बंगलादेशको ढाकामा हुने एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीलाई विदाइ गरिएको छ।
खेलाडीलाई विदाइ गर्दै खेलकुदमन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषदभित्र रहेको पुरानो पौडी पोखरी रहेको जमिन भलिबल संघलाई मिलाउन पहल गर्ने बताए।
उनले खेलभित्र नै जीवन देखेर खेल्ने खेलाडीको मनोबल उच्च पार्न काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल भलिबल संघले आइतबार काठमाडौंमा एक कार्यक्रम गर्दै बंगलादेश जाने खेलाडी र निर्णायकलाई विदाइ गरेको हो।
डिसेम्बर ६ देखि १४ सम्म हुने च्याम्पिनयसिपमा महिलातर्फ ६ टोली र पुरुषतर्फ ५ देशले स्पर्धा गर्नेछन्।
नेपाली टोलीसँगै एसियन रेफ्री क्यान्डिडेट विजय केसी र पुर्ण प्रसाद चौलागाई नेपालको तर्फबाट निर्णायकको रुपमा बगंलादेश जाँदै छन्।
महिलातर्फ आयोजक बंगलादेश, साविक विजेता नेपालसहित श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानले स्पर्धा गर्नेछन्।
नेपालको महिला टोली सेन्ट्रल जोनको साविक विजेता हो। महिला टोलीलाई उपाधि रक्षाको चुनौती हुनेछ। महिला टोलीलाई मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिइरहेका छन्।
पुरुषतर्फ भने आयोजक बगंलादेशसहित नेपाल, श्रीलंका, मालदिभ्स र उज्वेकिस्तानले भाग लिनेछन्।
पुरुष टोली भने उपाधिका लागि संघर्ष गर्नेछ। यसअघि घरेलु मैदानमा भएको स्पर्धामा पुरुष टोली समुह चरणबाटै बाहिरिएको थियो। पुरुष टोलीलाई हान एबिङले प्रशिक्षण दिइरहेका छन्।
Shares
प्रतिक्रिया