नेपाली क्रिकेट टोलीका व्यवस्थापक विनोद दासले युएईबाट सन्दीप लामिछानेलाई फर्काउने जिम्मा आफूहरुले लिने बताएका छन्।
क्रिकेट खेल्न युएई जान पाउनुपर्ने मागसहित लामिछानेले दिएको रिट निवेदनमा सुनुवाइका क्रममा व्यवस्थापक दासले इजलासमै पुगेर यस्तो बताएका हुन्।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा रिटमाथिको सुनुवाइका क्रममा उनले सबै खेलाडी म्यानेजरमातहतमा जाने भएकाले सन्दीपको जिम्मा पनि आफूले लिने बताएका थिए।
'सन्दीपसहित टोलीका सबै खेलाडी म्यानेजरमातहत हुन्छन्। उनीहरु हामीले अनुमति नदिएसम्म कहीँ जान पाउँदैनन्', दासले इजलालसमा भने, 'टोलीका सम्पूर्ण सदस्य नेपाल आइपुगग्दासम्म हाम्रो जिम्मा हुन्छन्। सन्दीपलाई फर्काउने जिम्मा पनि हामी लिन्छौँ।'
दासले नेपालखबरसँगको कुराकानीका क्रममा आफूले नेपाल जाँदादेखि खेलाडीहरु फर्किँदासम्मको विस्तृत प्रक्रियाबारेमा इजलासमा जानकारी दिएको बताएका छन्।
इजलासमा सुनुवाइ सकिएपछि अब न्यायाधीश खतिवडाले सन्दीपको निवेदनमाथि आदेश दिन मात्रै बाँकी छ। आदेश आजै आउनेछ।
आदेश आएसँगै शनिबार नेपाली टोलीका सदस्यसहित सन्दीप शनिबार युएई जाने नजाने टुंगो पनि लाग्नेछ। उच्च अदालत पाटनको गत पुस २८ को आदेशका कारण सन्दीपले नेपाल छोड्न पाउँदैनन्।
काठमाडौं छाड्दा पनि पूर्वअनुमति लिनुपर्ने गरी सन्दीपलाई उच्च अदालतले पुस २८ मा केन्द्रीय कारागारबाट थुनामुक्त गर्न आदेश दिएको थियो।
Shares

प्रतिक्रिया