ad ad

खेल


कोरोना महामारीको चपेटामा महिला खेलाडी

कोरोना महामारीको चपेटामा महिला खेलाडी

लक्ष्मी जि.सी
मंसिर २७, २०७८ सोमबार १३:१४, काठमाडौँ

यसै पनि क्रिकेट खेलाडी कविता गौतमको परिवारको आर्थिक अवस्था कमजोर। त्यसमाथि कमाउने मान्छे नै थला परेपछिको दुःख सहजै अनुमान गर्न सकिन्छ। 

अभावमै पनि खुसी हुने बानी परेकी कविताका लागि चैतमा ललितपुर मेयर महिला च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको एक दिन कालोदिनको रुपमा आयो। कुद्दा कुद्दै खुट्टाको सन्तुलन बिग्रियो, उनी लड्न पुगिन्। 

त्यसले बायाँ खुट्टामा चोट लाग्यो। बलिङ गर्ने क्रममा चोट लागेपछि उनको दैनिकी नै बदलिएको छ। वैशाखमा मेडिसिटीमा उनको शल्यक्रिया त भयो तर त्यसपछिको दिन उनका लागि झनै कहाली लाग्दो भयो। 

कविता यस्तो समयमा घाइते भइन्, जति बेला कोरोनाको महामारी थियो। सिरहाको लहान बस्ने कविताका लागि फलोअपका लागि काठमाडौं आउनु पनि सहज भएन। वैशाखीको भरमा हिँड्नुपर्ने कवितासँग गाडी रिजर्भ गरेर वा प्लेन चढेर काठमाडौं आउने पैसा थिएन।

कोरोनाका कारण थोरै भए पनि उनको आम्दानीको स्रोत बनेको क्रिकेटका प्रतियोगिता बन्द थियो। 

एकातिर पैसा आउने बाटो बन्द हुँदा अर्कोतिर खेल जीवनमा पुनः फर्किन सकिएला नसकिएला भन्ने दुविधाका बीच घरमै सीमित हुनुपर्ने उनको जिन्दगी। व्यक्तिगत कामकै लागि पनि आमा मञ्जुदेवीकै सहारा लिनुपर्ने बाध्यता उनीसामु आयो। 

‘सानोमा त स्याहार्नुभयो नै। ठूलो भएपछि पनि त्यसरी नै स्याहार्नुपर्दा दुःख लाग्ने रहेछ’, अप्ठ्यारो क्षण सम्झिँदै उनले भनिन्, ‘कहिलेकाहीँ त आफू नै बोझजस्तो लाग्न थालेको थियो।’

कोभिड १९ का कारण आफन्त गुमाएकी कवितालाई आर्थिक रुपमा कठिनाइ थियो नै, चोटले दिएको मानसिक पीडा त्योभन्दा अझ डर लाग्दो थियो। खेलेर नै परिवारको गुजारा चलाइरहेकी उनलाई कोरोनाकै समयमा लागेको चोटले जिन्दगी नै बोझजस्तो पनि ठान्न थालिन्।

कमाउने मान्छे नै घरमा सीमित हुनुपर्दा त्यसको मार परिवारलाई पनि पर्ने नै भयो। कोरोनाकै कारण श्रीमानको रोजगारी गुम्यो। अरु आम्दानीको स्रोत थिएन। घर चलाउनै मुस्किल उनलाई उपचार गर्न पनि सहज हुने कुरै भएन।

सबैले चिन्ने र खोज्ने भनेको नियमित टोलीमा रहेर खेल्दा मात्र हुने रहेछ। दुःखको बेला सहाराको लागि केहीलाई सम्पर्क पनि गरिन्। दुःखमै मान्छे चिन्ने हो। उनले पनि दुःखकै बेला धेरैलाई चिनिन्। ‘तिमी नाम चलेको खेलाडी भएको भए हामीले खोज्थ्यौँ तर अहिले तिमीले हामीलाई खोज्ने हो’, यस्तै जवाफ पाउँथिन्। जसले उनको मन नराम्ररी भाँच्चियो।

​खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेजस्तै चोट लाग्ने खेलाडीको पीडा त्यस्तै अर्कोले मात्र बुझ्न सक्छ। खेल्न नसक्दा वास्ता गर्ने मान्छे पनि नहुने रहेछन् भन्ने कविताले त्यही बेला अनुभव गरिन्।

कविता तिनै खेलाडी हुन् जसले क्रिकेटकै माध्यमबाट आफ्नो घर हेर्थिन्। सन् २०१२ मा एसीसी यू १९ च्याम्पियन टोलीकी उपकप्तान कविताले त्यति बेला पुरस्कारबाट पाएको झण्डै डेढ लाख रुपैयाँले बैंकबाट घर छुटाएकी थिइन्। विद्युत् प्राधिकरणमा अस्थायी जागिर गरेका उनका बुबाले दुःखले किनेको जग्गामा घर बनाउँदा लिएको ऋण कविताले क्रिकेट खेलेरै आएको पैसाबाट तिरिन्। मुन्टो लुकाउने घर छुटाएको दिन उनलाई अर्कै आनन्द आएको अहिले पनि सम्झिन्छिन्। 

दुई वर्षअघि भएको वुमन्स क्रिकेट लिगमा सुरुमा उनी कुनै टोलीमा परेकी थिइनन्। पछि अर्को खेलाडी घाइते भएपछि उनले त्यसमा मौका पाइन् र आफ्नो टोलीलाई च्याम्पियन बनाउँदा आफू उत्कृष्ट बलर चुनिइन्। खेल जीवनमा उतारचढावलाई सहज स्वीकार गरेकी कवितालाई कोरोनाकालमै लागेको चोटले भने नराम्ररी झट्का दिएको छ।

आर्थिक समस्या त छ नै त्यसबाहेक खेलमा फर्किन सकिन्छ सकिन्न भन्ने अर्को तनाव छ। 

‘कम्तीमा वर्ष दिनअघि खेल्न नसक्ने डाक्टरले बताएका छन्। खेल्न नसक्दा दुःख लाग्छ नि! न त कमाइ नै हुन्छ, तर जीवनमा क्रिकेटबाहेक अर्को सोच्न सक्दिनँ’, उनले भनिन्।  

समयसँगै चल्नुपर्ने उनले बुझेकी छिन्। तर, एकपटक फेरि राष्ट्रिय टोलीको जर्सी लगाउने उनको धोको छ। 

भन्छिन्, ‘अबको इच्छा भनेको ठीक भएर एकपटक भए पनि कविता गौतम लेखेको जर्सी लगाउने इच्छा छ।’ 

६ दिदीबहिनी, एक भाइसहितको परिवारका लागि पनि अब खुट्टा ठीक भएपछि अरु काम पनि गर्ने सोचमा छिन्। ‘अब सधैँ यसरी त चल्दैन’, उनले थपिन्, ‘ठीक भएपछि जे काम पाउँछु गर्छु।’

आँटिली कविता आफ्ना पीडा सुनाउँदा भक्कानिन्छिन्, ‘हुन त म बलियो केटी हुँ। तर कहिलेकाहीँ परिस्थिति यस्तो हुँदो रै’छ आँशु थाम्न गाह्रो हुने रहेछ।’

कविता त एक प्रतिनिधि पात्र मात्र हुन्। कोभिड–१९ यस्तो महामारी हो जसले विश्वव्यापी रुपमा एकै पटक आएको महामारीले असर नगरेको कुनै क्षेत्र छैन। त्यसबाट खेलकुद अपवाद रहने भन्ने कुरै भएन। दैनिक रुपमा अभ्यासका लागि घरबाहिर निस्किनुपर्ने खेल क्षेत्रका खेलाडीहरु सबैभन्दा बढी पीडित भए।

शारीरिक व्यायाम मात्र हैन यसले मानसिक रुपमा पनि खेलाडीहरुलाई असर गर्यो। कतिपय खेलाडीहरुलाई आम्दानीको दह्रिलो स्रोत खेलकुद बन्दै आएकोमा प्रतियोगिता बन्द हुँदा उनीहरुको कमाइको स्रोत नै सुक्यो।

एकातिर मानसिक र शारीरिक रुपमा त असर पर्यो नै आर्थिक रुपमा पनि खेलाडीलाई असर गर्‍यो। तर त्यसबारेमा सम्बन्धित संघले होस् वा सरकारले खेलाडीका लागि छुट्टै व्यवस्था गरेनन्। यस्तो परिस्थितिबाट पनि गुज्रिनुपर्छ भन्ने खेलाडीले कल्पना गरेका थिएनन्।

त्यसमाथि महिला खेलाडीहरूको हकमा झन् गाह्रो भयो। महिला खेलाडीहरु झन् परिवारबाट आश्रित हुनुपर्ने अवस्था छ। परिवारसँग आश्रित भएर अथवा भनौँ खेलकै भरमा परिवार पाल्दै खेल जीवन अगाडि बढाइरहेका महिला खेलाडीहरूका हकमा भने यो समय अझ पीडादायी थियो।

लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सपनामा पुनः एकपटक कोरोना महामारी बाधक बनेको छ। कोरोना महामारीकै कारण भारतमा हुने प्रतियोगिता स्थगित हुँदा यसपटक पनि महिला फुटबल टोली केही साता बन्द प्रशिक्षणमा बसेर घर फर्किएका छन्।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटे भन्छिन्, ‘अहिलेकै अवस्था हेर्ने हो भने पनि हामीले खेल्न जान लागेको प्रतियोगिता नै स्थगित भयो। हामीले तयारी गर्ने भनेको प्रतियोगिताकै लागि हो। कोरोनाको कारण धेरै प्रतियोगिता खेल्न पाइएन। अब फेरि कहिले सम्म पाइन्न थाहा छैन।’

कोरोनाकै कारण साफ च्याम्पियनसिप ३ वर्ष भयो हुनसकेको छैन। १३औँ दक्षिण एसियाली खेलकुद (साग) भएको पनि २ वर्ष बितिसक्यो। अब अर्को सागको तयारीमा जुट्नु पर्ने हो, तर आयोजना वा तयारीको सुरसार छैन।

कोभिड सुरु भएपछि राम्रोसँग प्रशिक्षण गर्न नपाएको रेनुका सम्झिन्छिन्। ‘कहिले लकडाउन त कहिले के भनेर घरमै सीमित हुनुपर्यो। व्यक्तिगत रुपमै अभ्यास गर्न बाध्य भयौं, टिम गेममा एक्लै अभ्यास गरेर खास केही हुन्न’, उनले थपिन्, ‘आफू फिट भइन्छ भन्ने मात्र हो। साथीहरुसँग प्रशिक्षण गर्नु र एक्लै गर्नुमा फरक हुन्छ।’

कोभिडकै कारण राम्रो प्रशिक्षण नभएपछि त्यसको असर आफूहरुको प्रदर्शनमा परेको रेनुका ठान्छिन्। गत महिना सम्पन्न उपमेयर कपमा पनि राष्ट्रिय टोलीका अधिकांश खेलाडीले खेले तर उनीहरुको प्रदर्शन राम्रो हुन सकेन। 

रेनुका भन्छिन्, ‘हाम्रो क्लबमा पनि प्रशिक्षण भएको छैन। यसले धेरै गाह्रो हुने रहेछ। हाम्रो पहिलो काम नै खेल्ने हो। खेलबाहेक के गर्ने भन्ने हुन्छ। खेल नहुँदा आर्थिक असर त पर्छ नै। शारीरिक र मानसिक रुपमा धेरै असर गर्ने रहेछ।’

विभागीय टोली सेना, पुलिस र सशस्त्रमा आबद्ध खेलाडीले भने नियमित आम्दानीका रुपमा पारिश्रमिक पाउँछन्। तर विभागबाहिरका वा करारमा रहेका खेलाडीका लागि भने आर्थिक रुपमा पनि निकै कठिन परेको उनले सुनाइन्। 

‘हामी विभागमा हुने खेलाडीहरूको नियमित आम्दानीको स्रोत छ। तर जिल्लाबाट खेल्ने र विभागमै पनि सम्झौतामा बस्ने खेलाडीहरुलाई गाह्रो छ यस्तो बेलामा सम्बन्धित संघले हेर्नुपर्ने हो। कति खेलाडीलाई गाह्रो हुन्छ। सकिञ्जेल खेल्यो प्रतियोगिता नहुँदा आर्थिक रुपमा पनि गाह्रो पर्‍यो’, उनले भनिन्। 

कोरोना महामारीकै कारण १३औँ सागकी स्वर्ण पदक विजेता खेलाडी अनु अधिकारीले ओलम्पिक खेल्ने सपना पूरा हुन पाएन। कोरानाकै कारण सन् २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक यो वर्ष भयो। ओलम्पिक इतिहासमा पहिलो पटक यसैपटक कराँते समावेश गरिएको थियो। तर, कोरोनाका कारण उनले विदेशमा छनोट खेल्न जान पाइनन्। ओलम्पिकमा छनोट हुनका लागि त्यो महत्वपूर्ण प्रतियोगिता खेल्न नपाएपछि अनु निराश बनिन्। 

उनले भनिन्, ‘ओलम्पिक खेल्ने हरेक खेलाडीको सपना हुन्छ। मैले पनि सपना देखेकी थिएँ तर कोरानाकै कारण हामीले छनोट खेल्न जान पाएनौँ। पहल गरिदिनुपर्नेले पनि गम्भीरतापूर्वक लिएनन्, जसले गर्दा हामी जस्ता खेलाडीलाई मार पर्ने नै भयो। फेरि मैले त्यस्तो मौका नपाउन नि सक्छु!’

कोरोनाकै कारण नियमित अभ्यास नहुँदा आफूहरुको तौल बढेको र अहिले पनि पुरानै लयमा फर्किन गाह्रो भएको अनुको अनुभव छ। भौतिक दूरी कायम गरेर पनि ओलम्पिक छनोटको तयारी गरेकी अनुलाई जीवनभर त्यसको तुष भने रहनेछ।

एक किसिमको लयमा चलिरहेको खेल जीवनमा एकै पटक कोरोनाले गर्दा धेरै गाह्रो महसुस भएको १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी एथ्लेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ सुनाउँछिन्। 

‘कोरोनाले गर्दा प्रशिक्षण र प्रतियोगिता हुन पाएन। जसको असर अहिले देखिएको छ।  कोरोनाको समयमा लकडाउन भयो जसले गर्दा प्रशिक्षण गर्ने माहोल पनि भएन त्यसले गर्दा प्रदर्शनमा असर पुग्यो’, उनले भनिन्, ‘पछि फर्किँदा हामी जहाँ थियौँ त्योभन्दा पनि तल पुग्यौँ। जसको नतिजा पछिल्लो समय भइरहेको प्रतियोगितामा देखिएको छ।’ 

अरु क्षेत्रमा जस्तै खेलेर नै जीवन निर्वाह गर्ने खेलाडी बढी मार परेको सन्तोषी बताउँछिन्। 

नेपाली खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग नेपालमा कति महिला खेलाडी छन् भन्ने ठ्याक्कै तथ्यांक छैन तर २०७६ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तथ्याङ्क हेर्दा २ सय ८३ जना महिला खेलाडी सहभागी भएको देखिन्छ। यो बाहेक जिल्ला र प्रदेशबाट खेल्ने महिला खेलाडीको संख्या यसमा समावेश छैन।  

३ सय ११ पुरुष र २ सय ८३ जना महिला गरी कुल ५ सय ९४ जना खेलाडी सहभागी भए पनि पुरुष खेलाडीको तुलनामा महिला खेलाडीले पदक बढी ल्याए। स्वर्णपदकको मात्र हिसाब गर्दा सागमा सहभागी २७ प्रतिशत महिला र २२ प्रतिशत पुरुष खेलाडीले मात्र पदक ल्याए। 

राखेप प्रवक्ता कुलबहादुर थापाका अनुसार कोरोना महामारीको समयमा महिला खेलाडीका लागि भनेर कुनै राहतका कार्यक्रम नल्याएको बताए। 

उनले भने, ‘हामीले महिला खेलाडीका लागि भनेर कुनै कार्यक्रम गरेनौँ तर सहयोग मागेका ठाउँमा भने सहयोग गरेका थियौँ।’

उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने राष्ट्रिय टोलीमा रहेका महिला र पुरुष खेलाडीलाई समान १५ हजार रुपैयाँ सहयोग गरेको थियो। त्योबाहेक अन्य खेलाडीलाई पनि एन्फाले सहयोग गरेन।  

पदक जित्दा राष्ट्रका गहना मान्दै आएका खेलाडीलाई कठिन समयमा सम्बन्धित संघ र देशले सम्झिएन भने खेलाडी पलायनलाई रोक्न सकिन्न। त्यसैले यस्तो कठिन समयमा सरकार र संघले अपनत्व महसुस गर्नु जरुरी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .