ad ad

खेल


कुशलको शतकमा फिलिपिन्समाथि नेपालको फराकिलो जित

कुशलको शतकमा फिलिपिन्समाथि नेपालको फराकिलो जित

नेपालखबर
फागुन ७, २०७८ शनिबार १४:५५, काठमाडौँ

नेपालले टी-२० अन्तर्राष्ट्रियमा फिलिपिन्समाथि फराकिलो जित हात पारेको छ। 

ओमानमा जारी टी-२० विश्वकपको ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो जित समेत हो। यसअघि गत अप्रिलमा नेपालले कीर्तिपुरमा भएको त्रिदेशीय शृंखलामा नेदरल्याण्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

दुई वर्षअघि भएको तेस्रो दक्षिण एसियाली खेलकुद(साग)मा नेपालले भुटानलाई १४१ रनले हराएको थियो। त्यसपछि नेपालको यो नै ठूलो जित हो।

विश्वकप छनोटमा यो नेपालको लगायतार दोस्रो जित हो। यसअघि शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो। 

अंकतालिकामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। क्यानडा र ओमानको समान २-२ अंक भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ। 

दुवै खेल हारेको फिलिपिन्स पुछारमा छ। अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्नेछ। अंक तालिकाको शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो। 

फिलिपिन्सका जोर्ड अलेग्राले ३२ बलमा २ चौकासहित २७ रन जोडे। यस्तै डानियल स्मिथले २७ बलमा २ चौकासहित २० तथा जोनाथन हिलले २९ बलमा ११ रन थपे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। ४ ओभरमा उनले ९ रनमात्रै खर्चिए। यस्तै गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए।

त्यसअघि ओमानको अल अमिरात मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको हो।

नेपालका ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै अविजित १०४ रन बनाए। उनले १३ चौका र एक छक्का प्रहार गरे। 

योसँगै उनी उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट शतक प्रहार गर्ने तेस्रो खेलाडी बने।

उनीअघि नेपालबाट पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन्। 

पारसले २०१९ मा सिंगापुरविरुद्ध त्रिदेशीय शृंखलाका क्रममा १०६ रन र ज्ञानेन्द्रले सोहीवर्ष भएको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा भुटानविरुद्ध १०७ रनको पारी खेलेका थिए। 

कुशलसँग तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीले १७१ रनको साझेदारी गर्दै नेपाली इनिङ्स अघि बढाएका थिए।

दीपेन्द्रले ४७ बल खेल्दै ८३ रन बनाए। उनले ६ चौका र ४ छक्का प्रहार गरे। योसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने। 

यसअघि उनले यसै प्रतियोगिताअघि नेपालले खेलेको पाँच देशीय क्रिकेट शृंखलामा ओमानविरुद्ध ७३ र गत अप्रिलमा कीर्तिपुर मैदानमा भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा ६० रनको पारी खेलेका थिए। 

नेपालबाट पारस खड्का र कुशल भुर्तेलका नाममा ४-४ वटा अर्धशतक छन्। यस्तै विनोद भण्डारीले दुई अर्धशतक पूरा गर्दा ज्ञानेन्द्र मल्ल, आसिफ सेख,​ कुशल मल्ल, सन्दीप जोराले एक एक अर्धशतक छन्।

नेपालका अर्का ओपनर आसिफ शेख शून्य र कुशल मल्ल १२ रन बनाएर आउट भएका थिए। यस्तै लोकेश बम ६ रनमा नटआउट रहे। 

फिलिपिन्सविरुद्धको २१८ रन नेपालले टी-२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो योगफल हो। यसअघि नेपालले कीर्तिपुरमा नेदरल्याण्ड्सविरुद्ध २३८ र भुटानविरुद्ध २३६ रन बनाएको थियो।

फिलिपिन्सका ड्यानियल स्मिथ, मिगी पोडोस्की र गुरभीपिनदर चोहानले १-१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .