ad ad

कारोबार


सुनकोशी मरिन आयोजनाः सकियो सुरुङ खन्ने पूर्वतयारीको काम

सुनकोशी मरिन आयोजनाः सकियो सुरुङ खन्ने पूर्वतयारीको काम

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना। तस्बिर : आयोजना प्रमुख मित्र बराल


वसन्त अर्याल
माघ २९, २०७८ शनिबार २२:२२, काठमाडौँ

टनेल बोरिङ मेसिनले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग खन्ने काम ४ महिनाभित्र सुरु गर्ने भएको छ। 

टीबीएम मेसिन राख्ने प्लेटफर्म धमाधम निर्माण भइरहेकाले ४ महिनाभित्र टीबीएम मेसिनले सुरुङ खन्न सुरु हुने आयोजनाले  जनाएको हो। 

चालू आर्थिक वर्षमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा करिब ८० करोड रुपैयाँ खर्च भइसकेको छ। चालू आर्थिक वर्षको पुससम्मको भौतिक प्रगति ३३.५ प्रतिशत भएको छ। 

राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिनका आयोजना प्रमुख मित्र बरालले टीबीएम मेसिन राख्ने प्लेटफर्मको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। 

‘सुरुङ मार्गअनुसारको टीबीएम मेसिनको डिजाइन भइरहेको छ। ‘टीबीएम मेसिनको लागि आवश्यक पर्ने उपकरण चीनबाट आयात हुन्छ र नेपालमै ल्याएर जडान गरिन्छ’, बरालले भने, ‘४ महिनाभित्रै टीबीएम मेसिनले काम सुरु हुनेछ।’

आयोजना सुरु आर्थिक वर्ष २०७३÷०७४ मा भए पनि गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गरेका थिए। 

आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ। हालसम्म कुल आयोजनाको ४ प्रतिशत भौतिक प्रगति भएको छ। 

आयोजनाले पूर्वतयारीको काम भएकाले भौतिक प्रगति कम देखिए पनि सुरुङ मार्ग निर्माण सुरु भएसँगै प्रगति ह्वातै बढ्ने दाबी गरेको छ। 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्गको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो। 

निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो। 

‘५१ महिनामा आयोजना सक्ने सम्झौता छ’, आयोजना प्रमुख बराल भन्छन्, ‘१३.३ किलोमटर सुरुङ मार्ग २ वर्षभित्र काम सकिने अनुमान छ।’  

चिनियाँ कम्पनीलाई चाइना ओभरसिजलाई सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग, श्रमिकको लागि आवासलगायतका पूर्वाधार निर्माण भइसकेका छन्। 

सुरुङमार्गसँगै विद्युत् उत्पादनको लागि समेत काम भइरहेको छ। आयोजनाले सुरुङमार्ग निर्माण हुने बेलासम्म हेडवर्क्स बन्ने जानकारी दिएको छ। 

‘खुर्कोटमा हेडवर्क्सको फाइनल डिजाइन भइरहेको छ। छिट्टै हेडवर्क्सको टेन्डर पनि आह्वान गर्छौँ’, बरालले भने। 

सुनकोशीको पानि सुरुङमार्गबाट ६७ क्युमेक (क्युबिक मिटर प्रतिसेकेन्ड) पानी मरिन खोलामा खसालिनेछ। त्यहाँबाट ३१ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ। 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुनेछ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोशी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ।

‘महोत्तरीदेखि बारासम्मको सिँचाइ आयोजनाको डीपीआर खरिद प्रक्रिया अघि बढेको छ’, उनले भने, ‘सुरुङमार्ग र हेडवर्क्सको काम सकिँदा सिँचाइको पनि काम सक्ने लक्ष्य रहेको छ।’ 

केही दिनअघि सुनकोशी–मरिन आयोजनाको अनुगमनमा पुगेका योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले समेत मधेश प्रदेशलाई आर्थिक रुपले परिवर्तन गर्नसक्ने विश्वास व्यक्त गरेका छन्। 

उनले सुनकोशी मरिन र प्रस्तावित ग्राउन्डवाटर सिँचाइ आयोजनाले मधेशका सम्पूर्ण जमिनमा सिँचाइ सुविधा पुग्ने बताएका छन्। 

‘विपन्नहरु धेरै रहेको प्रदेश–प्रदेशमा ४५ अर्बको सुनकोशी मरिन र २५ अर्बको ग्राउन्ड वाटर सिँचाइ आयोजनाले धेरै परिवर्तन ल्याउने आशा छ’, पौडेलले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .