ad ad

अन्तर्वार्ता


मेयरको जिम्मेवारी बोक्न काँध बलियो बनाउँदैछु : केशव स्थापित (अन्तर्वार्ता)

गठबन्धन टिकिरहे एमालेको चुनौती बढ्छ
मेयरको जिम्मेवारी बोक्न काँध बलियो बनाउँदैछु : केशव स्थापित (अन्तर्वार्ता)

एमाले नेता एवम् बागमती प्रदेश सदस्य केशव स्थापित । तस्बिर: विजय सिंह/नेपालखबर


यज्ञराज जोशी
फागुन १२, २०७८ बिहिबार ११:२४, काठमाडौँ

एमाले नेता केशव स्थापित यसपटक काठमाडौँ महानगरपालिकाको मेयर पदका आकांक्षी हुन्। पार्टीले सार्वजनिक रुपमा उम्मेदवार घोषणा नगर्न निर्देशन दिएका कारण आफ्नो दाबी प्रस्तुत नगरे पनि उनले आन्तरिक लबिङ तीव्र पारेका छन्। 

स्थापित काठमाडौँ महानगरपालिकाका पूर्व नगर प्रमुख हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले 'मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौँ' भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बेला पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहरा भत्काइएका थिए। स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा फेरि मेयर मनोनित भए। एमालेबाट मेयर बनेका विद्यासुन्दर शाक्यको कार्यकाल असफल भइरहेको चर्चाबीच स्थापित वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा मेयरको दाबेदारका रुपमा देखिएका हुन्। एमालेलाई काठमाडौं महानगरमा फेरि जितेर देशभर एउटा सन्देश दिन पनि गतिलो उम्मेदवार चाहिएको छ। शाक्यको कार्यकाल फ्लप भइरहेको चर्चाबीच एमालेले कांग्रेस र माओवादीको चुनौती चिर्ने उम्मेदवार खोजी गरिरहँदा स्थापित दौडमा उत्रिसकेका छन्। हाल बागमती प्रदेशसभा सदस्य समेत रहेका स्थापित एक पटक त्यही प्रदेशमा पूर्वाधार तथा विकास मन्त्री पनि  भइसकेका छन्। मेयरमा आकांक्षा देखाएका स्थापित महानगरलाई सुन्दर बनाउन आफूसँग कयौँ योजना रहेको बताउँछन्। काठमाडौंको मेयरमा दाबीबारे नेपालखबरले गरेको कुराकानीः

स्थानीय तहको निर्वाचन घोषणा भएपछि तपाईंले फेरि काठमाडौँ महानगरको मेयरको उम्मेदवारीमा दाबी गर्नुभएको हो?
हाम्रो पार्टीमा आकांक्षीको दाबीले मात्रै चल्दैन। यो यो गरेर राम्रो हुन्छ भनेर आकांक्षीहरूले आफ्नो योजना र भिजन प्रस्तुत गर्नुपर्यो। मभन्दा अरुले राम्रो प्रस्तुत गरेपछि अरुलाई मार्गप्रशस्त गरिदिनुपर्छ। विचार, योजना, स्रोत, जनपरिचालन गर्ने क्षमता मसँग देखियो भने यो केशवले गर्छ है भनेर भन्नुपर्यो। पार्टीले यो यो प्रयोजनका लागि तिमी उपयुक्त भनेपछि अघि सर्ने हो। पार्टीले मलाई अवसर नै अवसर दिएको मान्छे, यसपालि पनि भन्यो भने म उम्मेदवार हो। मान्छेहरुले मलाई अहिलेसम्म दाबी किन नगरेको होला पनि भन्छन्। यो डेढ दुई महिनाभित्र मैले सयौँ  समूहसँग छलफल गरेको छु। उदास, स्थापित, मानन्धर, ओमकार समाज, गाँजा अभियान, सामाजिक समूहसँग छलफल गर्दै उनीहरुको आकांक्षा बुझिरहेको छु। 

काठमाडौं महानगरपालिका हामीले जितिरहेकै ठाउँ हो। अहिले पनि पार्टी कमजोर छैन। हाम्रो एकोहोरो प्रतिस्पर्धा भनेको नेपाली कांग्रेससँगै हो। माओवादी केन्द्रको लगभग ९ हजार भोट छ। माधव नेपाल समूह छुट्टिएर एकीकृत समाजवादी बनेपछि हामीभित्रको एउटा सेक्सन घटेको छ। पहिले हामीले २० हजार अन्तरले जिते पनि हाम्रो भोट अहिले केही कम भएको छ। खतरा कहाँनिर छ भन्दा हामी घेराबन्दीमा छौँ।

गठबन्धन टुट्छ टुट्दैन, त्यो उहाँहरुको कुरा भयो। गठबन्धनले उम्मेदवारी दियो भने हामीलाई केही असहज बनाउन सक्छ। नेपाली कांग्रेसको भोटमा एकीकृत समाजवादी वा माओवादी केन्द्रकै भोट मिसियो भने के होला? त्यो आकलन हामीले गर्नुपर्छ। त्यसैले मेरो अहिलेको अभिभारा यो घेराबन्दीको बीचमा म योग्य हो कि होइन, मेरो दाबी छ कि छैन भन्दा पनि हामीले आन्तरिक तयारीमा लाग्नुपर्ने बेला हो। को कमान्डर भन्ने दुई महिनापछि टुंगो लाग्ला। तर हाम्रो किल्ला, गठ्ठा ठीक छ कि छैन। हेर्ने बेला हो।

के कारणले तपाईंलाई पार्टीले महानगरको मेयरका लागि उपयुक्त ठहर्‍याउला?
पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म म छलफलमा छु। नेतृत्वमा पनि मैले केही भनिरहेको छु। पहिलेको निर्वाचनमा पनि अन्तिमसम्म मैले आकांक्षा प्रस्तुत गरेको थिएँ। पार्टीले होइन तपाईंले अर्को जिम्मेवारी लिनुपर्छ भनेपछि मैले विद्यासुन्दर शाक्यलाई काँधमा बोकेको हो। उहाँको घोषणापत्रको १०१ भन्ने कार्यक्रम मैले ड्राफ्ट गरेको हो। त्यसैले जोसुकैले म पनि उपयुक्त हुन सक्छु कि भनेर आफ्नो दाबी प्रस्तुत गर्न पायो। 

तर, यो घेराबन्दी भएको बेला पार्टीभित्र पनि मै हुँ भनेर हाम्रो बीचमा पनि विभाजन ल्याएर खेल्ने अवसर दिनु हुँदैन। यसअघिका प्रतिबद्धता पुरा भए भएनन्, पार्टीले तहगत रुपमा निर्णय गर्ने हो। वडागत, नगर कमिटी, जिल्ला तह र केन्द्रले ती कार्यक्रम पुरा भए कि भएन भनेर अध्ययन गर्दै हालको नेतृत्वले गर्यो कि गरेन, यो उपयुक्त पात्र हो कि होइन वा अर्को वैकल्पिक पात्र खडा गर्ने हो कि पार्टीले निर्णय गर्नुपर्छ। पार्टीमा छलफल गर्दा मैले यो यो गर्छु, म उपयुक्त हो भनेर तर्क गर्ने ठाउँ त्यहाँ छ। 

प्रदेश मन्त्रीबाट तपाईंलाई हटाउँदा पार्टी अध्यक्षले नै लालमोहर लगाउनुभएको हो। फेरि उहाँले तपाईंलाई किन पत्याउने?
त्यस्तो केही पनि होइन। त्यसबेला डोरमणि पौडेलजीलाई एकवर्ष चलाउने भनिएको थियो। म सेकेन्ड म्यान भएर उहाँले चलाउने नसक्ने रहेछ। गएको दिनदेखि नै उहाँसँग टसल हुन थाल्यो। बजेट नमिल्ने, कार्यक्रम नमिल्ने। पार्टी नेतृत्वले एक डेढ वर्ष भनेको छ, तपाईं जाने हो, त्यसपछि म गरौँला भनेको थिएँ। पहिलो दिनदेखि हाम्रो द्वन्द्व भएको हो। उहाँले पनि केशव राजीनामा गर भनेको भए हुन्थ्यो, सार्वजनिक रुपमै बर्खास्त गरेँ भन्नुपर्ने थिएन। त्यसले मेरो छविमा केही पनि असर भएको छैन। राजनीतिमा यस्तो भइरहन्छ।  

