ad ad

खेल


लगातार जित्दा ब्याटिङ सुध्रियो, ओपनिङमा अझै समस्या

लगातार जित्दा ब्याटिङ सुध्रियो, ओपनिङमा अझै समस्या

लक्ष्मी जि.सी
बैशाख ११, २०८० सोमबार ७:५१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गतका पछिल्ला १२ मध्ये ११ खेलमा जित निकालेको क्रिकेट टोली उच्च मनोबलमा छ।

नेपालको अहिलेको लक्ष्य भनेको प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कप खेल्नु हो। नेपाल  एसिया कपमा पुगेमा विश्व क्रिकेटका ठूला हस्ती भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ। 

मोन्टी देसाईले टोली सम्हालेयता नेपाली टोली उच्च मनोबलमा छ। 

नेपालका ब्याटरहरूले एकपछि अर्को उत्कृष्ट पारी खेलिरहेका छन्।

ब्याटिङ समस्याकै कारण पटक–पटक आलोचनाको शिकार बनेको क्रिकेट टोलीका लागि फरक समयमा फरक खेलाडीले आफ्नो क्षमता क्रिजमा देखाइरहेका छन्। 

जितले सबै कमजोरीलाई ढाकिरहेको हुन्छ। तर जितको खुसी मनाइरहँदा टोलीभित्रको कमजोरीलाई भने नजरअन्दाज गर्ने अवस्था छैन।

नेपालको ब्याटिङमा सुधार देखिए पनि ओपनिङमा अझै समस्या देखिइरहेको छ।

पछिल्लो समयको ६ खेललाई हेर्ने हो भने नेपालले आईसीसी लिग २ अन्तर्गत पपुवा न्यु गिनीसँगको खेलमा ओपनरबाट ११० रनको साझेदारी भएको थियो। 

ओपनर कुशल भुर्तेल र आशिफ शेखले १८.४ ओभरमा पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे। त्यसअघि पीएनजीसँगकै खेलमा ३.३ ओभरमा ५१ रनको साझेदारी गरेका थिए। 

नेपालले सिरिजअन्तर्गत यूएईसँगको खेलमा पहिलो ओभरको तेस्रो बलमा नै १ रन बनाउँदा नेपालको ओपनिङ साझेदारी तोडिएको थियो।

सिरिजकै यूएईविरुद्धको अर्को खेलमा १.५ ओभरमा २ रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको थियो। 

अहिले घरेलु मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको पहिलो खेलमा पनि नेपालको ओपनिङ जोडी लामो समय क्रिजमा टिक्न सकेन। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलो ओभरको अन्तिम बलमा ५ रन बनाउँदा ओपनर आशिफ शेखलाई गुमाएको थियो।

तीन बलको सामना गरेका आशिफ १ रन बनाउँदा क्याच आउट हुन पुगे। कुशल भुर्तेल ९.१ ओभरमा ३८ रन बनाउँदा पवेलियन फर्के।

प्रिमियर कपको दोस्रो खेलमा खराब सुरुवात गरेको नेपालले ओमानमाथि कीर्तिमानी जित निकाल्यो। तर नेपालले दुवै ओपनरलाई बिनारन गुमाएको थियो। 

नेपालले घरेलु मैदानमा कुशल भुर्तेललाई २.२ ओभरमा गुमायो। ८ बलको सामना गरेका कुशल खाता नै खोल्न नसक्दा विलाल खानको बलमा एलबीडब्लु धरापमा परे। 

दोस्रो विकेटका रुपमा नेपालले अर्का ओपनर आशिफ शेखलाई गुमाउन पुग्यो। ३.४ ओभरमा आशिफ कुनै रन बनाउन नसकी बोल्ड आउट भए। आशिफ करिमुल्लाहको बलमा बोल्ड भएका हुन्। 

नेपालले ओमानविरुद्ध एक रन जोड्न मात्रै २७ बल खेर फालेको थियो। तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले २८ औं बलमा नेपालको खाता खोलेका थिए। 

पछिल्ला खेलमा नेपालको ओपनिङमा समस्या देखिन थालेको छ। एक समय ब्याटिङ समस्याबाट गुज्रिरहेको नेपालका लागि तत्कालीन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओपनिङ जोडीका रुपमा कुशल र आशिफलाई चयन गरेका थिए। 

आक्रामक जोडीको परिचय बनाएका कुशल र आशिफको जोडी पछिल्लो समय लामो समय क्रिजमा टिक्न सकेको छैन। 

नेपालले यसअघि ओपनिङमा अन्य खेलाडीलाई मौका नदिएको पनि होइन तर अन्य खेलाडीको तुलनामा यी दुईले सम्झनलायक प्रर्दशन गरिरहेका छन्। 

पछिल्ला केही खेलका ओपनिङमा यी खेलाडीको साझेदारी राम्रो हुन नसके पनि व्यक्तिगत रुपमा प्रर्दशन सन्तोषजनक नै छ।

यो जोडीको मनोबल बलियो बनाउन सकेको अवस्थामा अझै राम्रो प्रर्दशन गर्ने सम्भवना बलियो छ। 

लिग–२ कै खेलमा ओपनरकै रुपमा क्रिजमा आएका खेलाडीले खेल जिताएको इतिहास पनि छ।

ओपनरहरू लामो समय क्रिजमा टिक्न नसक्दा नेपालको वास्तविक ब्याटिङ चौँथो-पाँचौँ नम्बरपछि मात्रै सुरु हुन्छ भनेर समर्थकले भन्दै आइरहेका छन्। अहिलेको केही खेलको अवस्था पनि उस्तै देखिएको छ।

नेपालका मध्यक्रमका ब्याटरहरुले नेपालको इनिङस् सम्हाल्दै आएका छन्। मध्यक्रमममा एकपछि अर्को खेलाडीले क्रिजमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन्। 

समग्रमा नेपालको ब्याटिङ लाइन सुधारिँदै गएको छ। एसीसी प्रिमियर कप अन्तर्गत ओमानसँगको खेलमा नेपालले ओडीआई इतिहासकै कीर्तिमानी लक्ष्य दिएको थियो। नेपालले ओडीआई इतिहासमा पहिलो पटक ३ सय भन्दा बढी रन कटाएको थियो।

ओमानसामु ३११ रनको लक्ष्य दिएको नेपालले ओमानमाथि ८४ रनको फराकिलो जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .