नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीमाथि नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारबाहीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्।
यसअघि क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो। खेलाडीहरुले सञ्चारमाध्यममा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए।
त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो।
उक्त समितिले छानबिनपश्चात तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो।
उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारबाही गरेको हो।
ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया