कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनाका लागि सय गोल पूरा गरेका छन्।
तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी सानो टापुदेश क्युरासाओविरुद्धको खेलमा गोल वर्षा गर्ने क्रममा मेस्सीले करिअरको ५७औं ह्याट्रिकसमेत गर्न सफल भए।
कतारमा दुई महिनाअघि सम्पन्न विश्वकपमा उनकै प्रेरणामा अर्जेन्टिनाले उपाधि चुमेको थियो। विश्वकपयता पनि उत्कृष्ट लय समातेका उनले क्युरासाओविरूद्ध खेलको २०औं मिनेटमा गोलको खाता खोले। योसँगै उनले अर्जेन्टिनाका लागि सय गोल पूरा गरे।
त्यसपछि उनले खेलको ३३औं र ३७औं मिनेटमा थप गोल गर्दै करिअरको ५७औं ह्याट्रिक पनि गर्न सफल भए।
क्युरासाओविरूद्धको ह्याट्रिकसँगै मेस्सीले क्लब र देशका लागि ८०२ गोल पूरा गरेका छन्।
क्युरासाओविरूद्ध अर्जेन्टिनाले फराकिलो जित पनि निकालेको छ। उसले मेस्सीको ह्याट्रिकसहित ७-० को एकपक्षीय नतिजा निकालेको हो।
अर्जेन्टिनाका लागि मेस्सीले तीन गोल गर्दा इन्जो फर्नान्डेज, निकोलस गोन्जालेज, गोन्जालो मोन्टियाल र एन्जेल डी मारियाले व्यक्तिगत एक-एक गोल गरे।
देशका लागि सर्वाधिक १२२ गोल पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र दोस्रोमा १०९ गोल इरानका अली दाइले गरेका छन्।
प्रतिक्रिया