ad ad

खेल


दीपेन्द्र चम्कँदा नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित

दीपेन्द्र चम्कँदा नेपालको विजयी सुरुवात, ओमान ६ विकेटले पराजित

खेल जितेपछि नेपालका दीपेन्द्रसिंह ऐरी र शरद भेषावकर


नेपालखबर
माघ २८, २०७८ शुक्रबार १८:५९, काठमाडौँ

दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले ओमानमा जारी चार देशीय टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ। 

ओमानले दिएको १३६ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको थियो।

नेपालका लागि दीपेन्द्रले ५३ बलमा ८  चौका र १ छक्कासहित ७३ रनको अर्धशतकीय पारी खेले। अन्तिम ओभरमा नेपाललाई ९ रन चाहिएका बेला मोहम्मद नादिमको बलमा दीपेन्द्रले २ चौका र दुई रन जोड्दै नेपाललाई जित दिलाएका हुन्।

यस्तै आरिफ सेखले २५ रन जोडे। २० बलमा उनले ३ चौका प्रहार गरे। आसिफ सेख १४, ज्ञानेन्द्र मल्ल १३ र प्रदीप ऐरी ४ रन जोडे। 

ओमानका केलीमुल्लाहले ४ ओभमा २४ रन खर्चिदै २ विकेट लिए। यस्तै खावर खानले ४ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए। 

त्यसअघि अलअमेरित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो। 

ओमानका कप्तान जिसम मक्सुदले ४१ बलमा ४ चौका र १ छक्कासहित ४३ रनको नटआउट पारी खेले। यस्तै मोहम्मद नदिमले ३१ रन बनाए।

अविनाश बोहराले नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड पारे।

तेस्रो ओभरको अन्तिम बलमा अविनासले ११ बलमा २ चौका प्रहार गरेका कश्यपलाई बोल्ड पारेका थिए।  

यस्तै चौथो ओभरको पहिलो बलमै आरिफ सेखले अर्का ओपनर जितिन्दर सिंहलाई विकेटकिपर आसिफ सेखको हातबाट १३ रनमा क्याच गराए।

छैटौं ओभरको तेस्रो बलमा कमलसिंह ऐरीले आयान खानलाई ११ रनमा आउट गरे। आयानले ९ बलमा २ चौकासहित  ११ रन जोडे।

१०औं ओभरको तेस्रो बलमा कप्तान लामिछानेले सोयब खानलाई ११ रनमा विकेट किपर आसिफको हातबाट क्याच गराउँदै ओमानमाथि दबाब बनाए।

तर पाचौं विकेटका लागि कप्तान जिसम र नादिमले ६१ रनको साझेदारी गर्दै ओमानको पारी अघि बढाए। 

१८औं ओभरमा अविनाश बोहराले दुई विकेट लिदैँ नेपाललाई खेलमा फर्काए। उनले चौथो बलमा ३१ रनमा खेलिरहेका मोहम्मद नादिमलाई शरद भेषावकरको हातबाट क्याच गराए। ३० बलमा नादिमले २ चौका प्रहार गरे। 

लगत्तै क्रिजमा आएका नासिम खुशीलाई ओभरको अन्तिम बलमा शुन्य रनमै पवेलिएन फर्काए। 

नेपालका अविनास बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। यस्तै कमलसिंह ऐरी, आरिफ सेख, सन्दीप लामिछानेले समान १-१ विकेट लिए। 

यसअघि नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली टोलीबाट दुई खेलाडीले डेब्यू गरे। अलराउण्डर विवेक यादव र स्पिनर सागर ढकालले डेब्यू गरेका हुन। 

घरेलु क्रिकेटमा लगातार राम्रो प्रदर्शन गर्दै आएपछि आक्रामक विवेक यादवलाई यसपल्ट प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा बोलाएका थिए। 

सुरुमा नरहेपनि सागर ढकाललाई बन्द प्रशिक्षणको बीचमा बोलाउँदै प्रशिक्षक दासानायकेले ओमान भ्रमणमा लगेका हुन। 

दुबै खेलाडीले यसअघि यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन। 

सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो। योसँगै सन्दीप नेपाली टोली सम्हाल्ने ११औं कप्तान बनेका छन। 

यो पनि: चारदेशीय शृंखलामा हुनेछ नेपालको असली परीक्षा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .