ad ad

खेल


नयाँ सिजनको पहिलो जितको खोजीमा लिभरपुल र युनाइटेड

नयाँ सिजनको पहिलो जितको खोजीमा लिभरपुल र युनाइटेड

नेपालखबर
भदौ ६, २०७९ सोमबार १९:२४, काठमाडौँ

इङ्ग्लिस प्रिमियर लिगमा सोमबार राति दुई ठूला क्लब आमनेसामने हुँदैछन्। 

लिगको नयाँ सिजनको तेश्रो चरणमै लिभरपुल र म्यानचेस्टर युनाइटेड भिड्न लागेका हुन्। 

सोमबार राति दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। यसअघिका दुवै खेलमा उनीहरु जितबिहीन छन्। 

लिभरपुलले दुवै खेल बराबरी खेलेको छ भने युनाइटेड दुवै खेलमा पराजित भएको छ। 

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसमेत रहेको युनाइटेड पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको थियो। 

दोश्रो खेलमा ब्रेन्टफोर्डसँग ४–० को फराकिलो हार ब्यहोर्‍यो। 

मोहमद सलाह सम्मिलित लिभरपुल पहिलो खेलमा फुलह्यामसँग २–२ र दोश्रो खेलमा क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको थियो। 

दुवै टोली जारी सिजन संकटमा देखिएका छन्। लिभरपुललाई खेलाडीको चोटले सताएको छ। 

युनाइटेडको पुरानो संकट नयाँ सिजनमा पनि यथावत छ। आवद्ध खेलाडी पनि क्लब छाड्न चाहिरहेका छन्। युनाइटेडले चाहेका खेलाडी पनि आउन चाहिरहेका छैनन्। 

युनाइटेडले केही दिनअघि मात्रै रियल मड्रिडका स्टार मिडफिल्डर क्यासिमिरो भित्र्याएको छ। 

तर सोमबारको खेलमा उनी उपलब्ध हुने छैनन्। क्लबसँग उनको प्रक्रिया नै पूरा भइसकेको छैन। यस्तै रोनाल्डो पनि क्लबमा असन्तुष्ट छन्।

उनले क्लब छाड्न चाहिरहेका छन् तर आफूले खोजेजस्तो क्लब पाएका छैनन्। 

रोनाल्डोको क्लबसँगको सम्बन्ध पनि तनावपूर्ण छ। सुरुमा उनलाई क्लबमै रोक्न लागेको युनाइटेडले पछिल्लो समय जान दिने संकेत गरेको छ। 

नयाँ प्रशिक्षक एरिक टेन ह्यागसँग पनि उनको सुरुमै सम्बन्ध बिग्रिएको छ। खराब सम्बन्धकै कारण प्रशिक्षकले उनलाई पहिलो खेलमा बेन्चमा राखिदिए। 

दोस्रो खेलमा सुरुमै मैदान प्रवेश गरे पनि उनले गोल गर्न सकेका छैनन्। 

केही वर्षयता खराब नतिजाका कारण युनाइटेडले निरन्तर प्रशिक्षक परिवर्तन गरिरहेको छ।

 

तर नतिजामा सुधार आउन सकेको छैन। गत सिजन च्याम्पियन्स लिगमै छनौट नभएको युनाइटेडले यो सिजन पनि ६ अंक गुमाइसकेको छ। 

गत सिजन लिभरपुल युनाइटेडमाथि हाबी भएको थियो। लिभरपुलले डेफिटमा ५–० र एनफिल्डमा ४–० को प्रभावशाली जित दर्ता गरेको थियो। 

तर लिभरपुलले आफ्ना स्टार साडियो मानेलाई बायर्न म्युनिखमा बेचिसकेको छ। 

भित्र्याएका नयाँ स्ट्राइकर डर्विन नुनेज पनि सोमबार उपलब्ध हुने छैनन्। 

उनले यसअघिको खेलमा उनले रातो कार्ड पाएका थिए। घाइते भएका थिएगो अल्कान्ट्रो पनि अझै केही साता मैदान फर्किने छैनन्। 

उपाधिको बलियो दाबेदार लिभरपुल पनि संकटबीच पहिलो जितको खोजीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .