ad ad

खेल


पुबुदुलाई प्रश्न : टोलीलाई एकढिक्का कसरी बनाउनुहुन्छ? (अन्तर्वार्ता)

सबै खेलाडी भोलिदेखि प्रशिक्षणमा आउने विश्वास
पुबुदुलाई प्रश्न : टोलीलाई एकढिक्का कसरी बनाउनुहुन्छ? (अन्तर्वार्ता)

त्रिवि क्रिकेट मैदानमा प्रशिक्षक पुबुदु दासानायके। तस्बिर : विक्रम राई/नेपालखबर


यज्ञराज जोशी
पुस १९, २०७८ सोमबार १७:४७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले अनुशासनको कारबाही गरेपछि विरोधमा उत्रिएका चारजना खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बहिष्कार गर्ने मनस्थितिमा पुगिसकेका थिए। उनीहरुलाई अन्य खेलाडीले पनि साथ दिएपछि क्यानमाथि दबाब बढेको थियो। 

शनिबार तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथि भएको कारबाहीविरुद्ध ऐक्यबद्धता जनाउँदै १४ जना खेलाडीले बन्द प्रशिक्षणका लागि रिपोर्टिङ नै गरेका थिएनन्। 

खेलाडीहरु बन्द प्रशिक्षणका लागि नआएपछि क्यानका पदाधिकारी, प्रशिक्षक पुबुदु दासानायके र ज्ञानेन्द्रबीच शनिबार भएको छलफलपछि क्यान उनीहरुमाथि ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णयबाट पछि हटेको थियो। 

क्यान पछि हटेपछि ज्ञानेन्द्रले अरु खेलाडीहरूसँग सल्लाह गर्ने भन्दै सोमबार बिहान ९ बजेसम्मको समय मागेका थिए। उक्त समयसम्म ज्ञानेन्द्रसहितका खेलाडीहरूले बन्द प्रशिक्षणमा सहभागी हुने जानकारी गराएका छन्। क्यानले साँझ ६ बजेसम्म उनीहरुलाई रिपोर्टिङको समय दिएको छ। 

अर्कातिर सोमबार त्रिवि क्रिकेट मैदानमा १४ जना खेलाडीले बन्द प्रशिक्षण सुरु गरे। नेपालको कमान सम्हालेपछि प्रशिक्षक पुबुदु दासानायकले कप्तान परिवर्तन क्यानको अधिकार भएको प्रतिक्रिया दिएका थिए। उनैले सोमबारदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गरे। त्यस क्रममा प्रशिक्षक दासानायकेले बाँकी खेलाडीहरु पनि टोलीमा आउने बताए। भोलिदेखि पूर्ण टोली भएर अभ्यास थालिने उनले बताएका छन्। यसै सन्दर्भमा पुबुदुसँग नेपालखबरले गरेकाे कुराकानी :

ज्ञानेन्द्र मल्लसहितका ९ खेलाडीले बन्द प्रशिक्षणमा आउने संकेत गरेपनि औपचारिक रुपमा रिपोर्टिङ गरेका छैनन्। उनीहरु प्रशिक्षणमा आउँछन्?
आज १४ जना बन्द प्रशिक्षणमा आएका छन्। बाँकी भोलि(मंगलबार) देखि आउनेमा म विश्वस्त छु। केही समस्या छन् भन्ने सबैलाई थाहा छ। हामी सबै मिलेर यी समस्याहरु समाधान गर्नेछौँ। भोलि सबै जनासँगै बसेर प्रशिक्षण सुरु गर्छौं भन्ने मलाई विश्वास छ। 

मैले पनि उनीहरुसँग धेरै छलफल गरेको छु। छलफलमा उनीहरु सकारात्मक पाएको छु। अहिलेको अवस्थामा सबै मिलेर अघि बढ्नुपर्छ भन्नेमा सबै पक्ष सहमत पनि छन्। सबैले आफ्ना कुराहरु खुलस्त राखिरहेका छन्। कुनै पक्ष पनि त्यति धेरै कडा देखिएको छैन। सबै पक्ष नरम देखिएकाले यो समस्या समाधान हुन्छ र खेलाडीहरु क्याम्पमा फर्किने सम्भावना बलियो छ। 

तपाई दुवै पक्षसँग सम्वादमा हुनुहुन्छ,  खेलाडी र क्यानबीचको विवाद अझै मिलिसकेको छैन?
अहिले नै केही समस्या छैन भन्ने निष्कर्षमा पुग्नु हतार होला। यस विषयमा क्रिकेट संघ र खेलाडीहरूले आधिकारिक रुपमा घोषणा सार्वजनिक गर्लान्। तर हामीहरू सबै बसेर एक खालको सहमति बनेको छ। र सबै पक्ष सबैभन्दा पहिलो क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्छ भन्नेमा सहमत छन्। सबैले हामी सबै एउटै टोलीका सदस्य हौं भन्ने बुझेपछि यो समस्याको समाधान हुन्छ। खेलाडी र क्यानको विवादका विषयमा मैले केही बोल्नु उचित हुन्छ भन्ने लाग्दैन, आधिकारिक रुपमा क्यानले बताउला। तर, हामी सबै खेलाडी भएर भोलिदेखि प्रशिक्षण गर्नेमा विश्वस्त छु। 

अहिलेको विवादले टोलीको प्रदर्शनमा असर नपरोस् भनेर कसरी व्यवस्थापन गर्नुहुन्छ?
अर्को महिना ओमानमा हुने प्रतियोगिताका लागि सबै खेलाडी एक ढिक्का भएर आउँछन्। अहिले विवाद भएपनि हामीसँग पर्याप्त समय छ। विवादका कारण समय पुग्दैन भन्ने छैन। हामी त्यसैअनुसार काम गर्नेछौँ।

अहिले बोलाइएका ३० जनाबाहेक खेलाडीलाई पनि राष्ट्रिय टोलीमा देख्न पाइने हो?
लगत्तै प्रधानमन्त्री कप आउँदैछ। यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने र हाम्रो टोलीलाई आवश्यक पर्ने जस्ता कोही खेलाडीलाई देख्यौँ भने पक्कै पनि उनीहरुलाई बन्द प्रशिक्षणमा सहभागी गराउनेछौँ। नयाँ खेलाडीहरूको आगमनले टोलीमा प्रतिस्पर्धा तीब्र बनेको छ। खेलाडीमाथि पनि आफ्नो स्थान सुरक्षित गर्ने दबाब छ। टोलीमा कुन खेलाडीलाई कस्तो भूमिका उपयुक्त हुन्छ भन्ने पनि मैले निर्धारण गर्नुपर्नेछ। 

म बन्द प्रशिक्षणका उनीहरुको कुन स्थानका लागि उपयुक्त छन् भन्ने हेर्नेछु। त्यसपछि प्रधानमन्त्री कपमा मैले उनीहरुलाई राष्ट्रिय टोलीमा देख्न चाहेको स्थानमा खेल्न लगाउनेछु। यदि कसैले प्रधानमन्त्री कपमा अहिलेका खेलाडीभन्दा राम्रो प्रदर्शन गर्यो भने उसले टोलीमा मौका पाउन सक्छ। हामी त्यसमा खुला छौँ। 

भनेपछि अहिलेका ३० जना विश्वकप छनोटका लागि अन्तिम खेलाडी होइनन्?
होइन होइन। हामी अहिले ओमानमा हुने टी–२० प्रतियोगिताकै तयारीमा छौँ। अहिले बन्द प्रशिक्षणमा रहेका ९० प्रतिशतभन्दा बढी खेलाडीहरूले त्यो प्रतियोगिता खेल्नेछन्। यी बाहेक नयाँ खेलाडीलाई  ल्याउने वा नल्याउने विषयमा पनि हामीले सल्लाह गर्ने छौँ। म एक्लैले त्यो निर्णय गर्न त्यति सजिलो त छैन तर मैले हेर्दा कोही त्यस्तो खेलाडी देखेँ भने उनीहरुलाई समग्र राष्ट्रिय टोलीको राम्रो प्रदर्शनको लागि टोलीमा राख्ने प्रयास गर्नेछु।

प्रशिक्षकको रुपमा मैले यसलाई एउटा अवसरको रुपमा लिएको छु। अहिले खेलाडीहरूको बीचमा धेरै किसिमको मनमुटाव तथा उतारचढाव जस्तो देखिएको अवस्थामा टोलीमा राम्रो संस्कार विकास गर्ने र एकढिक्का बनाउने प्रयास गर्नेछु। 

क्यान कत्तिको सहयोगी पाउनुभएको छ? 
क्यानले मलाई धेरै सहयोग गरेको छ। पछिल्लो केही दिनमा क्यानले मलाई धेरै किसिमको निर्णय लिनको लागि स्वतन्त्रता दिएको छ। यस्तोमा हामीबीच निकै राम्रो समझदारी देखिएको छ। 

अहिले टोलीको कप्तानको रुपमा सन्दीप लामिछानेलाई चुनिएको छ, उनी कहिले टोलीमा फर्किन्छन्? 
जनवरीमा बिग बास लिगको पहिलो चरणको खेल सकिँदैछ। त्यसपछि उनी नेपाल फर्किन सक्छन्। अहिले नै उनी कहिले फर्किन्छन् भन्ने यकिन मिति नभए पनि बिग बासको पहिलो चरणको खेल सकिएपछि उनी फर्किने अपेक्षा छ।

राष्ट्रिय टोलीको एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान राख्ने विषयमा तपाईँले क्यानसँग कुनै छलफल भएको छ कि छैन? 
अहिलेको अवस्थामा सन्दीप एकमात्र कप्तान हो। सबै किसिमको फरम्याटको लागि उनी कप्तान हुन्। 

ओमानमा हुने प्रतियोगिताभन्दा अगाडि पनि नेपालले अभ्यासको लागि कुनै अन्तर्राष्ट्रिय सिरिज खेल्छ कि खेल्दैन?
हामी ओमानमा हुने प्रतियोगिताभन्दा पहिला केही खेल खेलौँ भन्ने चाहन्छौँ। त्यसको लागि बोर्ड र म्यानेजरहरूले पनि प्रयास गरिरहेका छन्। अहिले केही मुलुकलाई यसको लागि प्रस्ताव पनि गरिएको छ। यति ठूलो प्रतियोगिता खेल्दा कुनै पनि अभ्यास खेल बिना गाह्रो हुन्छ भन्ने मलाई लाग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .