अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ एलन मस्कले विश्वको भोकमरी हटाउन आफूले ६ अर्ब डलर (करिब सवा ७ खर्ब नेपाली रुपैयाँ) बराबरको शेयर बेच्न तयार रहेको बताएका छन्।
उनले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले आफ्नो पैसा कसरी खर्च हुन्छ भन्ने देखाउन सके आफू उक्त शेयर बेच्न तयार रहेको बतताएका हुन्।
यसअघि सीएनएनसँगको अन्तर्वार्तामा डब्ल्यूएफपीका निर्देशक डेभिड बीएस्लेले विश्वका ४ करोड २० लाख मानिसको सहयोगका लागि ६ अर्ब डलरको आवश्यकता रहेको बताएका थिए। उनले उक्त सहयोग यी मानिसमा पुर्याउन नसके उनीहरु भोकमरीको चपेटामा पर्न सक्ने बताएका थिए।
उनले मस्क र जेफ बेजोसजस्ता अर्बपति भोकमरीको समस्या समाधानको लागि अघि सर्नुपर्ने उल्लेख गरेका थिए।
ब्लूमवर्गका अनुसार एलन मस्कको सम्पत्ति दुई खर्ब ८९ अर्ब डलर छ। अर्थात् भोकमरीको समस्या समाधानको लागि मस्कको सम्पत्तिको केवल दुई प्रतिशत आवश्यक पर्छ।
मस्कले सामाजिक सञ्जाल ट्वीटरमा सीएनएनको समाचारको स्क्रिनसट शेयर गर्दै डब्ल्यूएफपीले आफ्नो पैसा कसरी खर्च हुन्छ भन्ने बताउन सके आफूले टेस्लाको ६ अर्ब डलरको शेयर बेच्ने बताएका हुन्। मस्कले सबै खर्चको विवरण आम मानिसले थाहा पाउने गरी सार्वजनिक हुनुपर्ने बताएका छन्।
मस्कले सन् २०२० मा डब्ल्यूएफपीले आठ अर्ब ४० करोड डलर रकम उठाएर पनि भोकमरीको समस्या किन समाधान गर्न सकेन ? भन्ने प्रश्न पनि गरेका छन्।
Shares

प्रतिक्रिया