शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल हुनुअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको विवादका कारण १४ र रेफ्रीले राजीनामा दिएका छन्
एन्फासँगको विवादपछि १४ रेफ्रीको राजीनामाले शहीद स्मारक ए डिभिजन लिग नै संकटमा परेको छ।
लिगका तेस्रो चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। त्यसको एक दिनअघि रेफ्रीहरुले सामूहिक राजीनामा दिएपछि लिग सञ्चालनमै कठिनाइ आएको छ।
एन्फाले रेफ्रीहरुलाई 'फिटनेस टेष्ट'मा बाध्यकारी नियम बनाएपछि विवाद सुरु भएको थियो। यस्तोमा १४ जना रेफ्रीले सामूहिक राजीनामा दिएका हुन्।
यो राजीनामासँगै रेफ्रीहरुले जारी ए डिभिजन लिग पनि नखेलाउने घोषणा गरेका छन्।
रेफ्रीहरुले एन्फा अध्यक्षलाई सम्बोधन गरी राजीनामा पत्र पनि बुझाएका छन्। लिग चलिरहेकै बेला एन्फाले सबै रेफ्रीहरुलाई फिटनेस टेष्ट दिनुपर्ने अनिवार्य नियम बनाएको थियो।
तर रेफ्रीहरुले लिग जारी रहँदा फिटनेस टेष्ट दिन नमिल्ने अडान लिएका थिए। तर एन्फा अडानबाट पछि नहटेपछि रेफ्रीहरुले संयुक्त राजीनामा हुन्।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले १० रेफ्रीको राजीनामा आएको पुष्टि गरेका छन्। जसमा ६ जनाको मात्रै हस्ताक्षर रहेको उनले बताएका छन्।
संयुक्त राजीनामा दिनेहरूमा फिफा रेफ्री, फिफा सहायक रेफ्री र नेशनल रेफ्री छन्।
राजीनामा दिनेहरूमा फिफा रेफ्री कविन ब्यन्जनकार, नवीन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ र प्रज्वल क्षेत्री रहेका छन्।
त्यस्तै असिस्टेन्ट फिफा रेफ्री प्रज्ज्वल क्षेत्री, नानीराम थापा मगर, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किसन यादवले पनि राजीनामा दिएका हुन्।
एन्फाले यसअघि रेफ्रीहरुको फिटनेस टेष्ट वार्षिक रुपमा गरिरहेको थियो। तर रेफ्री निर्देशकमा गौतम कौर नियुक्त भएसँगै तीन-तीन महिनामा रेफ्रीको फिटनेस टेष्ट लिनुपर्ने नियम बनाएपछि विवाद सुरु भएको हो।
यसबारेमा एन्फाले आधिकारिक धारणा बनाइसकेको छैन। महासचिव तुलाधरले रेफ्रीहरुको राजीनामाबारे छलफल भइरहेको बताएका छन्।
Shares

प्रतिक्रिया