ad ad

खेल


नामिबियाले पूरा गरेको मरुभूमिको सपना

नामिबियाले पूरा गरेको मरुभूमिको सपना

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १८:०, काठमाडौँ

नौवटा क्रिकेट मैदान, पाँचवटा क्रिकेट क्लब र १६ जना व्यावसायिक खेलाडी रहेको मरुभूमिको मुलुक नामिबिया सबैलाई आश्चर्यचकित पार्दै टी–२० विश्वकपको सुपर–१२ मा पुग्यो।

२५ लाख जनसंख्या भएको यस अफ्रिकी मुलुकले सुपर–१२ मा पुग्ने क्रममा आईसीसीको पूर्ण सदस्य(टेस्ट) आयरल्यान्डलाई हराएको थियो। पहिलो खेलमा श्रीलङ्कासँगको खराब प्रदर्शनपछि सानदार पुनरागमन गर्दै नामिबियाले नेदरल्यान्डलाई पाखा लगाएर सुपर–१२ मा पुग्ने सम्भावना बलियो बनाएको थियो। 

अबको तीन सातामा नामिबियाले थप चार बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यो भन्दा पनि महत्वपूर्ण सफलता सन् २०२२ मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा उसले आफ्नो स्थान पनि सुरक्षित गरेको छ। अहिलेसम्म नामिबियाको नाममा कुनै महत्वपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि छैन। 

आयरल्यान्डसँगको जितपछि नामिबियाका प्रशिक्षक रिएरे डे ब्रुयनले भने, ‘यी खेलाडी छ वा सात वर्षका केटाहरू हुँदा भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना देख्थे। आज त्यो सपना पूरा गर्दै ती राष्ट्रकै सामुन्ने खडा छन्।’

उनले थपे, ‘मानिसहरुलाई हामीसँग कति सीमित स्रोत छ भन्ने थाहा छैन। हाम्रो क्रिकेट संगठन पर्याप्त स्रोत साधनले सम्पन्न छैन।’ 

दुई वर्षअघिसम्म नामिबियाको राष्ट्रिय टोलीमा केवल तीनजना व्यावसायिक क्रिकेट खेल्ने खेलाडी थिए। जतिबेला नामिबियाले एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) मान्यता पाएको थियो।

यो दुई वर्षको अवधिमा नामिबियाले १३ जना व्यावसायिक क्रिकेट खेल्ने खेलाडी जन्माएको छ। अहिले पनि उनीहरुको स्टेडियमसहितको मैदान छैन र क्लबको मैदानमा आफ्नो घरेलु खेल खेल्छन्। 

सन् २०१९ को नोभेम्बरदेखि २०२१ को अप्रिलसम्म नामिबियाको कुनै आधिकारिक खेल नै थिएन। यद्यपि नामिबियाका प्रशिक्षक डि ब्रुयनले टोलीलाई राम्रो नेतृत्व दिए।

यसका लागि नामिबियाले युगान्डा, जिम्बाबे र दक्षिण अफ्रिकाको दुई क्लबलाई निमन्त्रण दिएर क्रिकेट प्रतियोगिता आयोजना गर्‍यो। यो प्रतियोगितामा नामिबियाले सबैलाई पराजित गर्‍यो।

त्यस्तै, अन्तिममा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर डेभिड विसेले नामिबियाको लागि खेल्ने निर्णय गरे। यो निर्णय नामिबियाको लागि महत्वपूर्ण बन्न पुग्यो। 

दक्षिण अफ्रिकाबाट यसअघि नै विश्वकप खेलिसकेका अनुभवी डेभिड विसे वंशजका आधारमा नामिबियाबाट विश्वकप खेल्न मैदान उत्रिएका थिए। उनले पहिलो चरण तीन खेलमा भने टोलीका लागि महत्वपूर्ण प्रदर्शन गरे।  

यद्यपि विसे आयरल्याण्डविरुद्धको खेलमा जित हात पार्नुमा कप्तान गहार्ड एरासमसको अविजित ५३ रनको इनिङ महत्वपूर्ण रहेको बताउँछन्। ​

विसेले भने, ‘उनीहरु(नामिबियाका खेलाडी)ले पर्दापछाडि निकै ठूलो मेहनत गरेका छन् र उनीहरु प्रत्येक सफलताको हकदार छन्।’ 

यद्यपि नामिबियाको खेलमा विसेको भूमिका महत्वपूर्ण देखिएको छ। श्रीलंकाविरुद्धको खेलमा राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो खेलमा विसेले १६५ रनको लक्ष्य पूरा गर्ने क्रममा नेदरल्यान्ड्सविरुद्ध अविजित ६६ रनको इनिङ खेलेका थिए।

नेदरल्याण्ड्सविरुद्धको खेलमा नामिबियाले पछि ब्याटिङ गरेर भेट्टाएको सबैभन्दा ठूलो लक्ष्य हो। तेस्रो खेलमा पनि विसेले आयरल्याण्डविरुद्ध २२ रन दिएर २ विकेट लिएका थिए।

जसको सहयोगमा आयरल्यान्डले निर्धारित २० ओभरमा १२५ रन मात्र बनाउन सकेको थियो। लक्ष्य भेट्टाउने क्रममा पनि विसेले १४ बलमा अविजित २८ रन बनाएका थिए। 

नामिबियाका प्रशिक्षक डे ब्रुयन आफ्नो टोलीलाई अहिले कुनै दबाब नभएको बताउँछन्। उनी खेलमा कुनै दबाब नलिइकन योजनाअनुसार खेलेकाले सफलता मिलेको बताउँछन्। 

सुपर १२ मा पुगे पनि नामिबिया कठिन समूहमा परेको छ। यद्यपि यो टोलीलाई माथिल्लो चरणमा धेरै अपेक्षा पनि छैन। तर, अहिले हात पारेको सफलताबाट उनीहरुले पाउने पैसाले भने नामिबियाको क्रिकेट विकासमा महत्वपूर्ण सहयोग पुग्न सक्छ। 

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .