नपुग्ने भएकाले दर्शकको रुपमा आउनुभएको हो।’ 

फाइनलपछि पनि पानीका बाबजुद दर्शकहरू छाता ओढेर नै खेलाडीसँग भेट गर्न बसिरहेका थिए। खेलाडीसँग फोटो खिच्न, उनीहरूको अटोग्राफ लिन समर्थकहरू पर्खिरहेका थिए। 

एसोसियट राष्ट्रमा मात्र हैन, हरेक देशमा नेपाली समर्थकको प्रशंसा भइरहेको हुन्छ। नेपालमा खेल्न आउने विपक्षी खेलाडीले पनि यहाँका समर्थकको प्रशंसा गर्न छुटाउँदैनन्।

नेपालमा क्रिकेटप्रति दर्शकको मोह साच्चिकै अभुतपूर्ण छ। जुन दृश्य हेर्न हरेक टोली लालायित हुन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .