रुस्लान थ्रीस्टार क्लब र न्युरोड टिम (एनआरटी) क्लबले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा बराबरी गर्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको पाचौँ चरणको तेस्रो खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी गर्दै अंक बाँडे।
खेलमा पाएका दुवै अवसर सदुपयोग गर्न नसक्दा अंक बाँडे। बराबरीपछि थ्रीस्टार ५ खेलबाट ६ अंक जोडेर छैटौँ स्थानमा छ। समान ६ अंक भएको एनआरटी भने सातौँ स्थानमा छ।
खेलपछि थ्रीस्टारका प्रशिक्षक रवीन्द्र शिलाकारले पहिलेको तुलनामा आजको खेलमा टोलीले राम्रो खेल प्रर्दशन गरेको सुनाए।
'अहिलेको अवस्थामा जताततै उस्तै छ। गोल गर्न मुस्किल छ। अहिलेको अवस्थामा एन्फा र रेफ्रीलाई सजिलो होला तर क्लबलाई गाह्रो छ', उनले भने, 'अहिले जसको हातमा लठ्ठी छ, भैँसी पनि उसैको जस्तो भएको छ। हामीले केही भन्यौँ वा एन्फाले केही भन्यो भने फेरि हड्तालमा उफ्रिने होला त्यसैले बोल्न पनि गाह्रो छ।'
यता एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने टोलीमा एरिक विष्ट नहुँदा केही गाह्रो भएको बताए।
उनले भने, 'पहिलो हाफ भन्दा दोस्रो हाफमा राम्रो खेल्यौँ। केही अवसर सदुपयोग गर्न नसक्दा ३ अंक जोड्न सकेनौँ, अंक बाड्नु पर्यो।'
Shares
प्रतिक्रिया