खेल


चारदेशीय शृंखलामा हुनेछ नेपालको असली परीक्षा

चारदेशीय शृंखलामा हुनेछ नेपालको असली परीक्षा

यज्ञराज जोशी
माघ २६, २०७८ बुधबार १९:४३, काठमाडौँ

टी–२० क्रिकेट विश्वकपको ग्लोबल छनोट खेल्न नेपाली टोली बुधबार आयोजनास्थल ओमान पुगिसकेको छ। 

अस्ट्रेलियामा यही वर्षको अन्त्यमा हुने टी–२० विश्वकप पुग्ने अन्तिम बाटो यही ग्लोबल छनोट हो। छनोटमा भिड्ने ८ मध्ये २ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

ग्लोबल छनोटको अन्तिम तयारीका लागि नेपालले शुक्रबारदेखि ओमानमै चार देशीय क्रिकेट शृंखला खेल्दैछ। जसमा प्रतियोगिताकै बलिया टोलीहरु आयोजक ओमानसँगै आयरल्यान्ड र यूएईको सामना नेपालले गर्नेछ।

प्रशिक्षक पुबुदु दासानायके नेपालले क्षमता जाँच्ने अवसरका रुपमा शृंखलाको सदुपयोग गर्ने बताउँछन्। 

‘हामी प्रतियोगितामा उपलब्ध सबैभन्दा राम्रा टोलीसँग खेल्दैछौँ। हामी के हौँ र हाम्रो सामर्थ्य कति छ भन्ने कुरा यसबाट थाहा हुनेछ,’ दासानायकेले भने, ‘हामीसँग विभिन्न योजनाहरु छन्। कुन उपयुक्त हुन्छ र कुन योजनाका लागि कुन खेलाडी उपयुक्त हुन्छ पनि हेर्नेछौँ।’

दासानायकेले विश्वकप छनोटका लागि १६ सदस्यीय टोली घोषणा गरेका थिए। अन्तिममा उनले स्पिनर सागर ढकाललाई पनि टोलीमा थप्दै ओमान भ्रमणमा लगे। १७ सदस्यीय टोलीबाट उत्कृष्ट १४ जना अन्तिम टोलीमा पर्नेछन्।

विश्वकपका लागि दाबेदार टोलीहरुविरुद्ध शृंखलामा खेल्न लागेकाले नेपालले आफ्नो बलियो र कमजोर पक्ष ‘एक्सपोज’ गर्नेछ। तर दासानायके अहिले कुनै टोलीको केही कुरापनि नछिपेको बताउँछन्। 

‘अहिलेको अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतियोगितामा केही कुरा पनि लुकाउन सकिँदैन। भिडिओ, विश्लेषणबाट सबै टोलीले एकअर्काका बलियो र कमजोर पक्ष नियालिरहेका नै हुन्छन्,’ दासानायकेले थपे, ‘खेलहरु निकै प्रतिस्पर्धात्मक हुनेछन्। यसलाई जुवा त भन्दिनँ तर ठूलो प्रतियोगिताअघि दाबेदार टोलीसँग खेल्नु चुनौती हो।’ 

नेपालले पछिल्ला दुईतीन महिनामा प्रतिस्पर्धात्मक टी–२० खेलहरु नखेलेकाले ठूला टोलीविरुद्ध प्रतियोगिताअघि खेल्नु सकारात्मक कुरो भएको उनी बताउँछन्। 

ओमानले सन् २०१९ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। ओमानले दुईपल्ट टी–२० विश्वकप खेलेको छ। ओमान २०१६ र अघिल्लो वर्ष भएको टी–२० विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

आयरल्यान्ड टेस्ट राष्ट्र हो। २०१७ मा अफगानिस्तानसँगै आयरल्यान्ड पनि आईसीसीको पूर्ण सदस्य बनेको थियो। टी–२० फर्म्याटमा पनि आयरल्यान्ड सफल टोली हो। उसले २००९ यता सबै ६ वटा टी–२० विश्वकप खेलेको छ। 

नेपाल र यूएईबीचको प्रतिस्पर्धा जहिले पनि रोचक भएको छ। यूएई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मुलुक हो। सन् २०१४ मा नेपालसँगै टी–२० विश्वकप खेलेको थियो। त्यसयता उसले पनि पहिलोपल्ट विश्वकप खेल्ने प्रयास गर्नेछ।

चारदेशीय शृंखलामा नेपालले माघ २८ गते ओमान, माघ २९ गते यूएई र फागुन २ गते आयरल्यान्डको सामना गर्दैछ। चार देशीय प्रतियोगिताको चार दिनपछि ग्लोबल छनोटका खेलहरु सुरु हुनेछन्। फागुन ६ गते ओमान, फागुन ७ गते फिलिपिन्स र फागुन ९ गते नेपालले क्यानडाको सामना गर्नेछ। 

नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरी चारदेशीय शृंखलासँग नेपाली टोलीको आत्मविश्वास जोडिने बताउँछन्। शृंखला जित्दा आत्मविश्वास उच्च हुने तर हार्दा चाहिँ सुधार्ने समय समेत नभएको उनले बताए। 

‘मुख्य इभेन्टभन्दा अघि विपक्षी बलिया टोलीसँग खेल्दैछौँ। जित्यौँ भने हाम्रो आत्मविश्वास उच्च हुन्छ,’ चौधरी भन्छन्, ‘नतिजा हाम्रो पक्षमा आएन भने त्यसले टोलीको आत्मविश्वासमा असर गर्छ। शृंखलापछि समय नै कम भएका गल्तीहरु सुधार्ने मौका पनि छैन।’

राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमटा ग्लोबल छनोटअघि हुने शृंखलाले नेपाललाई स्थानीय वातावरणसँग भिज्न सहयोग पुर्याउनेछन्। 

‘बलिया प्रतिस्पर्धी भएकाले नेपाली खेलाडीलाई राम्रो एक्सपोजर दिन्छ। तयारीका लागि यो महत्वपूर्ण शृंखला हो,’ टमटाले भने, ‘प्रतियोगिताअघि स्थानीय अवस्थामा भिज्न र विकेटलाई चिन्न सहयोग पुग्नेछ। त्यहीअनुसार योजना बनाउन मद्दत मिल्छ।’
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .