ad ad

खेल


तेह्रौँ सागको तयारी अन्तिम चरणमा

तेह्रौँ सागको तयारी अन्तिम चरणमा

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १७:५५,

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए ।

सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा बाँकी रहेको काम शुक्रबारसम्म सकिनेमा ढुक्क रहन आग्रह पनि गरे।' म तपाईँहरुलाई विश्वास दिलाउन चाहन्छु, शुक्रबार रातिसम्ममा दशरथ रंगशाला तयार हुनेछ । अब रङ्गशाला परिसर र खेल स्थलका सरसफाइको काम मात्र निरन्तर चल्नेछ' सदस्य–सचिव सिलवालले भने ।

सदस्यसचिव सिलवालले पोखरा रङगशालाको दर्शक क्षमता पहिले १० हजारको मात्र गर्ने भनिएकोमा अब १३ हजारमा वृद्धि भएको जानकारी दिए। 'पोखरा रङगशालाको मैदान पनि पूर्ण रुपमा तयार छ । ट्रयाक एन्ड फिल्डको काम पनि सकिसकेको छ । जहाँ खेलाडीहरुले अभ्यास पनि सुरु गरिसके' उनले भने।

काठमाडाैं, पोखरा र जनकपुरमा मङ्सिर १५ देखि २४ गतेसम्म हुने उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार दशरथ रङ्गशालामा एक विशेष समारोहबीच उद्घाटन गर्नेछिन।

नेपालको इज्जत, प्रतिष्ठा र खेलक्षेत्रको गौरवमाथि उठाउने हिसाबले प्रतियोगितालाई ऐतिहासिक, भव्य र सभ्य तुल्याउन कुनै कसर बाँकी नराख्ने युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए।

करीब सवा तीन घण्टाको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । उद्घाटन समारोहमा १५ हजार भन्दा बढी दर्शकको सहभागिता रहनेछ ।

प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, पाकिस्तान, माल्द्भ्सि, भूटान, श्रीलङ्काका करीब पाँच हजार सङ्ख्यामा खेलाडी, प्रशिक्षक र अफिसियल कर्मचारी आउने क्रम शुरु भइसकेको छ । उनीहरुको बसोवासका लागि राजधानीमा मात्रै सय को सङ्ख्यामा होटल बुकिङ भइसकेको तयारी समितिका संयोजक रिमबहादुर रानाभाटले जानकारी दिए ।

सागलाई सफल तुल्याउन करीब २० हजार सुरक्षाकर्मी खट्नेछन् भने ५०० स्वयंसेवकलाई प्रशिक्षण दिइसकेको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ । मन्त्री विश्वकर्माले भने, “साग खेलकूद प्रतियोगिता हाम्रा लागि आफैमा महत्वपूर्ण उत्साहको पर्व हो, प्रतियोगितालाई भव्यरुपमा सफल तुल्याउन सबैको साथ सहयोगका लागि अपिल गर्दछौ ।”

प्रतियोगिता भव्यरुपमा आयोजना गर्न दशरथ रङ्गशलाको पुन ः निर्माण काम पूरा भएको छ । पोखराको रङ्गशालाको काम पनि अन्तिमरुपमा पुगेको छ । प्रतियोगितामा समावेश २६ खेलमध्ये महिला फुटवल, ब्याड्मिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, हैण्डबल पोखरामा हुने छ । ऐतिहासिक नगरी जनकपुरमा भने कुस्ती हुने छ । नेपालले प्रतियोगितामा भाग लिने १९ विधाका खेलाडीलाई विदेशमा प्रशिक्षणमा पठाएको थियो भने सात खेल विधाका प्रशिक्षकलाई नेपालमा बोलाएर खेलाडीलाई प्रशिक्षित तुल्याइएको परिषद्का सदस्य सचिव रमेश सिलवालले बताए ।

देशभर साग सम्बन्धी प्रतियोगिताको प्रचारप्रसार र खेलकूदको माहोल बनाउने क्रममा मुलुकका सातै प्रदेशमा यसअघि नै १३आँै सागको ओलम्पिक टर्च पु¥याइसकिएको छ । कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धर, दीपक विष्ट, राजेन्द्र भण्डारी, सीता राई, सङ्गीना वैद्य, नयना शाक्य, जीतबहादुर केसी, सविता राजभण्डारी, विधान लामालगायतका खेलाडीले खेलकूदको माध्यमबाट नेपाल र नेपालीको प्रतिष्ठा र गौरव बढाउन महत्वपूर्ण योगदान दिएका छन् ।

प्रतियोगिता अन्तर्गत भलिबल प्रतियोगिता भने बुधबारबाट शुरुआत भइसकेको छ । यस प्रतियोगितामा सातै देशका खेलाडीले भाग लिएको एउटै विधा भनेको ब्याड्मिन्टन हो । सरकारले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने खेलाडीलाई प्रदान गर्दै आएको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गर्ने यसअघि नै घोषणा गरिसकेको छ । १३आँै सागका लागि ३१७ स्वर्ण पदक, सोही सङ्ख्यामा रजत सोही सङ्ख्यामा रजत र ४८१ वटा कास्य पदक कायम गरिएको छ । प्रतियोगिता अन्तर्गत सबैभन्दा बढी प्रतिस्पर्धा पौडी विधामा ३८ वटा स्वर्ण पदक प्रदान गरिने छ ।

प्रतियोगितामा ५९४ खेलाडीसहित ७८० जनाको नेपाली टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुने छ । दक्षिण एशियाली मुलुकसहित विश्वका १५ भन्दाबढी मुलुकबाट प्रत्यक्ष प्रसारण हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।

सरकारले सन् २०२० का लागि घोषणा गरेको नेपाल भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यो पटकको सागको तयारी गरेको छ । दक्षिण एशियाली मुलुकबाट प्रतियोगितामा भाग लिन आउने खेलाडी, प्रशिक्षक, दर्शक, अफिसियललगायतका पाहुनाको स्वागत गर्ने क्रममा नेपालको रहनसहन, वेषभूषासहित साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छ । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेषभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्मा बताउँछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .