बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा बलिउड उद्योग छोडेर अमेरिका पुगिन्। उनका धेरै प्रशंसकले किन भनेर प्रश्न गरिरहेका थिए। प्रियंकाले आफ्ना फ्यानको उक्त प्रश्नलाई सम्बोधन गर्दै अमेरिका जानुको कारण बताएकी छन्।
प्रियंकाले डेक्स सेफर्डको पोडकास्टमा आफूले चाहेजस्तो फिल्म नपाएपछि उद्योग छोडेको बताएकी छन्। उनले इन्डस्ट्रीमा राजनीति बढ्नु पनि आफूले उद्योग छोड्नुको अर्को कारण बताएकी छन्।
प्रियंकाले भनेकी छन्, ‘बलिउडमा मैले काम पाइरहेको थिएँ। तर म खुसी थिइनँ। म यसबारे पहिलोपटक कुरा गर्दै छु, किनकि मलाई यसबारे कुरा गर्न यसअघि असुरक्षित महसुस हुन्थ्यो।’
उनले बलिउड छाड्नुको कारण बताउँदै भनेकी छन्, ‘मलाई देसी हिट्सकी अञ्जली आचार्यले एक म्युजिक भिडिओ देखाएकी थिइन्। त्यतिबेला म सात खून माफको छायांकन गरिरहेकी थिएँ। अञ्जलीले मलाई अमेरिकामा आफ्नो म्युजिक करियर बनाउन चाहन्छौ भनेर सोधिन्। म त्यतिबेला बलिउडबाट भाग्ने अवसरको खोजीमा थिएँ।’
प्रियंकाले अगाडि भनेकी छन्, ‘मलाई इन्डस्ट्रीले एक कुनामा धकेलिरहेको महसुस भइरहेको थियो। फिल्मकर्मीहरू मलाई कास्ट गर्न छाडिसकेका थिए। मबाट फिल्मकर्मीहरू असन्तुष्ट थिए। म त्यस्तो खेल खेल्न सक्दिनँ थिएँ। त्यसैले बलिउडको राजनीतिबाट थाकिसकेको थिएँ र म ब्रेक लिन चाहन्थेँ।’
फिल्मी करियर छाडेर गीत गाउन सुरु गरेकी प्रियंका कामको खोजीमा अमेरिका पुगेकी छन्। संगीतबाट विश्वभर आफूलाई चिनाउने सपना देखेकी प्रियंकाले पिटबुल फर्रेल विलियम्स र जे जेडजस्ता गायकसँग काम गरिन्। तर उनी म्युजिकमा जम्न सकिनन्।
हाल अन्तर्राष्ट्रिय फिल्मसँगै शो पनि गरिरहेकी प्रियंका हलिउड स्पाइ वेब सिरिज ‘सिटाडेल’ र ‘लभ अगेन’ मा देखिनेछिन्। योसँगै उनी बलिउड फिल्म ‘जि ले जरा’ मा देखिनेछिन्।
प्रतिक्रिया