नेपालका निर्मल लम्सालले शनिबार मलेसियामा आयोजित स्कोर म्याराथन पूरा गरेका छन्। यो म्याराथन ठूलो एवं प्रतिष्ठितरूपमा चिनिन्छ।
नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दूरी पूरा गरेका हुन्।
फिनिसिङ लाइन पुग्नु तीन किलोमिटर पहिले स्वास्थ्य अचानक बिग्रिएपछि दौड पुरा गर्नतर्फमात्र केन्द्रित भएको निर्मलले बताए।
वर्ल्ड एथ्लेटिक्सको रोड रेस लेबल मान्यताप्राप्त म्याराथनमा दौड्ने अवसर पाउनु आफ्ना लागि ठूलो उपलब्धि बताउँदै उनी बताउँछन्।
मलेसियाको राजधानी क्वालालम्पुरदेखि नजिकै पुत्रजयामा भएको स्कोर म्याराथनमा करिब ६० हजार जनाले भाग लिएका थिए। यस्तै पाँच किलोमिटरमा नेपालगन्जका गगन थापा र सुरोज थापाले दौडिएर दूरी पूरा गर्दै अनुभव बटुलेका थिए।
मलेसियाको स्कोर म्याराथन र नेपालको धारा नेपालगन्ज म्याराथनबीच भगिनी सम्बन्ध रहेको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए।
धारा नेपालगन्ज म्याराथन भर्खरै नर्वेको ट्रम्सोमा वर्ल्ड रनिङको एम्स सोसल अवार्डबाट पुरस्कृत भएको छ।

प्रतिक्रिया