उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले पवित्र मानिने पेक्तु पर्वतको भ्रमण गरेका छन्। पत्नी र सहयोगीसहित सेतो घोडामा चढेर उनले सो पर्वत पुगेका हुन्।

२ हजार सात सय ४४ मिटर उचाइमा रहेको सो पर्वतमा दुई महिनाको अवधिमा किम दोस्रो चोटी पुगेका हुन्।

कोरियाली प्रायद्वीपकै सबैभन्दा उच्च पर्वतलाई कोरियालीहरु पवित्र मान्छन्। यसअघि पनि कुनै ठूलो निर्णय लिनुअघि किमले सो पर्वतको भ्रमण गर्ने गरेका थिए।

‘हामीले सँधै पेक्तुको आक्रमक भावनालाई अनुसरण गर्दै बाँच्नुपर्छ, काम गर्नुपर्छ,’ किमको भनाइ कोरियन सेन्ट्रल न्युज एजेन्सीले उधृत गरेको छ, ‘साम्राज्यवादी र वर्गशत्रुहरु हाम्रो पार्टीको वैचारिक, क्रान्तिकारी र वर्गीय स्थानलाई दुर्बल बनाउने कोसिसमा छन्।’

पछिल्लो समय उत्तर कोरिया–अमेरिकाबीचको आणविक वार्तामा गाँठो फुक्न सकेको छैन। आफूमाथि लगाइएको प्रतिबन्ध र नाकाबन्दी फुकुवा हुनुपर्ने उत्तर कोरियाको माग छ।

तर, अमेरिकाले पहिले आणविक निशस्त्रीकरणलाई जोड दिएको छ। यसै विषयमा वार्ता गर्न किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक शिखर वार्ता गरिसकेका छन्। एजेन्सी

प्रतिक्रिया