ad ad

खेल


ब्याटरहरुको खराब प्रदर्शनमा नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

ब्याटरहरुको खराब प्रदर्शनमा नेपालले दियो ओमानलाई ११८ रनको लक्ष्य

नेपालखबर
फागुन ६, २०७८ शुक्रबार १२:३६, काठमाडौँ

आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत जारी खेलमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ।

​ब्याटरहरुले खराब प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ८ विकेट गुमाएर नेपाल उक्त स्कोरमा खुम्चियो। 

नेपालका लागि आरिफ सेखले सर्वाधिक ३८ रन बनाए। ३७ बलमा उनले २ चौका प्रहार गरे। कप्तान सन्दीप लामिछानेले अन्त्यमा ७ बलमा एक चौका र एक छक्कासहित १६ रन बनाएपछि नेपाल उक्त स्कोरमा पुगेको हो। 

त्यसअघि नेपालले दुवै ओपनर कुशल भुर्तेल र आसिफ सेखलाई सस्तैमा गुमाएको थियो। 

कुशलले ५ तथा आसिफले ४ रनमात्रै जोड्न सके। यस्तै तेस्रो नम्बरमा आएका ज्ञोनेन्द्र मल्लले १५ रन जोडे। १५ बल खेलेका उनले २ चौका प्रहार गरेका थिए। 

त्यसबाहेक दीपेन्द्रसिंह ऐरी १८ बलमा एक चौका प्रहार गर्दै ११ रन जोडे। उनको स्थानमा क्रिजमा आएका लोकेश बमपनि धेरै बेर टिकेनन। १७ बलमा एक छक्कासहित उनले १६ रन बनाए।

त्यसपछि क्रिजमा आएका विवेक यादव पनि १० बल खेल्दै ७ रनमै आउट भए। कलमसिंह ऐरी पनि १ रनमै पवेलियन फर्किए।

ओमानका खावर अलीले ३ तथा बिलाल खानले दुई विकेट लिए। त्यसबाहेक फइज बट, जसिम मक्सुदले एक एक विकेट लिए।

जारी विश्वकप छनोटमा नेपालको समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष दुईमा रहने टोली सेमिफाइनलमा पुग्नेछ। 

सेमिफाइनलबाट फाइनलमा पुग्ने टोली यसैवर्षको अन्त्यमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। 

ओमानको अल अमिरात मैदानमा जारी खेलमा नेपालले यस खेलमा शरद भेषावकर, सागर ढकाल, गुलशन झा पनि बेन्चमा छन्। 

नेपालको सुरुवाती-११ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम छन्।

ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोली हुन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .