नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाले आवेदन दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकको लागि गरिएको खुला आवेदनमा ६० जनाको आवेदन परेको बताएको छ।
गत भदौमा भएको ओमान सिरिजपछि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजिनामा दिएपछि क्यानले कार्तिक १ गते खुला आवेदन माग गरेको थियो।
नेपालको मुख्य प्रशिक्षक बन्नका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेदेखि भारतीय मोन्टी देशाईसम्मले आवेदन दिएका छन्।
क्यानलाई प्राप्त आवेदन मध्येबाट छनोट समितिले सर्ट लिष्ट तयार पारेर अन्तर्वाता लिनेछ।
क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसीबी) वा अष्ट्रेलिया क्रिकेट (सीए) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो। यस्तै न्यूनतम ५ वर्षको व्यवसायिक क्रिकेट प्रशिक्षकको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ।
Shares

प्रतिक्रिया