२०७४ मा तपाईंले काँधमा बोकेका उम्मेदवार विद्यासुन्दर शाक्यको चर्को आलोचना हुने गरेको छ। तपाईंले ड्राफ्ट गरेको वाचा त खेर गयो नि?
पार्टीले एउटा निर्णय गरेपछि मैले समेत १०१ वटा वाचाहरूको ड्राफ्ट गरेको थिएँ। ती बाचा पुरा भए भएनन् भनेर अहिले चुनावको मुखमा आएर त्यसको समीक्षा मेरो विषय बनाउनु हुँदैन। अस्ति विद्यासुन्दरजीले मैले जाँच दिए, विशिष्ट श्रेणी ल्याउने गरी काम गरेको छु, कति अंक दिनुहुन्छ भन्नुभएछ। त्यसमा आएका प्रतिक्रियाहरु हेर्नै सकिनँ। यही मेयरले निरन्तरता गर्छ भने पनि मलाई आपत्ति छैन। तर काम गर्ने कमिटमेन्ट चाहियो। अहिलेको जस्तो प्रतिक्रिया आउने बाटो दिनुभएन। 

तपाईंले अहिलेका मेयरलाई सयमा शून्य अंक दिन्छु भन्नुभएको थियो होइन?
मैले चाहिँ विद्याजीलाई कार्यशैली परिवर्तन गर्नुपर्छ भनेको हो। मैले पिनले घोचेपछि झल्याँस्स भएपछि सक्रिय भएर केही गतिविधि देखाऊन् भनेर भनेको हो। त्यो पार्टी वा उहाँको विरुद्ध होइन। जनताको आग्रह, अपेक्षा छन्। अहिलेसम्म सभा-सम्मेलनमा जाँदा मेयरले केही गरेन भन्ने प्रतिक्रिया आइरहेका छन्। त्यसलाई जिम्मेवार भएर महसुस गर्नुस् भनेको हो। त्यो बोलेपछि उहाँले धेरै काम गर्नुभएको पनि छ। अहिले पनि उहाँले दुईचार वटा ठाउँमा शिलान्यास, उद्घाटन गरिरहनुभएको छ। १०१ सार्वजनिक प्रतिबद्धता कति पूरा भए, उहाँले मूल्यांकन गर्ने हो। 

अहिले कति नम्बर दिनुहुन्छ त सयमा?
अहिले म चाहिँ शतप्रतिशत भनिदिन्छु। चुनावको मुखमा भएपछि शतप्रतिशत भनिदिनु पर्यो। हो कि होइन जनताले भन्ने हो, पार्टीले भन्ने हो। प्रश्न उठेको छ, पार्टीले डिफेन्स गर्नुपर्छ। 

तपाईंले शतप्रतिशत अंक दिने हो भने उहाँलाई छाड्दिए भइहाल्यो नि, तपाईंले किन दाबी गर्ने?
पार्टीभित्र उम्मेदवारीको विषयमा छलफल नै भएको छैन। केही दिनभित्र नगरको भेलामा चर्चा होला। त्यो बेलामा खासखास नाम आउला। म आजकाल बिहान ध्यान गर्छु, जिम जान्छु, साउनामा बस्छु। शरीरलाई तन्दुरुस्त गर्दैछु। भोलि जिम्मेवारी आएपछि तयार हुनुपर्यो नि। मेरो खुट्टा दुखेको छ, फलानो दुखेको छ, भन्न भएन। टिकट पाइएन भने पनि फेरि अर्को मेयरलाई त बोक्नै पर्यो, काँध त बलियो बनाउनै पर्यो। कसैले घोषणापत्रमा टिक्छु, शतप्रतिशत लागू गर्छु भन्ने प्रतिबद्धता आयो भने काँधमै बोक्न पनि तयार छु। 

महानगरमा एमालेले आफ्नो साख जोगाउन सक्ला?
पहिलेको भन्दा जनसंख्या पनि बढेको छ। पार्टी अध्यक्षको विकास, राष्ट्रियताको एजेन्डाले केही भोट बढेका छन्। खतरा कहाँनिर हो भने तत्कालिन विवेकशील र साझा गरी दुई पार्टीको भोट ४२ हजार छ। त्यो संख्या भनेको हामी कम्युनिस्टहरूको भोट होइन। त्यो भोट नेपाली कांग्रेसतिर आकर्षित हुने भोट हो। अहिले विवेकशील साझाको गति त खतम भयो। ती दरबारिया पार्टीजस्ता भए। त्यो भोट कता जान्छ भन्ने अध्ययन गर्नुपर्यो। नेपाली कांग्रेसमा ती भोट थपिए र एकीकृत सामाजवादीतर्फ हाम्रो भोट गयो भने कांग्रेसले जित्छ। त्यो रोक्ने कसरी, हामीसँग कसरी आकर्षित गर्ने भन्ने चुनौती छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .