ad ad

खेल


खेलाडीलाई खेलको बेला गहना भन्ने, अरुबेला घर पठाइदिने परिपाटी गलत : मन्त्री गहतराज

खेलाडीलाई खेलको बेला गहना भन्ने, अरुबेला घर पठाइदिने परिपाटी गलत : मन्त्री गहतराज

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १४:५०, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन्।

आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताएका हुन्।

उनले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए। मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए।

उनले नेपालीहरु कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिए।

खेलकुद मन्त्री गहतराजले भने, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रस्तुत हुनुपर्छ, आत्मविश्वासकासाथ प्रस्तुत हुनुपर्छ। किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्यो अनुसार हामी प्रस्तुत हुनुपर्छ। सबै खेलाडी, कोचहरु उच्च मनोबलकासाथ प्रस्तुत हुनुहोस्। उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँ पनका साथ काम गर्छौं। खेलको बेलामात्रै राष्ट्रका गहना भन्ने खेल सकेपछि घर फर्काइदिने कसरी हामी अगाडि बढ्न सक्छौँ?’

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे। उनले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताए।

बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गरेका हुन्। जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमवार बंगलादेश प्रस्थान गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .