कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगको आठौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदै छ।
आठौँ चरणको पहिलो दिन दुई खेल हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
आठौँ चरणको पहिलो खेलमा आज दिउँसो १ बजे सातदोबाटो युथ क्लबले संकटा क्लबको सामना गर्नेछ। अंक तालिकाको तेस्रो स्थानमा रहेको संकटा अपराजित यात्रालाई निरन्तरता दिदैँ तालिकामा ३ अंक थप्न चाहन्छ
संकटाका प्रशिक्षक राजकुमार केसीले आजको खेलमा डिफेन्डर नहुँदा उनको स्थानमा अर्को भारतीय खेलाडी राख्ने तयारी भइरहेको बताए।
आफ्नो टोलीमा प्रशिक्षकसँग सल्लाह गर्नुभन्दा व्यवस्थापकको कुरा हुने भएकाले आफूलाई कुन र कस्तो खेलाडी आउने थाहा नभएको बताए।
उनले थपे, ‘सातदोबाटोको पनि मुख्य खेलाडी मार्टिन खेल्न नपाउने हुँदा टोली सन्तुलनमा नै रहेर बराबरीको खेल हुनेछ।’
सातदोबाटो युथ क्लब भने तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ। लिगमा ३ खेलमा हार र समान २ खेलमा जित र बराबरीको नतिजा निकालेको सातदोबाटो लयमा रहेको संकटालाई रोक्ने रणनीतिमा हुनेछ।
आजै हुने दोस्रो खेलमा एपीएफ फुटबल क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ। सोही मैदानमा हुने खेल पौने ५ बजे हुनेछ।
एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले जावलाखेलले राम्रो खेल खेलिरहे पनि स्कोरिङमा समस्या रहेकाले त्यसकै फाइदा उठाउने रणनीतिमा रहने बताए।
रेलिगेसन जोनको खतरामा रहेको एपीएफले रेलिगेसन क्षेत्र छाडे पनि त्यसको डर भने आफुहरुलाई रहेको बताए। सोही अनुसार नै आगामी खेलमा ३ अंक जोड्ने योजनामा नै आफूहरु रहने प्रशिक्षक महर्जनले सुनाए। विदेशी खेलाडी पेपे आएपछि टोलीमा केही सुधार भए पनि उनले सोचे अनुसार खेल्न नसकेको बताए।
जावालखेलका प्रशिक्षक किशोर केसीले आफूहरुले राम्रो तयारी गरेको बताए।
आठौँ चरणमा खेलाडीहरुले नआत्तिकन राम्रो प्रर्दशन गर्नेमा आशावादी रहे। एपीएफले सुधारिएको खेल प्रस्तुत गरिरहेकाले आफुहरु पनि एपीएफभन्दा केही माथि रहेको सुनाए।
गोलको खोजीमा अभ्यास गरिरहेका छौँ। हामीले लय समातेका हौँ, मछिन्द्र, पुलिससँगको खेल पनि प्रतिस्पर्धात्मक भएको थियो। त्यसैले हामीले सबै टोेलीलाई चुनौती दिइरहेका छौँ।
लिगको अंक तालिकामा जावलाखेल युथ क्लबले २ मा जित, १ मा बराबरी र ४ खेलमा पराजित भएको छ। सातौँ चरण सकिँदा ७ अंक जोडेको जावलाखेल नवौँ स्थानमा छ।
एपीएफले सातौँ चरणसम्म एक खेलमा जित निकाल्दा समान ३ खेलमा हार र बराबरीको नतिजा निकालेको छ। ७ खेलबाट ६ अंक जोडेको एपीएफ १० औँ स्थानमा छ।
आठौँ चरणको एक खेल भने पोखरा रंगशालामा हुनेछ। पोखरा रंगशालालाई घरेलु मैदान मानेको मनाङ मर्स्याङ्दी क्लबले च्यासल युथ क्लबसँग खेल्नेछ।
आठौँ चरणमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लब र न्युरोड टिमले त्रिभुवन आर्मी फुटबल क्लवसँग खेल्नेछ। २५ गते थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्दा २६ गते नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्ने तालिका छ।
Shares

प्रतिक्रिया