गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री रामजी प्रसाद बरालले संसदमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई पोखरा रंगशाला, विभिन्न कभर्डहल र प्रदेश राजधानी पोखरामा राष्ट्रिय तथा प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने गरी नेपाल सरकारसँगको साझेदारीमा पोखरा रंगशालाको स्तरोन्नति गरिने व्यवस्था मिलाएको बताए।
मन्त्री पौडेलले बजेट भाषणमा प्रदेशभित्रको खेल मैदानको निर्माण, मर्मत तथा स्तरोन्नति गर्न आवश्यक बजेट, एक स्थानीय तह एक खेल मैदान निर्माणकार्यलाई निरन्तरता दिएको बताए।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको प्रभावकारी सहभागिताका लागि आवश्यक बजेट छुट्याइएको छ। राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीका लागि प्रोत्साहनस्वरुप नगद पुरस्कारको व्यवस्था गरेको, राष्ट्रिय तथा प्रादेशिक खेलकुदमा भाग लिने खेलाडीको बीमा गरिने तथा प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना र सहभागी हुन आवश्यक बजेट छुट्याएको मन्त्री बरालले जानकारी दिए।
साहसिक खेलको प्रवर्द्धन र प्रतियोगिताको आयोजना गर्दै खेल पर्यटनको प्रवर्द्धन गर्न आवश्यक बजेट छुट्याएको मन्त्री बरालले बताए।
Shares
प्रतिक्रिया