ad ad

खेल


एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, एसिया कपमा छनोट

एसीसी प्रिमियर कपको उपाधिसहित नेपाली क्रिकेट टोली। तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
बैशाख १९, २०८० मंगलबार ११:४५, काठमाडौँ

एसिसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट भएको छ। 

पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुनेछ। एसिया कपमा नेपालले विश्व क्रिकेटका बलिया टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ। 

एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।  

नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको हो। नेपाल यसअघि सन् २००२ मा एसिया कपका लागि छनोट भएको थियो।

सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन। 

यूएईले दिएको १ सय १८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। 

चौथो विकेटका लागि गुलशनम झा र भिम सार्कीले रनको ९६ रनको अविजित साझेदारी गरे। 

गुलशन झा ६७ र भीम सार्की ३६ रनमा नटआउट रहे। ८४ बलको सामना गरेका गुलशनले ३ चौका र ६ छक्का प्रहार गरे। भीमले ७२ बलमा ४ चौका हाने। 

कप्तान रोहित पौडेल ७.६ ओभरमा रोहन मुस्तफाको बलमा १ रनमा बोल्ड आउट भए।

नेपालले सातौं ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। दोस्रो ओभरको दोस्रो बलमा कुशल भुर्तेललाइ गुमाएको थियो।

१ रन बनाएका कुशल रोहन मुस्तफाको बलमा एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्केका थिए। 

सातौं ओभरको पहिलो बलमा आशिफ शेख ८ रनमा आउट भए। आशिफ अफ्जाल खानको बलमा एलबीडब्लु धरापमा परे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएई ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भयो। 

हिजो सोमबार २७.३ ओभरमा यूएई ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। आज सोही स्थितीबाट खेल सुरु भएको थियो। 

ललित राजवंशीले ३४ औं ओभरको पहिलो बलमा जुनैद सिद्दीकीलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराउँदै यूएईलाई अलआउट गरे। सिद्दीकी १० रनमा क्याच आउट भए। कार्तिक मैयाप्पन १ रनमा नटआउट रहे। 

यूएईलाई कम स्कोरमा रोक्न ललित राजवंशी एक्लैले ४ विकेट लिए। ललितले ७.१ ओभरमा २ मेडन राख्दै मात्र १४ रन खर्चे। 

करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा २ मेडन राख्दै ३४ रन दिए। करणले ७ ओभरमा १ मेडन राख्दै २६ रन खर्चे। सोमपाल कामी र गुलशन झाले एक एक विकेट आफ्नो नाममा गरे। 

ललितले २७.२ ओभरमा आशिफ खान र २७.३ ओभरमा जहुर खानलाई आउट गराउँदै ह्याट्रिक नजिक पुगेर भुके। ५४ बलमा ७ चौका र १ छक्का मद्दतमा ४६ रन बनाउँदै आशिफ खान ललितको बलमा आरिफ शेखबाट आउट भए।

सन्दीपले आयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराउँदै नेपाललाई सातौं सफलता दिलाएका हुन्। गुलशनले २२.५ ओभरमा बसिर अहमदलाई १० रन रनमा बोल्ड गरे।  

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

पाचौं ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए।

रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलशन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। 

यूएईका लागि आशिफ खानले सर्वाधिक ४६ रन बनाए। आर्यन लाक्राले १३ र कप्तान तथा ओपनर मुहम्मद वसिमले ११ थपे। बसिल अहमदर र जुनैद सिद्दीकीले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .