काठमाडौंमा आइतबारबाट सुरु भएको प्रधानसेनापति आमन्त्रित महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलको पहिलो हाफमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ विरुद्ध ५-० को अग्रता लिएको छ।
पहिलो हाफमा आर्मीका लागि सपना लामा र शर्मिला थापामगरले २-२ तथा विमला चौधरीले एक गोल गरे।
खेलको दोस्रो मिनेटमा सपनाको गोलसँगै आर्मीले अग्रता लिएको थियो। त्यसको ५ मिनेट बित्न नपाउँदै शर्मिलाले दोस्रो गोल थपिन। दोस्रो गोल गरेको तीन मिनेटमा शर्मिलाले नै आर्मीलाई ३-० को अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अन्तिम पाँच मिनेटमा आर्मीले थप दुई गोल गर्यो। सपनाले ४२औं र बिमलाले ४५औं मिनेटमा गोल गर्दै आर्मीलाई ५-० को अग्रता दिलाए।
काठमाडौको भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा जारी खेलमा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्। प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया