माल्दिभ्समा सम्पन्न दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल खेलेको नेपाली टोलीलाई सरकारले मंगलबार नगदसहित सम्मान गरेको हो।
खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले साफ उपबिजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख रुपौयाँ पुरस्कार दिने घोषणा गरेको थियो।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी, प्रशिक्षकद्धय किरण श्रेष्ठ र बिकाश मल्ललाई जनही ३ लाख रुपैयाँ प्रदान गरेको हो।
दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगेपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन।
सन् २०१८ मा भएको साफको सेमिफाइनमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी र कमल थापा
Shares

प्रतिक्रिया