खेल


उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

उत्कृष्ट नतिजा, औसत व्यवस्थापन

यज्ञराज जोशी
काठमाडौं, मंसिर २४

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद(साग) सुरु हुनु दुई दिनअघि होटल सोल्टीमा पत्रकार सम्मेलन बोलाएका थिए। आयोजक समितिका सदस्यसचिव समेत रहेका सिलवालले तयारी पूरा भएको जानकारी गराउलान् भन्ने धेरैको अपेक्षा थियो। तर, कामको फेहरिस्त सुन्न उपस्थित भएका पत्रकारमाझ उनले भने, ‘अब तयारी पूरा भएन भनेर नभनिदिनुस्। जसोतसो सकियो भनिदिनुस्, लेखिदिनुस्।’

सरकारको ठूलो बजेट (साढे ४ अर्ब) र संयन्त्र प्रयोग गरिएको दक्षिण एसियाली खेलकुद मेलाको आयोजना र व्यवस्थापन सिलवालले भनेजस्तै जसोतसो सकिएको छ। प्रतियोगिता सुरु हुनु दुई हप्ताअघिसम्म पनि पूर्वाधार तयार नुहँदा खेल नै हुने–नहुने अनिश्चय थियो। त्यही अवस्थामा काठमाडौंमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा सिलवाल आफैँ उपस्थित भएर जसरी पनि आयोजना गरेरै छाड्ने ढिपी कसे। नाक खुम्चाइका बाबजुद सदस्य राष्ट्रहरुले यो आफूहरुको पनि प्रतियोगिता भन्दै सफल पार्ने जिम्मेवारी लिदैँ मंसिर १५ को प्रस्तावलाई सदर गरे।

सदस्य राष्ट्रहरुले नाक खुम्चाउनुको कारण थियो, मुख्य आयोजनास्थल दशरथ रंगशालाको पुनर्निर्माण नसकिनु। भीआईपी प्यारापिटको छानो चीनमै थियो। फिनिसिङका अधिकांश काम बाँकी थिए। पौडी पोखरी पूर्वाधारका काम मुस्किलले ६० प्रतिशत सकिएको थियो। पोखरा रंगशालामा प्यारापिट जडान नै भएको थिएन। मैदानमा रोपिएको पूरानो दुबो सुकेर नयाँ रोप्नुपर्ने भएको थियो। अन्य आयोजनास्थलको ‘फिनिसिङ’ पनि सकिएकै थिएन।

Image may contain: stadium and outdoorउद्घाटनको अघिल्लो रातसम्म पनि फिनिसिङका कामहरु बाँकी नै थिए। तस्बिर: प्रविन कोइराला

सदस्यसचिव सिलवालले त पाल नै टाँगेर भएपनि मंसिर ३ गते तय भएको फिफा विश्वकप र एएफसी छनोटको कुवेतविरुद्धको होम गेम दशरथ रंगशालामै गराउने भनेका थिए। तर, एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले निर्माणाधीन दशरथ रंगशालाको जोखिमलाई मध्येनजर गर्दै यो मैदान खेल खेलाउन कुनैपनि हालतमा योग्य नभएको प्रतिवेदन नै दियो।

त्यसका बाबजूद मंसिर पहिलो साता जसरी पनि सम्पूर्ण काम सक्छु भन्दै प्रतिबद्धता गरेर सिलवालले सदस्य राष्ट्रलाई सागमा सहभागी हुन मनाएका थिए। तर, काम भने उद्घाटनको अघिल्लो रातसम्म जारी थियो। जसोतसो आयोजना मितिसम्म तयार गरियो।

उद्घाटनको अघिल्लो दिनसम्म धेरै विदेशी पाहुना र पत्रकार नेपाल आइसकेका थिए। बंगलादेशको न्युज २४ टेलिभिजनका पत्रकार महफुजुल इस्लामसँग उद्घाटनको अघिल्लो साँझ रंगशाला परिसर घुम्दा ओलम्पिक दीप प्रज्वलन गर्ने स्थानको काम जारी थियो। ‘भोलि उद्घाटन छ, अहिले साँझसम्म पनि निर्माण काम सकिएको छैन?’ उनले मतिर आश्चर्य र प्रश्न मिश्रित जिज्ञासा अघि सारे। आयोजक राष्ट्रकै पत्रकारको नाताले मलाई सदस्यसचिवले झैँ जसोतसो आयोजना हुँदैछ भन्न मन लागेन बरु उनको प्रश्नको जवाफ नदिएर प्रंसग अन्तैतिर मोडेँ।

औसत व्यवस्थापनको नतिजा खेल आयोजनामा पनि ठ्याक्कै देखियो। उद्घाटनकै दिन रंगशालामा स्वयंसेवकहरुले पहिले नै अतिथिका सिट कब्जा गरी बसेपछि बारम्बार माइकबाट उनीहरुलाई सिट छाड्न अनुरोध गर्नुपरेको थियो। नयाँ पाहुनालाई ‘गाइड’ गरिदिने मान्छेको अभावमा उनीहरु रनभुल्लमा देखिन्थे। मन्त्रीहरु सागकै खर्चमा दौरा सुरुवालमा ठाँटिएर आउँदा क्रिकेट खेलाडीहरुले भने आयोजना सकिएपछि मात्रै पोसाक पाए।

Image may contain: 3 people, including Devendra Subedi and Sanjeeb Shilpakar, people standingमन्त्रीहरु सागकै खर्चमा दौरा सुरवालमा ठाँटिदा क्रिकेट खेलाडीहरु भने ट्रयाकमै थिए। तस्बिर: स्नेहा केसी

खेलाडीका तर्फबाट सपथ ग्रहण गर्ने राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई ट्रयाकसुटमै उभ्याउँदा व्यवस्थापकीय कमजोरी छताछुल्ल भएको थियो। तर, रंगीबिरंगी लाइटसँगै मार्चपास र सातै प्रदेशका झाँकी प्रस्तुत गर्दै राखेपले उद्घाटनलाई भने भव्य बनायो।

खेलको आयोजनामा पनि धेरै कमजोरी भए। क्रिकेट, कराँतेलगायतका खेलस्थलमा को कहाँ बस्ने कुनै टुंगो थिएन। सहभागी खेलाडी, दर्शक र पत्रकारहरु एकै ठाउँमा मिसिएका थिए। दर्शकको हुटिङले खेलाडी अनि सञ्चारकर्मीलाई उत्तिकै असजिलो पाथ्र्यो। त्यो दृश्य नियाल्दै एक पाका बंगलादेशी पत्रकारले त्यहीँ नै भने, ‘मैले यसअघि पनि ४ संस्करणको साग रिपोर्टिङ गरेको छु। तर, यतिसारो अवस्थित भेन्यु कहिल्यै देखिनँ।’

सदस्यसचिवले सुटिङ संघलाई सामाग्री खरिदका लागि पर्याप्त पैसा दिएको दाबी सार्वजनिक रुपमै गरे। तर, जवाफमा सुटिङ संघका अध्यक्ष पुष्पदास प्रधानले आफूहरुले प्रतिस्पर्धा अघिसम्म कुनै पनि सामान नपाएको भन्दै सार्वजनिक रुपमै सिलवालको दाबीको खण्डन गरे।

नेपाली खेलाडीहरुले अन्य देशका खेलाडीसँग खेल सामाग्री मागेर खेल्नुपर्ने अवस्थालाई धेरैले दरिद्रताको रुपमा चित्रित गरे। प्रतिस्पर्धाको बीचमै हतियारले काम गर्न छोड्दा खेलाडीका आखाँबाट झरेको आँसुले सदस्यसचिवको जसोतसो काम चलाउने प्रवृत्तिमाथि ठूलो व्यंग्य गरेको थियो।

ट्रायथलनकी स्वर्ण विजेता सोनी गुरुङले थोत्रो साइकल चढेरै स्वर्ण जितिन्। भारोत्तोलनप्रतिस्पर्धा पार्टी प्यालेसमा गर्नुपर्यो। कति खेलहरु निर्धारित तालिकाअनुसार चल्न सकेनन्। पटकपटक फेरिने खेल तालिकाले खेलाडी तथा अफिसियललाई रनभुल्लमा पारिरह्यो।

फुटबलमा फिफाको सामान्य मान्यतालाई बेवास्ता गर्दै २४ घण्टाकै अवधिमा दुई खेल खेल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरियो। आयोजक नेपालसँगै सबै देशका प्रशिक्षकले त्यसको विरोध गरेका थिए।

पोखरा रंगशालाको टालटुले मैदानले पनि सहभागी देशहरुलाई राम्रो सन्देश दिएन। दशरथ रंगशालामा एउटै सिटको टिकट चार जनासम्मलाई बेचेको पाइयो। पाँच सय र एक हजार दरका टिकटहरु बेचेको आयोजकले पर्याप्त स्वयंसेवकसम्मको पनि व्यवस्था गर्न नसक्दा टिकट काट्नेहरुले राखेपको पैसा असुली प्रवृत्तिको विरोध गरे।

DB9A4395.jpgदशरथ रंगशालामा एउटै सिटका पनि धेरैवटा टिकट बिक्री भएको पाइएको थियो। तस्बिर: स्नेहा केसी

नेपाल एथ्लेटिक्स संघका पूर्वअध्यक्ष तथा वरिष्ठ प्रशिक्षक रघुराज वन्त व्यवस्थापनमा नेपालीहरुको पूरानै पारा भएपनि खेलाडीहरुको मेहनतले यो साग सम्झन लायक बनेको बताउँछन्।

‘व्यवस्थापनमा नेपालीहरुको पारा उस्तै हो। हामी नेपालीहरु अन्तिम समयमा जसोतसो जुगाड गर्न खप्पिस मान्छे हौँ,’ उनले भने, ‘खेलाडीहरुको मेहनत र प्रदर्शनले यो साग स्मरणीय रहनेछ।’

वरिष्ठ खेल विश्लेषक सुशीलनरसिंह राणा अन्यौलकै अवस्थामा प्रतियोगिता सम्पन्न गरेकाले आयोजकलाई केही भन्न नमिल्ने बताउँछन्।

‘एक डेढ महिना अघिसम्म पनि हुने नहुने अन्यौल थियो। त्यो अन्योललाई चिर्दै उहाँहरुले आयोजना सम्पन्न गर्नुभएको छ। कहीँकतै कमीकमजोरी रहे होलान् तर समग्रमा व्यवस्थापनलाई दोष दिनुपर्ने अवस्था छैन,’ राष्ट्रिय टिम तयारी समितिमा परामर्शदाताको भूमिकामा रहेका राणाले भने।

अब्बल प्रदर्शन
तमाम व्यवस्थापकीय कमजोरीका बाबजूद सागमा यसपटक नेपाली खेलाडीहरुको प्रदर्शन आजसम्मकै अब्बल रह्यो। खेलाडीको प्रदर्शनले व्यवस्थापकीय कमजोरीलाई छोपेपछि अन्तिम दिनसम्म आइपुग्दा सदस्यसचिव सिलवाल गमक्क थिए। प्रतिक्रिया माग्दा उनले भने, ‘सबै देशको प्रतिनिधिहरुले सेभ द मिसनको बैठकमा यस संस्करणलाई उनीहरुले भव्य भनेका छन्। म सन्तुष्ट छु। बाँकी मूल्यांकन तपाईहरु गर्नुस्।’

यसै सागमा नेपालले २० वर्षअघि आठौं सागमा जितेको सर्वाधिक ३१ स्वर्णको इतिहास तोड्यो। सिलवालले भनेजस्तै कम्तीमा ५० स्वर्ण जित्ने लक्ष्य नेपालले पूरा गर्‍यो। अन्तिममा फुटबलसँगै नेपालले ५१ स्वर्ण जित्यो।

यस संस्करणको मार्सल आर्टसले आफ्नो लय काम राख्यो। करातेका १९ विधामध्ये नेपालले १० मा स्वर्ण पदक जित्यो। जसलाई प्रशिक्षक गंगाराम महर्जन सुखद् नतिजा मान्छन्। ‘हामीले कम्तीमा ८ स्वर्णको लक्ष्य राखेका थियौं। तर, लक्ष्यभन्दा बढी स्वर्ण आउँदा करातेले लगानीको प्रतिफल दिएको छ,’ उनले भने।

  मन्डेकाजी श्रेष्ठले करातेमा दोहोरो स्वर्ण जिते

करातेमा खेल जीवनको उत्तराद्र्धमा पुगेका मन्डेकाजी श्रेष्ठले नेपालका लागि सागमा पहिलो स्वर्ण दिलाएका थिए। यस्तै उनले टिम कातामा पनि दोस्रो स्वर्ण जितेका थिए। यस्तै द्वन्द्वकालमा माओवादी सेनामा आवद्ध अनुपमा मगरले पहिलो सहभागितामै जितेको स्वर्णको निकै चर्चा भयो।

तेक्वान्दोको २९ इभेन्ट्समा नेपालले १२ मा स्वर्ण जित्यो। जसमा सबैभन्दा महत्वपूर्ण सफलता आयशा शाक्यले हात पारिन्। दुई सन्तानकी आमा आयशाले पुम्सेमा एकल र युगलमा गरी दोहोरो स्वर्ण जित्दै साग इतिहासमै सबैभन्दा सफल महिला खेलाडीमा दरिइन्। यसबाहेक ११औं सागमा पनि ग्योरोगीतर्फ उनले स्वर्ण जितेकी थिइन्।

३२ वर्षे आयशाले उमेरले क्षमतालाई छेक्न नसक्ने उदाहरण प्रस्तुत गरिन्। ‘मेरो चाहना सबैको उदाहरण बन्ने थियो। जो विवाह र बच्चा भएपछि आफ्नो सबैथोक सकिएजस्तो मानेर घरमा बसिरहनुभएको छ। मन लागेको काम गर्न इच्छा र चाहना भयो भने उमेर र शारीरिक अवस्थाले छेक्दैन भन्ने उदाहरण उहाँहरुलाई दिन सकेँ जस्तो लाग्छ,’ उनले भनिन्।

उता उसुले ५ स्वर्ण जित्यो। जसमा निमा घर्तीमगरले अघिल्लो संस्करणमा झैँ यस पटक पनि लगातार स्वर्ण जित्दै कीर्तिमान राखिन्। उनी उसुमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने खेलाडी बनिन्। अघिल्लो संस्करणमा रजतमा रोकिएका विजय सिंजाली र सुस्मिता तामाङले प्रदर्शन सुधार गर्दै स्वर्ण हात पारे। दीपक हमाल र जुनी राई जुडोका नयाँ च्याम्पियनका रुपमा उदाए।

मीनु गुरुङले २० वर्षपछि स्वर्ण दिलाउँदै नेपाली बक्सिङलाई पुर्नजीवित गरिन्। सन् १९९९ को आठौं संस्करणपछि पहिलो पटक मीनुसँगै भुपेन्द्र थापा र सुनिल शाहीले बक्सिङमा तीन स्वर्ण दिलाएका थिए। यस्तै मार्सल आर्ट्सकै अर्को विधा जुडोका लागि पनि देविका खड्का र पुनम श्रेष्ठले नेपालका लागि स्वर्ण थपे।

नयाँ खेलको उदय
यस सागको सबैभन्दा राम्रो पक्ष नयाँ खेलमा नेपाली खेलाडीहरुको प्रदर्शनलाई मान्न सकिन्छ। लामो समयदेखि राखेपले ठूला खेल मेलामा संख्यात्मकभन्दा पदक आउने सम्भावना भएका खेललाई प्राथमिकता दिने बताउँदै आएको थियो। यसपटक त्यही देखियो। अन्तिम पटक ८ स्वर्णको अपेक्षा गरिएको प्याराग्लाइडिङमा टिम नपुगेर नहुने भएपनि नयाँ खेलहरुले नेपाललाई निराश पारेनन्।

गल्फमा सुवास तामाङ दोहोरो स्वर्ण जित्दै उदाए। एक समय बल ब्वाइ रहेका सुवासले एकल र टिम इभेन्ट्समा करिअरकै उच्च सफलता हात पारे। साइक्लिङ खेलाडीहरुले चार स्वर्ण जित्दै घरेलु माटोको खुबै सदुपयोग गरे। कुस्तीमा सामान्य परिवारकी संगीता धामीले भारतीय खेलाडीलाई पाखा लगाउँदै स्वर्ण जित्दा सबैका आँखा रसाए। उनको पदकले जनकपुरलाई स्वर्णपदकविहीन हुनबाट जोगायो।

Image may contain: 1 person, smiling, closeupसुवासले गल्फमा दोहोरो स्वर्ण जिते

नयाँ खेलको उदयलाई वरिष्ठ खेल विश्लेषक राणा स्वभाविक रुपमा लिन्छन। ‘नयाँ खेल भएपनि खेलाडीहरु पुरानै हुन्। उनीहरुलाई ४–५ महिना अरुसँगै प्रशिक्षणमा पनि राखिएको छ। यसले पदकका सम्भावना बोकेका खेलहरुलाई राष्ट्रले महत्व दिनुपर्ने सन्देश पनि दिएको छ,’ उनले भने।

एथ्लेटिक्सले फर्कायो छवि
साग इतिहासमै नेपाली एथलेटिक्सले यसपाली ३ स्वर्ण, १ रजत र ४ कास्य पदक जित्यो। जुन एउटै संस्करणमा हालसम्मकै ठूलो सफलता हो। १० हजार मिटरमा सन्तोषी श्रेष्ठले १० मिलिसेकेन्डले भारतीय खेलाडीलाई उछिनेर स्वर्ण जितिन्। पौडीकी गौरिका सिंह पछि उनको सफलतालाई जारी सागमा सबैभन्दा ठूलो सफलता मानिएको छ। एथ्लेटिक्सको अन्तर्राष्ट्रिय स्पर्धामा स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी समेत बनिन्।

यस्तै किरण बोगटीले २४ वर्षपछि नेपाललाई म्याराथनमा स्वर्ण दिलाए। एक समय बैकुण्ठ मानन्धरले लगातार म्याराथनमा तीन स्वर्ण जितेका थिए। पछिल्लो समय टीका बोगटीले १९९५ मा स्वर्ण जितेपछि नेपाली म्याराथन सुस्ताएको थियो। किरणले यसपाली नेपाली म्याराथनमा नयाँ जोश भरिदिएका छन्। गोपीचन्द्र पार्कीले मध्यम दूरी ५ हजार मिटरमा आफूलाई अब्बल दर्‍याए। उनले २००६ मा डोपिङको आरोपमा राजेन्द्र भण्डारीको यही विधामा खोसिएको स्वर्ण देशलाई फिर्ता दिलाए।

Image may contain: Santoshi Shrestha, smiling, standingसन्तोषी श्रेष्ठ नेपालबाट एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन्

एथ्लेटिक्स प्रशिक्षक वन्त एथ्लेटिक्स खेलाडीले ल्याएको नतिजालाई एकदमै राम्रो भन्दै प्रशंसा गर्छन्। ‘आफ्नै बनाएको ट्रयाक(दशरथ रंगशाला)मा पनि दौडन नपाएको अवस्थामा खेलाडीहरु र प्रशिक्षकहरुले जस्तो नतिजा दिनुभएको छ, त्यसलाई म उत्कृष्ट मान्छु। मैले रेटिङ गर्ने हो भने ५ मा ४.५ दिन्छु,’ स्वर्ण विजेता सन्तोषीका समेत प्रशिक्षक रहेका वन्तले भने।

छाइन् गौरिका
जारी सागमा सबैभन्दा सफल खेलाडी गौरिका सिंह रहिन्। उनी एकै संस्करणमा चार स्वर्ण जित्ने नेपालकी एक्ली खेलाडी बनिन्। उनले सागमा चार स्वर्ण जित्ने यसअघिका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिन्।

गौरिकाले १०० मिटर महिला फ्रिस्टाइल, ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर रिलेमा स्वर्ण जितिन्। त्योसँगै सागमा ९ पदक जितेकी गौरिकाले २०१६ मा भारतमा भएको अघिल्लो संस्करणमा समेत ४ पदक जितेकी थिइन्। जसमा १ रजत र ३ कास्य समावेश थिए। सागको ३५ वर्षे इतिहासमा गौरिका पौडीको व्यक्तिगत स्वर्ण जित्ने नेपालकी पहिलो खेलाडी पनि हुन्।

Image may contain: 1 person, smiling, drinkगौरिकाले सागमा कीर्तिमानी चार स्वर्ण पदक जितिन्

गौरिकाको स्मरणीय प्रदर्शनको प्रभावमा यो सागमा समग्रमा पौडीले समान ४–४ स्वर्ण, रजत र कास्य जित्यो। जुन यस खेलमा अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। त्यसबाहेक पहिलोपल्ट नेपाली पौडी खेलाडी वातानुकुलित पौडी पोखरीमा पौडिन पाए।

पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य अब पौडीले गति लिने र दुईतीन वर्षभित्र यसक्षेत्रमा भारतपछिको दोस्रो पावर हाउस बन्ने लक्ष्य सुनाउँछन्।

‘यसपटक ऐतिहासिक प्रदर्शन भयो। हामीले २५–३० वर्षदेखि भन्दै आएको हिटिङ सिस्टमयुक्त पौडी पोखरी पनि पायौं। यसअघि चिसो मौसममा अभ्यास गर्न सकिदैँनथ्यो। अब बाह्रै महिना खेलाडीले अभ्यास गर्न पाउँछन। यसले नेपालको पौडीलाई गति दिनेछ। हामी दुई तीनवर्षमा भारतपछिको पावर हाउस हुनेछौँ,’ बज्राचार्यले भने।

ऐतिहासिक प्रदर्शनपछि गौरिकाको मुखबाट निस्केको एक वाक्यले सबैको मन छोयो। पौडीको अन्तर्राष्ट्रिय स्पर्धामा एकलतर्फ पहिलो उपाधि उचालेपछि उनले भनिन्, ‘धेरैले मलाई नेपाली हैन भन्छन्। तर म त नेपाली हो। यो पदक नेपालका लागि हो।’

गौरिका जस्तै विदेशमा बस्ने क्षमतावान् नेपाली खेलाडीहरुले पनि नेपालको नाम उँचो बनाउने वातावरण तयार गर्न आवश्यक रहेको सन्देश उनले दिएकी थिइन्।

महिला भलिबलको सनसनी
सधैँ कास्यमा खुम्चिँदै आएको नेपाली महिला भलिबल यसपटक महत्वाकांक्षी स्वर्ण लक्ष्यसहित सागमा होमिएको थियो। लक्ष्य प्राप्तिको अन्तिम क्षणमा पुगेर भलिबल टोली भारतीय अनुभवको छायाँमा पर्‍यो। समूह चरणमा भारतसँग सोझो सेटमा पराजित भएपनि फाइनलमा भने नेपाली महिला खेलाडीले पाँचौं सेटसम्म कडा टक्कर दिए।

तर, अन्तिम सेटको दबाब कसरी झेल्ने भन्ने अवस्थालाई अनुभवी भारतीय खेलाडीले राम्रोसँग सम्हाले। नेपाली पक्षले त्यहीँ माथ खायो र ऐतिहासिक रजत पदकमा चित्त बुझाउनु पर्‍यो।

Image may contain: 5 people, including Hemanta Shrestha, people playing sportsमहिला भलिबलले पहिलो पटक रजत पदक जित्यो

सागका लागि पहिलो पटक महिला खेलाडीले थाइल्यान्डमा तीनहप्ताको वैदेशिक प्रशिक्षकसँग प्रशिक्षण लिएका थिए। त्यसपछि बंगलादेशमा तुलनात्मक रुपमा आफूभन्दा कमजोर टोलीसँग एभीसी सेन्ट्रल जोन खेल्दै नेपाली भलिबललाई पहिलो उपाधि दिलाएका उनीहरुलाई अझै ‘म्याच एक्सपोजर’ चाहिने प्रशिक्षक जगदीश भट्ट बताउँछन्।

‘खेलाडीहरुले कम ‘म्याच एक्सपोजर’का बाबजूद क्षमता देखाइसकेका छन। अब उनीहरुलाई ठूला खेलको अनुभव र दबाबमा कसरी खेल सम्हाल्ने भन्ने सिकाउनु जरुरी छ,’ प्रशिक्षक भट्टले भने।

भारोत्तोलनमा हालसम्मै उत्कृष्ट
नेपालले भारोत्तोलनमा हालसम्मकै उत्कृष्ट नतिजा पस्कियो। नेपालले कुल २० खेलमध्ये सहभागी १६ वटै खेलमा पदक जित्यो। पोखरामा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्यसहित कुल १६ पदक जित्यो।

नेपालका तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी)ले स्वर्ण जिते। सञ्जु भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। यसअघि सागको इतिहासमा कमलबहादुर अधिकारीको नाममा एउटा मात्र स्वर्ण थियो।

Image may contain: 1 person, smiling, standing, eating and indoorभारोत्तोलनमा सञ्जु चौधरी पहिलो स्वर्ण जित्ने नेपाली महिला खेलाडी बनिन्

‘हाम्रा खेलाडीलाई तयारीका लागि पर्याप्त खुराक पनि थिएन,’ भारोत्तोलन संघका अध्यक्ष तिलकबहादुर रावलले भने, ‘आफ्नै तयारीमा पनि भारतलगायतका देशलाई पछि पार्दै स्वर्ण जित्नु चानचुने कुरो होइन। यसले नेपाली भारात्तोलनलाई उर्जा थपेको छ।’ 

सागको समाप्तिसँगै नेपाली भारोत्तोलनका सर्वाधिक सफल खेलाडी कमलबहादुर अधिकारीले पनि खेल जीवनबाट सन्न्यास लिए। चारपटक साग र एसियाडमा सहभागिता जनाएका कमल यसपटक भने राष्ट्रिय कीर्तिमानसहित कास्यमै सीमित रहे।

स्वर्ण नजिते पनि कमल सागको प्रदर्शनबाट असन्तुष्ट देखिएनन्। ‘मैले सक्दो प्रयास गरेको हुँ। स्वर्ण जित्न सकिनँ तर राष्ट्रिय कीर्तिमानसहित कास्य जित्न पाउँदा सन्तुष्ट छु।’

महिला खेलाडीको दबदबा

Image may contain: 1 person, outdoor and natureसावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनिन्

नेपालले जितेका ५१ मध्ये २९ स्वर्ण महिला खेलाडीका नाममा रह्यो। त्यसमध्ये गौरिकाले सर्वाधिक ४ र आयशा शाक्यका नाममा २ स्वर्ण रह्यो। अनु अधिकारीले विपक्षी खेलाडीलाई एक अंक जोड्न नदिइकनै उत्कृष्ट खेल पस्किइन्।

महिला फुटबल टोली भारतसँग फाइनलमा रोकिँदै रजतमा खुम्चिएपनि स्टार फरवार्ड सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक (३८) गोलकर्ताको कीर्तिमान रचिन्। सन्तोषी श्रेष्ठ नेपालका लागि एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिला धाविका बनिन।

अञ्जली चन्दले टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा राम्रो बलिङ प्रदर्शन गर्दै विश्व कीर्तिमान राखिन्। अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा कुनै रन नदिई ६ विकेट लिएकी थिइन। यस्तै सञ्जु चौधरी भारोत्तोलनमा नेपालका लागि पहिलो स्वर्ण दिलाउने खेलाडी बनिन्। मार्सल आर्टसका खेलमा समेत महिला खेलाडीहरु हावी रहे।

मंसिर २४, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .