त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लवले कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा बराबरी गर्दै अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाँचौ चरणको पहिलो खेलमा सातदोबाटो र आर्मीले एक–एक गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
दुवै गोल पहिलो हाफमा नै सम्भव भयो। दोस्रो हाफमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँड्न बाध्य भए।
खेलको दशौँ मिनेटमा दिनेश हेन्जनको गोलमा आर्मीले बनाएको अग्रता जोगाउन नसक्दा सातदोबाटोसँग बराबरी गर्न पुग्यो।
१६ औँ मिनेटमा अजायी मार्टिनले गोल गर्दै सातदोबाटोलाई बराबरीमा ल्याए। बराबरीसँगै आर्मीले ५ खेलबाट ९ तथा सातदोबाटोले ८ अंक जोडेको छ।
सातदोबाटोसँगको बराबरीले एफसी कपमा सहभागी हुने सम्भावनामा धक्का पुगेको छ। आर्मीका प्रशिक्षक नविन न्यौपानेले अब बाँकी खेलमा अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था आएको बताए।
सातदोबाटोका प्रशिक्षक मेघराज केसीले आज आफुहरु ३ अंकका लागि आए पनि १ अंकमा नै चित्त बुझाउनुपरेको बताए।
आजको खेलमा ३ अंक महत्वपूर्ण थियो तर त्यो समभव हुन सकेन। खेलाडीहरुले भने राम्रो खेलेको उनले प्रतिक्रिया दिए।
पछिल्ला २÷३ वर्षमा भन्दा आजको खेलमा आर्मीको प्रदर्शन केही कमजोर रहेको देखिएको केसीले बताए। चोटको कारण पनि हुन सक्छ आर्मीले केही वर्ष अगाडिको जस्तो प्रर्दशन हुन सकेन।
Shares
प्रतिक्रिया