साफ यु १९ वुमन्स च्याम्पियनसिपमा नेपालले अपराजित यात्रालाई कायम राखेको छ।
बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शाहिद सिफाही मुस्तफा कमल स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालको जितमा मेनुका आले मगरले दुई तथा कुसुम खतिवडा र रजनी थोकरले एक एक गोल गरे।
जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। ३ खेल मध्ये २ मा जित र एक खेलमा बराबरी गरेको नेपालको ७ अंक छ। त्यति नै अंक भएको बगंलादेश गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ। २ खेलमा जित र १ मा हार भोगेको भारत भने ६ अंकमा तेस्रो स्थानमा छ।
राउण्ड रोविनका आधारमा भएको खेलमा भुटान भने समुह चरणबाट नै बाहिरिसकेको छ। १ खेलमा जित र ३ खेलमा पराजित भुटान ३ अंक जोड्दै चौथो स्थानमा रहेर च्याम्पियनसिपको यात्रा सकाएको छ। खेलेका ३ खेलमा नै पराजित श्रीलङका भने अंक विहिन रुपमा पुछारमा छ।
समुह चरणको अन्तिम खेलमा नेपालले आइतबार भारतसँग खेल्नेछ। शीर्ष स्थानमा रहेर फाइनल नजिक पुगेको नेपालले सो खेलमा बराबरी गरेपनि फाइनलमा स्थान बनाउनेछ। ५ टोली सहभागी च्याम्पियनसिपको शीर्ष दुईमा रहने टोलीले फाइनलमा स्थान बनाउनेछ।
Shares
प्रतिक्रिया