ad ad

खेल


इतिहास रच्ने तयारीमा सावित्रा

इतिहास रच्ने तयारीमा सावित्रा

लक्ष्मी जि.सी
मंसिर १६, २०७६ सोमबार २३:११,

पोखरा रंगशालामा मंगलबार साग फुटबल अन्तर्गत नेपाली महिला टोलीले श्रीलंकाको सामना गर्दा धेरैको ध्यान नेपाली टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी, साम्बाले खिच्नेछिन।

सावित्राले देशका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमान कायम गर्दै इतिहास रच्ने संघारमा छिन। सावित्राको हालको गोलसंख्या पुर्व कप्तान अनु लामाले राखेको ३५ गोलको सर्वाधिक गोलको कीर्तिमानको बराबरीमा छ। श्रीलंकाविरुद्धको एक गोलले मात्रै उनलाई नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पुर्याउनेछ।

सावित्रा भने आफूले सर्वाधिक गोलको कीर्तिमान राख्नुमात्रै लक्ष्य नभएको बताउँछिन। ‘आफ्नो लक्ष्य अझै टाढा भएको उनले बताइन्। मैले अनु लामा दिदीको कीर्तिमान बराबरी गरिसकेँ। अब एक गोलले मात्रै त्यो कीर्तिमान भंग हुन्छ, उक्त कीर्तिमान तोड्नेमा ढुक्क देखिएकी सावित्राले भनिन्, ‘त्यो कीर्तिमान भंग गर्नुमात्रै मेरो लक्ष्य हैन। मेरो लक्ष्य अझै लामो छ। देशका लागि उपाधि जिताउँनु मेरो लक्ष्य हुनेछ।’

गत भदौं(२०७६)अन्तिम साता नेपाली राष्ट्रिय महिला फुटबल टोली कीर्गिस्तानमा भएको नादेझ्दा कप खेलेको थियो। फाइनलमा उज्वेकिस्तानविरुद्ध ३–२ ले रोकिएपछि २०१९ मा मात्रै नेपाल तेस्रो पटक उपाधि जित्नबाट चुक्यो।

यसअघि नेपाली टोली विराटनगरमा भएको साफ च्याम्पियनसिप (मार्च) मा भारत र भुवनेश्वरमा भएको हिरो गोल्डकप (फेब्रुअरी)मा म्यानमारविरुद्ध भएको फाइनलमा पराजित भएको थियो। सन् १९८६ को एसियन कपमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको नेपाली महिला फुटबलले त्यसयता नादेझ्दा कपसम्म आइपुग्दा आठपल्ट फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन।

नेपाली टोलीकी स्टार स्ट्राइकर सावित्रालाई आफ्नो कीर्तिमान भन्दा पनि नेपाललाई उपाधि दिलाउन नसककेको कुरा बढि खड्किरहेको छ। यही सागमा देशलाई च्याम्पियन बनाउने अबको उनको मुख्य लक्ष्य हो।

सावित्राले नेपालखबरसँग भनिन्, ‘म जहिलेपनि पाएका अवसरहरु सदुपयोग गर्दैटिमलाई जिताउँने प्रयासमा हुन्छु। यसपटक टिमलाई जिताउँन सकुँ भन्ने ब्यग्र इच्छा छ। त्यसो गर्न सकिन भने मेरो कीर्तिमानको खासै अर्थ राख्दैन।’

साफको बदला सागमा


गत फागुनमा विराटनगरमा भएको पाँचौं दक्षिण एसियाली महिला फुटबल(साफ) च्याम्पिनयसिपको उपाधि जित्ने अवसरका बाबजुद नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। त्यसको बदला १३ औं सागमा लिने योजना नेपाली टोली र सावित्राको छ।

यो पनि:गुरुको स्वर्ण इतिहास दोहोर्‍याउने चेला

‘यसपटकको हाम्रो लक्ष्य भारतलाई हराउदै च्याम्पियन बन्ने हो। बारम्बार यसक्षेत्रमा हाम्रो एउटै प्रतिद्धन्दी छ। यसपटक घरेलु मैदानमा नै भारतलाई हराउने मौका खेर जाने दिने छैनौ। नेपाललाई घरेलु मैदानमा स्वर्ण पदक दिलाउन पाए एउटा सपना पुरा हुने थियो,’ सावित्राले भनिन्।

मोजाको बल खेल्दै उठेको फुटबल जिन्दगी
लमजुङको पामचोक गाउँमा चार दिदीबहिनी र दुई दाजुभाईको परिवारमा हुर्किएकी सावित्रा सानैदेखि साथीभाईसँग मोजाको बल खेल्थिन्। बारीमा सधैं खाली खुट्टाले मोजाको बल हान्थिन्। बुबा स्वास्थ्य चौकीको कर्मचारी थिए। बुबाको कमाईले घरपरिवार धान्न ठिक्क थियो। सावित्रालाई फुटबल किन्न मन लाग्थ्यो तर पारिवारक स्थिति बुझेकी उनी जिद्दि गर्दिनथिन्।

घरमाथि उनी पढ्ने सरस्वती निम्न माध्यामिक विद्यालय थियो। स्कुलको चौरमा स्थानीय दाईहरु फुटबल खेल्थे। सुरुमा सावित्रा कान्लामा बसेर उनीहरुले खेलेको हेरेर बस्थिन्।

सावित्रालाई चौरमा खेलिरहेको बल कहिले तल गह्रामा झर्ला र हानौंला भन्ने प्रतिक्षा हुन्थ्यो। बल जब चौरबाट खसेर गह्रामा जान्थ्यो त्यसबेला कुदेर बल समात्दै एक लात हानेर पुनः दाईहरुकोमा नै पुर्याउँथिन्। साच्चीकै बल छुन पाउँदा सावित्रालाई औधी आनन्द आउँथ्यो।

गाउँबाट युवाहरु बैदेशिक रोजगारका र अध्ययनका लागि विदेश तथा काठमाडौं पलायन हुन्थे। फूटबलका लागि केटाहरुको टिम नपुग्ने हुन्थ्यो र उनीहरुले सावित्रालाई खेल्न बोलाउन थाले। स्थानीय दाईहरुसँग सुरुमा सावित्राले खाली खुट्टामै बल हानिन्।

‘गाउँमा महिला फुटबल हुन्थेन। केटाहरुको टिम नपुग्दा मात्रै खेल्न पाइन्थ्यो,’ सावित्राले विगत स्मरण गर्दै भनिन्, ‘म पहिलैदेखि बलियो थिएँ। सितिमिती दाईहरुले पनि लडाउँन सक्दैन थिए। पाएको बेला गोल पनि हान्दिथे। विस्तारै दाईहरुसँग घुलमिल हुन थालेँ र उनीहरुसँगै स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेँ।’

शुक्र लामाको नजरमा परेपछि
२०७० साल दशैँमा लमजुङको घले गाउँमा भएको स्थानीय प्रतियोगिताको दौरान एन्फा रेफ्री शुक्र लामाको नजरमा परेपछि भने सावित्राको फुटबल जिन्दगीले नयाँ मोड लियो।

दशैँमा गाउँ गएका शुक्रले सावित्रालाई पहिलोपटक उक्त प्रतियोगितामा देखेपछि उनको खेलबाट प्रभावित हुदैँ भने, ‘यहाँ मात्रै खेलेर हुँदैन। तिम्रो गेम राम्रो छ। म काठमाडौं गएर कुराकानी गर्छु। एता मिल्यो भने बोलाउँछु, खेल्न आउँछौ?’

सावित्रालाई फुटबलको लत छदैँ थियो। त्यसमाथि काठमाडौंमै राम्रो फुटबल खेल्न पाउँने भए किन नाई भन्थिन्। उनले ‘हुन्छ’ भनिन्।

शुक्रले सावित्राबारे सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा कुरा गरेपछि २०७१ साल असारतिर उनलाई काठमाडौं बोलाए। शुरुमा एपीएफले दुई महिना उनको ट्रायल लिने भयो।

‘काठमाडौंमा शुरुका दिनहरु कष्टकर थिए। म आफन्तकोमा बनस्थलीमा बस्थेँ,’ संघर्षका दिन सम्झदै उनले भनिन्, ‘ट्रायलका लागि एपीएफ मैदान हल्चोक जानुपथ्र्यो। पैसा हुदैँन थियो। एक्लो कमाईले सुयुंक्त परिवार पालिरहनु भएकाले बुबासँग माग्ने अवस्था थिएन। म गाडी नचढेरै बनस्थलीबाट हल्चोक जान्थे। त्यसबाट बचेको पैसाले डाइट खान्थे।’

डेब्यू गरेको दुई मिनेटमै गोल
दुई महिनाको ट्रायलपछि सावित्रासँग एपीएफले मासिक पाँच हजार करारमा सम्झौता गर्यो। त्यहीबाट सावित्राको व्यवसायिक फुटबल यात्रा शुरु भयो।

एपीएफबाट घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै गएपछि सन् २०१४ को साफ महिला च्याम्पियनको बन्द प्रशिक्षणमा पहिलो पटक उनी परिन्। बन्द प्रशिक्षण हुदैँ उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाइन्।

पाकिस्तानमा भएकोे तेस्रो साफ महिला च्याम्पियन्ससिपको समूह चरणमा भुटानविरुद्ध ८६ औं मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेकी उनले त्यसको दुई मिनेटमै पहिलो डेब्यू गोल गरिन्। त्यसपछि भने उनले कहिल्यै पछि फर्केर हेनुपरेको छैन्।

यो पनि:  उपाधिको व्यग्र प्रतीक्षा

सन् २०१६ मा भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदबाट उनी पहिलो रोजाईकी फरवार्ड बनेकी हुन्। त्यहीवर्ष भारतमै भएको चौथो साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्ने क्रममा उनले डबल ह्याट्रिक गरेकी थिईन् । यस्तै माल्दिभ्सविरुद्ध ९–० को जित हात पार्ने क्रममा उनले ५ गोल गरेपछि उनलाई गोलमेसिन नाम दिईयो।

सावित्राको लक्ष्य आफू सक्रिय फुटबल खेलिरहँदा नेपाललाई जसरी पनि साफ च्याम्पियन बनाउने सपना छ। अरू देशहरूलाइ पराजित गरे पनि भारतीय टोलीलाइ नेपालले जित्न सकेको छैन। साफ महिला फुटबलको पाँचमध्ये चार उपाधि भारतले फाइनलमा नेपालबाट नै खोसेको थियो।

पछिल्लोपटक गत फागुनमा हिरो गोल्डकपमा भारतलाई पहिलोपटक नेपालले २–१ ले हराउँदा सावित्राले दुवै गोल गरेकी थिइन्। उनी भन्छिन्, ‘हामीले पाएका अवसरहरु सदूपयोग गर्दै उत्कृष्ट खेल्यौं भने भारतमात्रै हैन जस्तोसुकै टिमलाई हराएर पनि नेपाललाई उपाधि दिलाउन सक्छौं। मेरो व्यक्तिगत लक्ष्य पनि उत्कृष्ट टिमलाई हराउँदै नेपाललाई ऐतिहासिक उपाधि दिलाउनेछ।’

डेब्यूयता सावित्राले गरेका गोलहरु
१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४: १ गोल
२) साग २०१६ : २ गोल
३) साफ च्याम्पियनसिप २०१६ : १२ गोल
४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल
५) हिरो गोल्डकप २०१९ : ४ गोल
६) साफ च्याम्पियनसिप २०१९ : ४ गोल
७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल
८) नादेझ्दा कप २०१९ : ७ गोल
९) मैत्रीपूर्ण खेल : २ गोल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .